coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'मिटर अाफैं रिड गर्नुस्, विद्युत् महशुल तिर्नुस्'

काठमाडौँ– तपाईंको घरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी आएर मिटर रिडिङ गरेका छैनन्, अथवा तपाईंको घरमा उठेको भन्दा कम वा बढी युनिट लेखेर तपाईंलाई हैरान बनाएका छन् भने अब चिन्ता नलिनुहाेस्। तपाईंको घरको मिटर रिडर अब तपाईं नै हुनुहुनेछ।

तपाईंको घरमा रहेको मिटरमा उठेको विद्युतको युनिट हेरेर सोही बराबरको रकम नजिकको प्राधिकरणको कार्यालयमा गएर भुक्तानी गर्न सक्नुहुनेछ । त्यसरी महसुल तिर्न जाँदा तपाईले सीमित प्रतिशत लाभसमेत पाउनुहुनेछ।

पछिल्लो पटक प्राधिकरणका मिटर रिडर र मिटर रिडर सुपरभाइजरकै मिलेमतोमा विद्युत् चोरी भएको पत्ता लागेपछि प्राधिकरणले उपभोक्ता स्वयम्लाई नै महसुल तिर्ने र आफ्नो युनिट बताउनका लागि आग्रह गरेको हो।

प्राधिकरणले बिहीबार सार्वजनिक सूचनामार्फत नागरिकलाई आफैँ मिटर अध्ययन गरेर महसुल तिर्न आग्रह गरेको छ। प्राधिकरणले उपभोक्ताको साथ पाएपछि उपभोक्तालाई नै थप जिम्मेवार बनाउन त्यस खालको योजना अगाडि सारेको जनाएकाे छ।

महानगरीय प्रहरी प्रभाग अपराध महाशाखाले विद्युत् चोरीमा संलग्न भएको भन्दै पहिलो चरणमा १६ जनालाई पक्राउ गरेपछि उपभोक्तालाई नै सचेत बनाउन आफैँ मिटर रिडर बन्ने अवसर प्रदान गरेको हो। कतिपय अवस्थामा लामो समयसम्म काठमाडौँ उपत्यकामा नै प्राधिकरणका कर्मचारी मिटर रिडिङमा नगएको पाइएपछि उपभोक्तालाई नै जिम्मेवार बनाउन र प्राधिकरणको भरोसा बढाउन त्यस्तो कदम चालिएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

उपभोक्ताले त्यसरी महसुल बुझाउन जाँदा केही प्रतिशत छूट समेत पाउने र थप जिम्मेवार बन्नसमेत मद्दत गर्ने बताइएको छ । विद्युत् चोरीमा प्राधिकरणकै कर्मचारी संलग्न रहेको र उनीहरुले व्यवसायीसँग मिलेर रु १३ अर्ब बराबरको विद्युत् चोरी गरेको पाइएपछि प्राधिकरण व्यवस्थापनले दुई हजार ५०० कर्मचारीलाई पहिलो चरणमा सरुवा गरेको छ। चोरीको जालो निर्मूल पार्ने अभियानको रुपमा कर्मचारी सरुवालाई लिइएको बताइएको छ।

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट उपलब्ध हुने विद्युतमध्ये २५ प्रतिशत चुहावट तथा चोरीका कारण खेर गइरहेको छ। प्राधिकरणले पछिल्लो पटक आठवटै क्षेत्रीय कार्यालयलाई चोरी तथा चुहावट नियन्त्रण गर्न विशेष कार्ययोजनासहित निर्देशन दिएको थियो।

उपभोक्ताले हुकिङमार्फत चोरी गर्ने गरेकोमा त्यस्तो कार्य मुलुकभर नै नियन्त्रणमा आउन थालेको अवस्थामा कर्मचारी नै चोरीमा संलग्न भएको तथ्य सार्वजनिक हुनुले भने थप समस्या पैदा गरेको छ।

विद्युत् चोरीमा संलग्नलाई कडा कारबाही गर्न प्राधिकरणका कार्यरत केही कर्मचारी सङ्गठनले माग गरे पनि केही ट्रेड युनियनले भने चोरीको अभियोग लगाएर कर्मचारीको सरुवा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्राधिकरणले भने लामो समयदेखि सरुवा नभएका कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको जनाएको छ। विद्युत् चोरी नियन्त्रण गर्नका लागि प्राधिकरणले निकट भविष्यमा नै स्मार्ट मिटर ल्याउने तयारी समेत गरिरहेको छ। रासस

प्रकाशित: १३ माघ २०७३ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App