५ वैशाख २०८१ बुधबार
समाज

आँगनमै सरकार पाउँदा फुरुंग

रगनी (ओखलढुंगा)- रगनी–६ का रत्नबहादुर खत्री बिहीबार निकै खुसी देखिन्थे। भूकम्पले भत्केको घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ सरकारी अनुदान भर्खरै उनको हात लागेको थियो। ७० वर्षीय खत्रीले रकम लिन कतै धाउनुपरेन, घरआँगनमै पैसा बु‰न पाउँदा उनी दंग देखिन्थे।

रगनी–३ की सञ्जु गौतमका ओठमा पनि मुस्कान छाएको देखिन्थ्यो। सदरमुकाम धाउनुपर्ने काम घरआँगनमै बनेको थियो उनको। गाउँमै नागरिकता पाउँदा उनमा खुसीले सीमा नाघ्दै गरेको अनुहारमै झल्कन्थ्यो।

सरकारी सेवा सुलभ बनाउन देशलाई संघीय प्रणालीमा लैजाने बहस चलिरहँदा रगनीवासी भने अहिल्यै त्यो अनुभूति गरिरहेका थिए। किनकि, आज उनीहरुका घरआँगनमै सरकार पुगेको थियो।

जिल्लाका सांसद, राजनीतिक दल र स्थानीय प्रशासनको पहलमा गाउँमा सञ्चालित एकीकृत घुम्ती शिविरमा भूकम्पपीडित आवास निर्माण पहिलो किस्ताको अनुदान बाँड्न थालिएको छ।

‘सदरमुकाम पुग्न हिँड्न सक्नेलाई दुई दिन लाग्छ। मजस्तालाई त चारै दिन लाग्छ,’ खत्रीले भने, ‘जाँदाआउँदा चार/पाँच हजार खर्च हुन्थ्यो। दुःख पनि पाइएन, पैसा घरमै पाइयो।’ आँगनमा सरकार आएर पीडितलाई ठूलै राहत मिलेको उनले बताए ।

श्रममन्त्री सूर्यमान गुरुङ, सांसद रामहरि खतिवडा, यज्ञराज सुनार, हर्कबोल राईसहित घुम्ती शिविर बिहीबार गाउँ पुगेको थियो।

शिविरमा पहिलो किस्ताको अनुदान, नागरिकता वितरण, राहदानीको सिफारिस, जग्गा नामसारी, मतदाता परिचयपत्र, अपांग, वृद्धलाई परिचयपत्रलगायत नेपाली सेनाबाट स्वास्थ्य शिविरलगायत सरकारी सेवा उपलब्ध गराएको छ।

‘काठमाडौंबाट गाउँ एकैदिन आइपुगिन्छ तर जिल्ला सदरमुकाम पुग्न दुई दिन लाग्छ,’ काठमाडौंमा उच्चशिक्षा अध्ययन गर्दै आएकी गौतमले नागरिकसँग भनिन्, ‘गाउँमै शिविर आउँछ रे भनेर काठमाडौंबाट आएकी।

आफ्नै गाउँबाट यसरी नागरिकता बनाउन पाउँदा भाग्यमानी ठानेको छु।’ गाउँगाउँमा शिविर चलाउनु उदाहरणीय काम भएको बताउँदै सदरमुकाम जाँदाआउँदा हुने स्थानीयको हजारौं खर्चसमेत जोगिएको उनले बताइन्।

स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालित शिविरमा भेटिएका सबैका अनुहारमा मुस्कान देखिन्थ्यो। कोही अनुदानको पहिलो किस्ता बापतको पैसा हातमा समाएर, कोही नागरिकता, कोही लालपुर्जा त कोही स्वास्थ्य जाँचपछि औषधि हातमा लिएर मुस्कान बाँडिरहेका थिए।

‘आँगनबाटै यसरी सेवा उपलब्ध गराउन पाएकोमा गौरव लागेेको छ,’ सांसद रामहरि खतिवडाले भने, ‘शिविरले स्थानीयको लाखौं पैसा जोगायो।’ घुम्ती शिविरका लागि स्थानीयको एक रुपैयाँसमेत नपरेको र सम्पूर्ण खर्च आफ्नै स्रोतबाट गरेको खतिवडाले सुनाए। जिल्लाका एमाले सांसद सुनार र राईलाई साथमा लिएर सबै पार्टीको सहभागिता गराई सदरमुकामबाट टाढा र जिल्लाका दुर्गम आधा दर्जनभन्दा बढी गाविसमा घुम्ती शिविर चलाई सदरमुकाममा उपलब्ध सबै सेवासँगै पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको खतिवडाले बताए।

जनताको ढोकामै पुगेर यसरी उदहरणीय सेवा दिन पाउँदा खुसी लागेको उनले सुनाए। यता एमाले सांसद सुनुवारले भूकम्प प्रभावितमध्ये सबैभन्दा बढी मानवीय र भौतिक क्षति रगनीमा सञ्चालन गरिएको घुम्ती शिविरले स्थानीय जनता निकै लाभान्वित भएको दाबी गरे।

‘हामी सांसद मिलेर गरेको यो कार्यले स्थानीय दंग परेका छन्,’ सांसद सुनुवारले भने, ‘आगामी किस्ता र दिनमा पनि यस्तै सेवा दिन प्रयास जारी रहन्छ।’

रगनीमा भूकम्पबाट सात जनाले ज्यान गुमाएका थिए। रगनी जिल्लाकै विकटमध्येको गाविस हो। सडक सञ्जालले छोए पनि नियमित गाडी सञ्चालन हुन सकेको छैन। सदरमुकाम पुग्न दुई दिन हिँड्नुपर्ने बाध्यता छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव जनार्दन गुरागाईंका अनुसार जिल्लामा कुल लाभग्राही १९ हजार ८ सय १९ रहेको जानकारी दिए। रगनीका ७ सय १९ घरधुरीमा वितरणपछि भने जिल्लामा पहिलो किस्ताबापतको रकम सबैमा पुग्नेछ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले तीन दिनसम्म शिविर राखेर पालोपालो सबै लाभग्राहीलाई आवास निर्माणको पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ वितरण र अन्य सेवा दिने जनाएका छन्।

एक नगरपालिकासहित ५० गाविस रहेको जिल्लामा सात हजार ८ सय १० जनाले अनुदानका बारेमा गुनासो गरेकामा ६ हजार ४४ गुनासा हेरिसकेको प्राधिकरणले जनाएको छ। हाल जिल्लामा ७ सय ६७ वटा घर बन्दै गरेका छन्।

प्रकाशित: १४ माघ २०७३ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App