८ वैशाख २०८१ शनिबार
समाज

आँखामा खेलाँची

झापा- टाउको दुख्दा होस् वा झाडापखालाले नै किन नसताओस्, स्वास्थ्यप्रति सामान्य सचेतना भएको जोकोही उपचारमा दौडिहाल्छन्। शरीरको सबैभन्दा संवेदनशील अंग आँखाको स्वास्थ्यप्रति भने सचेत व्यक्ति पनि अचेतझैं बनिदिन्छन्, बेवास्ता गर्छन्। 

आँखाको नियमित जाँच र उपचारमा उनीहरू  खासै गम्भीर नबन्ने नेत्ररोग विशेषज्ञ बताउँछन्। 'अन्य समस्याबारे ज्यादै सजगता देखाउने पनि आँखाको समस्याबारे गम्भीर देखिँदैनन्,' वरिष्ठ नेत्रचिकित्सक डा. शरदचन्द्र प्रकाश राई भन्छन्, 'यसको मुख्य कारण आँखाको औषधिको जथाभाबी प्रयोग नै हो।'

झापा, मेचीनगरमा जारी नेपाली कांग्रेसको स्वास्थ्य महोत्सवमा उपचार सेवा प्रदान गरिरहेका मेची नेत्रालयका प्रमुख राईका अनुसार आँखा चिलाउँदा होस् या कुनै घाउ लाग्दा सर्वसाधारण सबैभन्दा पहिले औषधिपसल पुग्छन्। समस्या बताउनासाथ पसलेले कुनै न क्ुनै औषधि दिइहाल्छ। 'त्यो औषधि कसरी प्रयोग गर्ने, कुन अवस्थामा प्रयोग गर्ने पसलेलाई थाहै हुँदैन,' उनले भने, 'तैपनि उनीहरू निर्धक्क बेच्न छाडदैनन्।'

चिकित्सकका अनुसार अधिकांश औषधिपसले रोग थाहै नपाई शल्यक्रियापछि लगाउने औषधिसमेत बिरामीलाई भिडाउन खप्पिस हुन्छन्। स्वास्थ्य महोत्सवस्थलमा विभिन्न तीनवटा आँखा अस्पतालले उपचार सेवा दिइरहेका छन् जहाँ स्वास्थ्यकर्मी आँखा सुरक्षा र उपचारबारे सर्वसाधारणलाई सूचित गरिरहेका छन्। आँखा उपचार शिविरमा भीड पनि ठूलै लाग्दै आएको छ तर सबै वृद्धवृद्धाको मात्रै लाम हुन्छ।

'आँखा पाकाहरूले मात्रै जाँच गर्ने हो भन्ने भ्रम धेरैलाई छ,' डा. राईले थपे, 'यसले पनि आँखाको स्वास्थ्यबारे धेरैमा सचेतना नभएको देखिन्छ।'

नेत्ररोग विशेषज्ञका अनुसार अन्धोपन मोतिबिन्दुबाट बढी हुन्छ। त्यसपछि जलबिन्दु हो। मोतीबिन्दु के कारण हुन्छ भन्ने अहिलेसम्म कसैले पनि यकिन गर्न नसकेको विज्ञो भनाइ छ।  जब उमेर पाको हुन्छ, सँगसँगै आँखामा मोतिबिन्दु निर्माण हुन्छ। यसले आँखाको ज्योति कम गराउँछ। पहिले–पहिले मोतिबिन्दु नपाकेसम्म अपरेसन गर्न हुँदैन भन्ने विश्वास थियो तर अहिले नयाँ प्रविधिबाट तुरुन्त अपरेसन गर्न सकिने विज्ञ बताउँछन्। मोतिबिन्दुका कारण आँखामा कुनै गाह्रो महसुस भए तत्काल अपरेसन गर्न सकिने प्रविधि अहिले उपलब्ध छ।

मोतिबिन्दुको बेलैमा अपरेसन गरिएन भने जलबिन्दुको सम्भावना हुन्छ। यसको समयमै उपचार नगर्दा कहिल्यै नफर्कने गरी आँखाको ज्योति गुम्नसक्ने वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. बालकुमार केसी बताउँछन्।

