coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बजार अनुगमन टोलीमाथि व्यापारीको आक्रमण

काठमाडौं— कम तौलका डिजिटल ढक, तराजु प्रयोग गरेर उपभोक्ता ठग्दै आएका व्यापारीले सरकारी अनुगमन टोलीमाथि आक्रमण गरेका छन् । मापदण्ड पूरा नगरी सेटिङ मिलाएर राखेका तराजुलाई सरकारी अधिकारीले नियन्त्रणमा लिन सुरु गरेपछि बल्खु तरकारी बजारका व्यापारी हातपातमा उत्रिएको अधिकारीहरुले बताएका छन् ।

व्यापारीले प्रयोग गरेका ढक–तराजुलाई नापतौल तथा गुणस्तर विभागमा प्रमाणीकरण गर्न आग्रह गर्दा तरकारी फालेर अवरोध गर्न खोजेको उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक गोकुल धितालले बताए । ‘उक्त बजारमा प्रयोग भएका ढक अनुगमन टोलीलाई नियन्त्रणमा लिएर सिलबन्दी गरेको छ,’ उनले भने, ‘नापतौलबाट प्रमाणीकरण गरेरमात्र चलाउन पाउँछन् ।’ टोलीले करिब एक सय ढक–तराजु जफत गरेर सिल गरेको थियो ।

नवीकरण नभएका तराजुलाई कानुनी पक्रिया पु¥याउन निर्देशन दिइएको छ । व्यापारीको दादागिरी देखेर अनुगमन टोली हच्किएको थियो । केहीबेर विवाद भएपछि बल्खु तरकारी बजारका निर्देशक रामकृष्ण कुँवरले माफी मागेका थिए । व्यवसायीको तर्फबाट कुँवरले गल्ती स्वीकारेपछि टोलीले फेरि अनुगमन गरेको थियो । बजार व्यवस्थित गर्नका लागि सुरु गरिएको अनुगमनमा अवरोध गर्नेलाई कारबाही गर्न उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । कम तौल तरकारी बेचेर ठग्ने व्यापारीलाई कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘सरकारी नियम मान्दैनौं भन्नु उपभोक्ता लुट्न देऊ भन्नु नै हो,’ उनले भने, ‘आक्रमणमा उत्रिनेलाई कानुन अनुसार कारबाही गर्नुपर्छ ।’

हरेक व्यवसायीले अनिवार्य रुपमा ढक–राजु प्रमाणीकरण गराउनुपर्ने नापतौल तथा गुणस्तर विभागले जनाएको छ । सबै व्यापारीले कानुनी प्रक्रिया पु¥याउनुपर्ने महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘ढक–तराजु आफूखुसी प्रयोग गर्न कसैलाई छुट छैन,’ पुडासैनीले भने, ‘नियम अनुसार मापदण्ड पूरा गर्नु अनिवार्य छ ।’

आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वमा मंगलबार आपूर्ति मन्त्रालय, व्यवस्थापन विभाग, गुणस्तर तथा नापतौल विभागका अधिकारी र अधिकारकर्मीको टोली मंगलबार बजार अनुगमनमा निस्किएको थियो । मन्त्री पुन नेतृत्वको टोली कालीमाटी तरकारी बजार र बल्खुकै फलफूल बजारको निरीक्षण गरेर फर्केपछि बल्खु तरकारी बजारमा पुग्दा व्यापारीले हातपात गरेका हुन् ।

कालीमाटी तरकारी बजारमा सडेगलेका तरकारी छरपस्ट रहेको, तरकारी कुहिँदा दुर्गन्ध फैलिएको थियो । कालीमाटी तरकारी बजारमा तत्काल फोहोर व्यवस्थापन गर्न मन्त्री पुनले निर्देशन दिए । ‘केही व्यवसायीलाई सचेत गराएर तीन दिनभित्र सरसफाइ गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘सम्बन्धित कम्पनीले सरसफाइ नगरे कारबाही हुन्छ ।’

ढक–तराजु प्रमाणीकरण गर्न पनि अह्राएको उनले बताए । तरकारीमा प्रयोग हुने विषादीको मात्राबारे तुरुन्त प्रतिवेदन पेश गर्न पुनले निर्देशन थिए । मन्त्रीको निरीक्षण क्रममा प्रयोगशाला प्रमुख प्रदीपकुमार भण्डारीले परीक्षण प्रतिवेदनबारे जानकारी गराएका थिए । बल्खु फलफूल थोक बजार भने फोहोर देखिए पनि तुलनात्मक रुपमा व्यवस्थित रहेको अनुगमन टोलीले जनाएको छ ।

काठमाडौं उपत्यकामा मुख्य गरी कालीमाटी र बल्खु तरकारी बजारबाट तरकारी आपूर्ति हुन्छ । उपत्यकामा दैनिक ६ सय ५० मेट्रिक टन ताजा तरकारी खपत हुन्छ । उपत्यकामा धादिङ, काभे्र, चितवन, मकवानपुर, नुवाकोट लगायत तराईका जिल्ला र भारतबाट तरकारी आउने गरेको छ ।

बजार अनुगमन कम भएको गुनासो आएपछि विभागले सक्रियता देखाएको हो । बजार अनुगमन निरन्तर रहेको विभागका निर्देशक लक्षण श्रेष्ठले बताए । ‘उपभोक्तालाई स्वच्छ र स्वस्थ्य खाद्यवस्तुको व्यवस्था गर्न प्रयत्नशील छौं,’ उनले भने, ‘जनशक्ति कम भएकाले अपेक्षाअनुरुप अनुगमन हुन सकेको छैन ।’

व्यापारीले ढक–तराजु प्रयोग गरी कम परिमाणमा सामान बेचेर उपभोक्त ठगेको पुष्टि भए मापन गर्ने सामान जफत, जेल सजाय र १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने नापतौल ऐनमा व्यवस्था छ । उक्त घटनाबारे मंगलबार उद्योग वाणिज्य तथा उभोक्ता हित सम्बन्धन समितिमा सांसदले समेत चासो राखेका थिए । समिति बैठकमा बजार अनुगमनलाई तीव्रता दिनुपर्ने सांसद छायादेवी पन्तले बताइन् । ‘खाद्यान्न, तरकारीमा अचाक्ली महँगी बढेको छ,’ पन्तले भने, ‘नियमनकारी निकाय सक्रिय हुनुपर्‍यो।’

प्रकाशित: २२ असार २०७३ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App