७ वैशाख २०८१ शुक्रबार
विचार

प्रश्न गर्ने जनताको खाँचो

जनताले आफ्ना लागि आफैँ निर्वाचित गरेर पठाउने जनप्रतिनिधिमार्फत शासन गर्ने प्रणालीलाई प्रजातन्त्रको परिभाषाका रूपमा अब्राहम लिंकलने गरेको परिभाषाले राजनीतिमा जनताको निर्णायक र अनिवार्य सहभागिताको महत्व कति रहेछ भन्ने देखाउँछ। यो सिद्धान्त र दर्शनको कसीमा नेपाली राजनीतिमा जनताको सहभागिता हेर्ने हो भने यसको इतिहास सात दशकभन्दा बढी लामो छैन भन्दा हुन्छ। नेपाली कांग्रेसले राणाविरुद्ध संघर्षको शंखघोष गरेपछि नेपाली राजनीतिमा जनसहभागिताको बीजारोपण भएको पाइन्छ। परम्परागत नेपाली समाजमा चेतनाको दियो बालेर विस्तारै भुसझैँ सल्कन थालेको राजनीतिमा बाहुनहरुले हलो जोतेर सामाजिक रूपान्तरण सँगसँगै राजनीतिक क्रान्तिमा होमिन चरु छरे भन्दा अन्यथा हुने छैन। त्यसबेलाको समाजमा यस्तै सामाजिक जागरण र राजनीतिक घटनामा सहभागी भएर अनेकौँ राजनीतिक संघर्षको उकाली/ओराली गर्दै हामी आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा आइपुगेका छौँ। इतिहासको कठिन संघर्ष र क्रान्तिबाट प्राप्त उपलब्धिको आधारशीलामा उभिएर हामी त्यसैको लाभ लिइरहेका छौँ। तर के अहिलेको राजनीतिक अवस्था चिन्तामुक्त अवस्थामा छ त? निसन्देह छैन। अविश्रामझैँ लाग्ने राजनीतिक संक्रमणको राप र तापबाट हामी मुक्त हुन सकेका छैनौँ।

प्रश्न गर्ने जनताको जागरुकताले जवाफदेही राजनीतिको जग बसाल्छ। राजनीतिमा जनताप्रतिको जवाफदेहिताले राजनीतिमाथिको विश्वास र नेतृत्वप्रति आश जगाउँछ।

मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक युगमा आइपुगेको छ। तर अझैसम्म नेपाली जनता नेपालको राजनीतिको हिस्सेदार हुन सकेका छन् कि छैनन्? निर्णायक ठाउँमा जनता हिस्सेदार हुन प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित व्यक्ति वा सरकारले जनताका लागि नीति निर्माण र विकासमा ध्यान पुर्‍याउनुपर्ने हो। भन्ने र गर्ने कुरामा आकाश–जमिनको फासला हामी नेपाली समाजमा जताततै देख्छौँ।

 त्यसो त समावेशीको नाममा आरक्षण सुरु भएको छ। समावेशी लोकतन्त्र र समावेशिता अहिले राम्रै चर्चाको विषय भएको छ। शिक्षा, रोजगारी र स्वास्थ्य उपचारमा अनि गरिबी निराकरण वा सामाजिक न्यायका लागि आरक्षण हुनु राम्रो हो। तर राजनीतिमा आरक्षणले फाइदा दिन सक्दैन। बरु आरक्षण सिटमा चुनावमार्फत नेतृत्व चयन गर्ने हो भने केही प्रभावकारी हुन सक्छ। योग्य व्यक्ति कुनै व्यापार चलाउन सक्छ। प्रशासन चलाउन सक्छ। डाक्टर वा इन्जिनियर भएर काममा परिणाम ल्याउन सक्छ। तर नेता भएर समाज र देशलाई नेतृत्व गर्न सक्दैन भन्ने हुँदैन। व्यवस्थापकीय दक्षताको कसीमा सबैभन्दा योग्य व्यक्ति नेतृत्व तहमा हुनु राम्रो हो।

बेलायतमा कक्षाको प्रथम छात्र वा छात्राको प्रथम रोजाइ राजनीति हुने गर्छ। सम्पूर्ण क्षमता, संप्रेषण क्षमता, विषयगत दक्षता आदि खुबी एक राजनीतिज्ञमा हुनुपर्ने विशेषताभित्र पर्छन्। हाम्रो देशमा, शायद छिमेकी देशबाट आयातीत संस्कारको कारण हो कि राजनीतिलाई केवल सिद्धान्तमात्र मान्ने तर व्यवहारमा अपनाउन नसक्ने भएर हो राजनीति सम्मानित हुन सकेको छैन। राजनीतिमा संघर्ष, सिद्धान्त र निष्ठा प्रथम आधारस्तम्भ हुन्। नैतिकता, इमानदारी र राष्ट्रप्रेम प्रमुख कुरा हुन्। २० वर्षमा २३ वटा सरकार फेरिनुले अस्थिर राजनीतिलाई संकेत गर्छ। सरकार बनाउनु भनेको त्यसको विघटनको साइत जुराउनु जस्तो विडम्वनापूर्ण राजनीतिले नेपाली राजनीतिलाई अस्थिरताको रोटेपिङमा घुमाइरहेको छ। अनेक अधिनायकवादबाट लडेर प्राप्त उपलब्धि फेरि अधिनायकवादतर्फ उन्मुख हुने हो कि भन्ने त्रास ज्युका त्युँ छ।