विज्ञका अनुसार नेपालीका आँखामा आमसमस्या हो न्यून दृष्टि। मोतिबिन्दु र अन्य समस्या पनि धेरै छन्। चस्मा लगाइयो भने न्यून दृष्टिको समस्या समाधान हुन्छ भन्ने सामान्य ज्ञान मानिसमा नभएको केसी बताउँछन्।

उनका अनुसार ४० वर्ष नाघेका मानिसमा नजिकको दृश्य नदेख्ने समस्या बढी पाइन्छ। यो समस्या पनि चस्माले नै समाधान गरिदिन्छ। चस्माको प्रयोगले काममा सहजता हुन्छ र आँखाको दृष्टिक्षमता फर्कन्छ भन्ने थाहा नपाउनु पनि समस्या हो।  नेपालमा न्यून दृष्टि र अन्धोपन गराउने कारण मोतिबिन्दु नै हो। यसको अपरेसनपछि अर्काे दिनै देख्न सकिने उनको भनाइ छ।

भिटामिन 'ए' तथा सरसफाइ कमी र आँखा जाँच्ने बानीको कमीले पनि थुप्रै नेपाली आँखाका रोगी बनिरहेका छन् र यो संख्या बढिरहेको छ। आँखा पाक्ने रोग, खस्रेरोग यिनै कारण घातक बन्न सक्ने विशेषज्ञ बताउँछन्।

विशेषज्ञका अनुसार कम्तीमा ६–६ महिना वा वर्षमा एकपटक सबैले आँखा अनिवार्य परीक्षण गराउनुपर्छ। नेपालमा मधुमेहका रोगी बढेसँगै त्यसको प्रभावबाट आँखामा हुने 'डाइभिटी रेटिनोप्याथी’ समस्याबाट पीडितको संख्या बढ्दै गएको डा. सञ्जीवकुमार यादव बताउँछन् । अधिकांश बच्चामा हेर्ने शक्ति कम भएकाले चस्मा लगाउनैपर्ने, वृद्धवृद्धामा मोतिबिन्दु, जलबिन्दु तथा मधुमेहका रोगीमा आँखामा हुने 'डाइभिटी रेटिनोप्याथी’ को समस्या देखिने गरेको छ।

कहिलेकाहीँ भाइरलका कारण आँखामा एलर्जी हुने, पाक्ने समस्या हुन्छ नै तर आँखाको ज्योति नै गुम्नसक्ने अवस्थामा समेत मानिस रोग पालेर बसेका छन्। विराट आँखा अस्पताल, विराटनगर र काँकडभिट्टा आई केयर सेन्टर प्रालि, काँकडभिट्टामा कार्यरत डा. यादव विशेष गरी मधुमेहका रोगीमा यो समस्या देखिने, मधुमेहका रोगी बढ्दै गएको सन्दर्भमा 'डाइभिटी रेटिनोप्याथी’ को समस्या बढ्ने, मधुमेह नियन्त्रण नहुँदा त्यसको प्रभावले हुने समस्या समयमै निदान नगरे आँखाको ज्योति गुम्ने खतरा बढ्ने बताउँछन्।

१०/ १२ वर्षअघिदेखि मधुमेह पीडित ५० देखि ६० प्रतिशतमा 'डाइभिटी रेटिनोप्याथी’ को समस्या देखिएको उनले जानकारी दिए। विपन्न समुदायमा यो समस्या अझ बढी देखिएको उनले सुनाए।

कतिपय त आँखामा ठुल्ठूला रोग लाग्दासमेत धामीझाँक्रीमा भरपर्ने गरेका छन्। 'आँखाको उपचार गराउनुपर्छ भन्ने चेतना खासै देखिएन,’ डा. यादवले भने, 'मोतिबिन्दुले उमेर बढ्दै गएका कारण संक्रमण गर्छ भने मधुमेहका बिरामीमा 'डाइभिटी रेटिनोप्याथी’ को समस्या देखिन्छ।'

मधुमेहको असरले आँखाको रेटिनाको नली र रक्तनलीमा असर पुग्ने, रक्तनली बन्द हुने, फुट्ने, रक्तश्राव हुने गर्छ। डा. यादवले भने, 'समयमै उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ।’

प्रकाशित: १४ माघ २०७३ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App