७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुलीका गाँउगाँउमा बस पुगे, स्थानीय हर्षित

सिन्धुली–  यहाँको सबैभन्दा उचाईमा रहेको फिक्कल डाँडामा ठूलो बस पुग्दा हेर्नेको लहर नै लाग्यो। मध्यपहाडी राजमार्गबाट झन्डै २० किलोमिटर उचाईमा रहेको फिक्कल गाँउ सिन्धुलीको पर्यटकीय क्षेत्रमध्ये एक हो। सँधै सानासाना सवारी मात्र पुग्ने स्थानमा ठूला बस पुगेपछि स्थानीय हर्षित भए।

पछिल्लो समय सिन्धुलीका गाँउगाँउमा ठूला बस सञ्चालन हुन थालेका छन्। जिल्लाका सबै गाँउमा करोडौं लगानी गरी ग्रामीण सडक निर्माण गरेपछि गाँउमै बस पुग्न थालेको हो। पछिल्लो समयमा तीव्र रुपमा विकास भइरहेको सडक सञ्जाल सिन्धुलीका सबै गाविसमा पुगेको छ। राष्ट्रिय, जिल्ला तथा स्थानीयस्तरबाट निर्माण भइरहेका र निर्माण पूरा भइसकेका सडकले हाल सिन्धुलीको कुनै पनि गाविस अछुत ंनरहेपछि यहाँको बिपी यातायत व्यवसायी संघले ग्रामीण सडकमा दरो मन गरेर सवारी पठाउन थालेको छ। जोखिमपूर्ण सडकलाई केही व्यवसायीले मर्मत सम्भार गरेका छन् भने केही स्थानीयकै सक्रियता भएपछि गाँउगाँउमा बस पुग्न सफल भएको स्थानीय बताउँछन्। हामीले धेरै ग्रामीण सडकमा बस सञ्चालन गरिसकेका छौं, बिपी यातायात व्यवसायी संघका अध्यक्ष युवराज श्रेष्ठ( आकाश)ले नागरिक दैनिकसँग भने अब समयअनुसार सबै क्षेत्रमा बस पठाउँछौं।

ग्रामीण सडकमा हिउँदयाममा बस पुगे पनि दिगो भने हुन सकेको छैन। जिल्ला विकास सडक बोर्ड तथा सांसदकोष सहित अन्य क्षेत्रको बजेटले दिगो सडक निर्माण गर्न नसक्दा सँधै बस ग्रामीण क्षेत्रमा पठाउन नसकिएको व्यवसायी बताउँछन्।
‘हामीले आफ्नै खर्च लगाएरनी बस पठाएका हौं,’ श्रेष्ठले भने, ‘बस सञ्चालन गर्न सकिने अवस्था रहेसम्म हामी सञ्चालन गर्छौं।’ गाँउगाँउमा कच्चि सडक निर्माण भएपछि जिल्लाको बिपी राजमार्ग हुँदै आडगढी, नागी, अमले बस्तिपुर हायुटार तीनकन्या, अमारे, सित्तलपाटीमा बस सञ्चालन भएको छ। यसैगरी, मध्यपहाडी राजमार्ग हुँदै फिक्कलसहित अन्य विभिन्न ग्रामीण सडकमा बस पठाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। हामीले ग्रामीण रुटलाई हाल गाडी सञ्चालन गर्नसक्ने गरी मर्मतसहित गाडी पठाएका हौं,’ उनले भने, ‘वर्षायामका केही महिनाबाहेक अब ग्रामीण सडकमा गाडी पठाउँछौं।’

गाँउगाँउमा सडक पुगेपछि स्थानीय भने हर्षित भएका छन्। गाँउबाटै अब बस चढ्न सकिन्छ, मर्मत सम्भारपछि गाँउमा बस पुगेको छ, मझुवा गाविसका स्थानीय नवराज गोलेले भने सहजै जिल्ला आवातजावत गर्न सकिएको छ।

दुई नगरपालिकासहित ५० ओटा गाविस रहेको यस जिल्लामा राष्ट्रिय आयोजना जिविस अनुदान आन्तरिक कोष निर्वाचन क्षेत्र विकास कोष तथा गाविसको बजेटले जिल्लाको सबै गाविसमा सडक पुगिसकेको जिल्ला विकास समिति सिन्धुलीका योजना शाखाका भूपेन्द्रध्वाज बस्नेतले बताए। यिनै सडकलाई मध्यनजर गर्दै व्यवसायीले गाँउमा बस सञ्चालन गर्दै आएका हुन्। गाँउमा बस सञ्चालन हुँदा स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुहरुसहित आवतजावत गर्न सहज भएपछि स्थानीय पनि सँधै बस गाँउमा सञ्चालन गर्नका लागि तत्पर देखिएका छन्। बस पुगेको स्थानमा विकास निर्माण पनि तीव्र गतिमा भएको छ, गैरसरकारी संस्थाको काम गर्ने रोजाई पनि सहजै यातायात पुग्ने गाविसमै हुने भएकाले पनि गाँउमा हामी बस सञ्चालन गर्नका लागि परेका हौं, फिक्कलका एक स्थानीयले भने।

राष्ट्रिय आयोजनाका रुपमा रहेका जिल्लामा बिपी राजमार्ग, मध्यपहाडी राजमार्ग, हेटौंडा–सिन्धुली–गाइघाट–चतरा राजमार्गजस्ता ठूला राजमार्ग निर्माण भएपछि यिनै राजमार्गसँग जोडेर जिल्लाका सबै गाँउमा कृषि सडकसहित ग्रामीण सडक पुगेपछि हाल साना तथा ठूला गाडी पुग्न थालेका छन्। वर्षायाममा साना गाडी मुस्किलले पुगे पनि हिउँदभरी ठूला बस नै सञ्चालन हुने यातायात व्यवसायी बताउँछन्। यी ग्रामीण सडकबाहेक सिन्धुलीदेखि चकमके, मरिण, हर्षाही, दुधौलीलगायतका क्षेत्रमा यसअघिदेखि नै ठूला बस चल्दै आएका छन्।  
 

प्रकाशित: १४ माघ २०७३ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App