नेताप्रति दृष्टिकोण

 नेपाली राजनीतिका कैयन् परिवर्तनमा भूमिका निर्वाह गरेका नेताहरू जनतामा आफ्नो सुस्पष्ट, स्वीकार्य र सम्मानित छवि बनाउन सकेका छैनन्। जनतालाई न त तत्काल ठूलै परिवर्तनको आशा जगाएका छन् न कतै सानासाना विकासको काममा पनि गति दिन नीतिगत निर्णय गर्न वा गराउन सकेका छैनन्।

 जनतालाई पनि हेक्का होला, नेता पनि त्यही समाजको एक पात्र हो। समाजमा भएका आनीबानी, संस्कार र वातावरणले नेतालाई पक्कै प्रभाव पारेको हुन्छ। एउटा नेताले ५० हजार रुपियाँ भत्ता लिन हुन्न भन्नेले त्यही नेताले लाखौ करोडौं रुपियाँ खर्चेर दिएको भोज खाने र त्यस्तै कुरामा सहभागी हुने र रमाउने दृश्य पनि नपाली समाजमा नौलो लाग्दैन। त्यो भोजभतेर खुवाउन लाखौं करोडौं रुपियाँ कहाँ र कताबाट आयो भनेर प्रश्न गर्ने जनता चाहिएको हो। त्यसपछि ५० हजारमात्र के, १ लाख २ लाख तलव कति चाहिन्छ लिनु तर राज्य कोष दुरुपयोग हुने गरी करोडौं भ्रष्टाचार गर्न मनाही छ भन्ने जनता हुनेछन्। प्रश्न गर्ने जनताको जागरुकताले जवाफदेही राजनीतिको जग बसाल्छ। राजनीतिमा जनताप्रतिको जवाफदेहिताले राजनीतिमाथिको विश्वास र नेतृत्वप्रति आश जगाउँछ। जनताको आशा, सपना र चाहना सम्बोधन गर्ने राजनीति र नेतृत्वले नै वास्तविक प्रजातन्त्रको मर्म उजागर गर्छ।

 तर हाम्रो परिवेशमा हामी चुकेको यहीँनेर हो। हाम्रो देशको विकासले गति लिन नसकेको मूल कारण त्यही हो। ६०१ सांसदले लिएको सुविधा निजामती सेवाका कर्मचारीले लिएको सुविधासँग दाज्न जरुरी छ। झण्डै ९० हजार कर्मचारीले सेवासुविधाअनुसार कार्यक्षमता प्रदर्शन गरेका छन् त? प्रश्न गरौँ।

देशका निजामती कर्मचारीले अत्यन्त राम्रो काम गरेर विकास निर्माण र जनतालाई प्रत्यक्ष सेवा दिने काम गरेका रहेछन् भने ६०१ सभासद्ले सुविधामुखी भए भन्न सुहाउँछ। यो प्रणालीमा सेवा र सुविधामा बढी ध्यान जाँदा कहिले त्यसलाई त्याग गरेको देखाएर भ्रष्टाचार गरी त्यो पैसाले त्यागी नेताको छवि बनाउनसमेत सफल भएको पाइन्छ। समग्र देश विकासका लागि आवश्यक मुख्य मुद्दामा बहस भएको पाइँदैन। खाली अर्काले के खायो? के लगायो? कुन गाडी चढ्यो? कुन घरमा बस्यो? भन्ने चियोचर्चाले ठाउँ पाइरहेछ।

अनि त योग्यताको कदर हुने नै भएन, इमानदारिता र देशभक्ति के हो? कसले प्रदर्शन गरेको छ? त्यो ढोंगी हो कि इमानदार? छुट्याउने प्रयत्न हुनुपर्छ। राम्रोलाई राम्रो भन्ने, गलतलाई गलत भन्न सक्ने नेपाली समाज आजको आवश्यकता हो।

संस्कार र कर्मको सम्मान

हाम्रो नेपाली समाजको विकासक्रममा श्रमको सम्मान गर्ने संस्कार विकास हुन सकेन। चार जात छत्तीस वर्ण भनेर जातिलाई तल्लो दर्जाको प्रजा बनाइयो। आजका नेपाली पनि त्यसको सिकार भएका छन्। नेपालमा सरसफाइ गर्नेदेखि तरकारी बेच्नेसम्मको काम गर्नेलाई रुचाइन्न भने सोही कामका लागि मलेसिया, अरब र कोरियामा पसिना बगाउन नेपाली दाजुभाइमा तँछाडमछाड छ।

