coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

काँचो सुनचाँदी ल्याउन प्रतिबन्धविरुद्ध विदेशका नेपाली आन्दोलित

महेश श्रेष्ठ

साउदी अरब—विदेश बसोबास गर्ने नेपालीले घर फर्किंदा साथमा काँचो सुनचाँदी लैजान नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध खारेजीको मागमा ऐक्यबद्धता जनाउन नेपाली साझा मञ्चले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीलाई अपिल गरेको छ ।

मञ्चले केही दिनअघि प्रवासी नेपालीको तर्फबाट प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै भन्सार विभागले प्रवासीहरु विदेशबाट स्वदेश फर्कने क्रममा नगदको सट्टा निश्चित परिमाणमा काँचो सुनचाँदी लैजान पाउने व्यवस्थामा लगाएको प्रतिबन्ध खारेज गर्न माग गरेको थियो।

मञ्चमा आवद्ध अन्तर्राष्ट्रिय अभियन्ताको सोमबार बसेको बैठकले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण सामाजिक र पेसागत संगठन तथा संघ–संस्थालाई भन्सार विभागको निर्णय खारेजीका लागि नेपाली राजदूतावास तथा महावाणिज्यदूतको कार्यालयमार्फत दबाब दिन अपिल गरेको हो । मञ्चले गत शनिबार नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा समेत यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइसकेको छ ।

नेपाल तथा विदेशमा रहेका सम्पूर्ण सामाजिक र पेसागत संगठन तथा संघ–संस्थालाई भन्सार विभागको निर्णय खारेजीका लागि नेपाली राजदूतावास तथा महावाणिज्यदूतको कार्यालयमार्फत दबाब दिन अपिल गरेको हो। मञ्चले गत शनिबार नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा समेत यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइसकेको छ।

मञ्चले जारी गरेको अपिलमा नेपालको कुल गार्हस्थ उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान दिने, देशको बजेट बराबर रेमिटेन्स भित्र्याउने र ५६ प्रतिशत घरधुरीलाई धानिरहेका प्रवासीको योगदानलाई भन्सारको निर्णयले अपमान गरेको आरोप लगाएको छ ।

भन्सार तिरेर वा छुटमा तयारी गहनामात्रै साथमा स्वदेश लैजान दिने निर्णयले मुलुक र जनताप्रति घात गर्दै तस्कर व्यापारीको मात्रै हित गर्ने जिकिर मञ्चको छ । यो नीतिले सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा समेत प्रतिकूल असर पार्ने मञ्चको अपिलमा उल्लेख छ ।

‘विदेशमा बसोबास गर्ने नेपालीले खाई नखाई बचत गरेको रकमबाट आमा, श्रीमती, दिदीबहिनी लगायतलाई खुसी दिन १–२ तोला सुन र केही चाँदी लैजाने हुन्,’ मञ्चको अपिलमा भनिएको छ, ‘नयाँ नीतिमार्फत भन्सारले ३५ लाख प्रवासीको खुसीमा तुषारापात गरेर तस्कर नियन्त्रण गर्ने बहानामा तस्करलाई नै पोस्ने नीति लिएको छ ।’

मञ्चले जारी गरेको अपिलमा प्रवासी नेपालीले नेपाल लाने गरेको काँचो सुनचाँदीप्रति नेपाल राष्ट्र बैंक र स्वदेशी सुनचाँदी व्यवसायीको समेत आपत्ति नरहेको बताएको छ ।

मुलुकमा सुनको दैनिक माग ४० किलो भए पनि राष्ट्र बैंकले १५ किलो उपलब्ध गराउँदै तथ्य प्रस्तुत गर्दै विदेशबाट फर्किनेले सुन लैजान नपाए आपूर्ति व्यवस्था खल्बलिन गई यसको कालोबजारी तथा तस्करी बढ्ने आशंका मञ्चले व्यक्त गरेको छ ।

अर्थ मन्त्रालय, राजस्व महाशाखाका प्रमुख लक्ष्मण अर्यालले प्रवासीले बोक्ने सुनका विषयमा टेलिभिजनमार्फत दिएको अभिव्यक्तिलाई मञ्चले आधारहीन भनेको छ । उनले प्रवासी नेपालीले ओसार्ने सुनले स्वदेशी सुन बजारको २५ प्रतिशत हिस्सा ओगटेको र सोलाई निरुत्साहित गरी बैंकिङ प्रणालीमा ल्याउन र विदेशी मुद्रा सञ्चिती बढाउन व्यक्तिगत रुपमा काँचो सुनचाँदी ओसार्न प्रतिबन्ध लगाइएको बताएका थिए ।

काँचो सुनमा प्रतिबन्ध लगाएर तयारी गहना भने ल्याउन दिने नीतिले स्वदेशी कालिगढको पेटमा लात हान्ने मञ्चले जनाएको छ । यसले स्वदेशी कला संस्कृति अनुरुपका गहना विस्तारै लोप हुने तर्क पनि मञ्चले गरेको छ ।

मञ्चको मागमा ऐक्यबद्धता जनाउन अपिलमा विश्वभर छरिएर रहेका नेपालीलाई आग्रह गरिएको छ ।

प्रकाशित: २२ असार २०७३ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App