देशमा कृषि पेशा नै अपहेलित हुने गरेकाले युवा विदेशिने क्रम रोकिन सकेको छैन। अहिले केही पढेलेखेका युवाले कृषि पेशा गरेर राम्रो कमाइ गरेर उदाहरण बनेर देखाएका छन्। यो क्रमले आगामी दिनमा देशमा नै परिश्रम गर्ने र गर्न चाहने युवाको वृद्धि हुनेछ। श्रमको सम्मान गर्न सकेमात्र समाजको प्रतिष्ठा, देशको विकासमा मद्दत पुर्‍याउँछ। श्रम गर्ने, मेहनत गर्ने र कार्यक्षमता प्रदर्शन गरेर विकासमा योगदान पुर्‍याउनेको उचित मूल्यांकन हुनुपर्ने देखिन्छ। यस्तो भएमा मात्र विकृति न्यूनीकरण हुन्छ।

यो सबै समाज र संस्कार परिवर्तन राजनीति सुधारले मात्र हुन सक्दैन। जबसम्म नेपालीपन, कर्म गर्ने र त्यसको फल खाने संस्कृति विकास हुन्न, उचित योगदान र योग्यताको कदर पनि हुन्न। पहिले आफू, आफ्नो समाज र देश सुधारका आधारभूत कुरामा ध्यान दिन जरुरी छ। योग्य र शिक्षित समाजका लागि पाठ्यक्रममा सुधार गरी शैक्षिक स्तर उन्नतितर्फ ध्यान पुर्‍याउनुपर्छ। हिंसारहित र समस्यारहित कुनै समाज हुन्न तर हामीसँग जे विसंगति, बेथिति र अस्थिरता छन्, त्यसमा सुधार खोज्नुपर्छ भन्न खोजेको हुँ। योग्य र इमानदार खोज्नु, राष्ट्रवादीको पहिचान गर्नु पनि नागरिकको कर्तव्य ठान्छु।

शैक्षिक योग्यता र राजनीति

कुनै पुस्तक र विषयको ज्ञानले मात्र राजनीतिज्ञ सफल हुने र हुन्छ भन्नेमा मलाई विश्वास लाग्दैन। नेताको विश्वास  भनेको त जनताले उत्तरदायित्व प्रदान गरेको र पर्याप्त मेहनत, परिश्रम, लगनशीलता, कार्यकुशलता र समर्पणबाट प्राप्त उपलब्धि मुख्य कुरा हो। अनुभव र आवश्यकता पूर्ति गर्न सक्ने क्षमता नेतृत्वमा हुनुपर्ने गुण हुन्। केवल किताबी ज्ञानको कुरा गरेर र कुनै शैक्षिक योग्यताले नेताको उपलब्धि हासिल हुनु र हुन सक्नु राम्रो होइन।

 अर्को कोणबाट हेर्दा एउटा उदाहरण दिन चाहन्छु। एउटा जुम्ला वा जाजरकोट जिल्लाको वा कुनै विकट र त्यस्तै ग्रामीण भेगको पिछडिएको समाजको र त्यस्तै समाजलाई प्रतिनिधित्व गरिरहेको सामाजिक कार्यकर्ता वा नेता जसलाई सम्पूर्ण ज्ञान छ आफ्नो आवश्यकताको, आफ्नो सिप र समाजको पनि पर्याप्त साथ र भरोसा लिएर आएको छ, उसले कुनै कारणवस कुनै डिग्री हासिल गर्न नसकेको होला, के त्यो नेता राज्य तहमा रहेर वा पुगेर आफ्ना जनतालाई वा समाजलाई मैले प्राप्त गर्न सकेको अनुभव, सिप, शिक्षा दिलाउँछु र समाजको उन्नति  गर्नमा  सहयोग गर्छु भन्दा ऊ योग्य छैन भनेर उसलाई अपमान गर्ने? यो कहाँको न्याय हुन्छ? केही पटमूर्ख, जो आफँै मेहनत गर्दैनन्  र कसैले दिन्छु र खान्छु भन्नेले हाम्रो समाजमा भ्रम फैलाउने काम गरेका छन्। त्यसैले एउटा अनुभव प्राप्त गरेको असल समाजको अगुवा पछि पर्ने र पर्नुपर्ने व्यवस्थाको कुराले नै विकासमा बाधा पुर्‍याउने गर्छ।

त्यसैले आजको आवश्यकता हाम्रो देश र जनताको के हो? के छ? र, त्यसलाई आज हाम्रो व्यवस्था र संयन्त्रले केही गरेको छ वा छैन? छुट्याउनु जरुरी छ। सबैलाई एउटा खाल्टोमा हाल्ने काम भयो भने खाल्टोबाट निक्लिने काम हुन सक्दैन। आज दुनियाँमा असफल राष्ट्र धैरै छन्। त्यो आफ्नै कारणले नियति भोगिरहेका हुन्। आफ्नो समस्या पहिचान गरी आफँैसँग भएका राम्रा, सक्षम र सवल हात र औजार प्रयोगबाट नै प्रगति सम्भव छ र प्रगतिबाट प्राप्त उपलब्धिको संरक्षण गरी बृहत्तर हितमा उन्मुख समाजको आवश्यकता हो अबको नेपालको। खाँचो प्रश्न गर्ने जनताको छ। जसमा नयाँ नेपाल निर्माणको अभिभारा छ।

प्रकाशित: १३ माघ २०७३ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App