७ वैशाख २०८१ शुक्रबार
अर्थ

चिनियाँ लगानी र प्रविधिका उद्योग बढ्दै

बनेपा- एमबिबिएस पढ्न चीन पुगेका धनुषाधाम, जनकपुरका रमण मण्डलले चिकित्सकको उपाधिसँगै चिनियाँ लगानीको उद्योगसमेत लिएर स्वदेश फर्केका छन्। त्यहाँको सान्दोङ प्रान्तको वेइफेङ मेडिकल युनिभर्सिटीमा ६ वर्ष अध्ययन गर्ने क्रममा चिनियाँले पानीको जोहोका लागि स्टिलको ट्यांकी प्रयोग गरेको देखेपछि उनले योजना बुने, ‘नेपालमा पनि यस्ता ट्यांकी बनाउने उद्योग खोल्नुपर्छ।’

नेपालका ठूला उद्योगले प्लास्टिकका पानी ट्यांकीलाई क्रमशः स्टिलले विस्थापित गर्दै लगिरहँदा मण्डलले बुनेको योजनाले काभ्रे,  नासिकास्थान साँगा–६ मा मूर्त रुप लिन लागेको छ। ‘क्रिसमसको अवसर पारेर व्यावसायिक उत्पादन गर्न थालेका छौं। सुरुआती अवस्थामै भए पनि यहाँको स्टिल ट्यांकीले राम्रो रेस्पोन्स पाउन थालेको छ,’ मण्डलले भने।

सिएफ ब्रान्डमा ५ सयदेखि १० हजार लिटरसम्मको स्टिल ट्यांकी यहाँ बनिरहेको छ। ५ सयदेखि २ हजार लिटरसम्मका ट्यांकी घरायसी प्रयोजनमा र त्यसमाथि १० हजार लिटरसम्मका उद्योग, कलकारखानाका लागि उपयुक्त हुने उनी बताउँछन्।

यहाँ दैनिक १५ वटासम्म ट्यांकी उत्पादन हुने गरेको छ। चिनियाँ ४ जना र एक नेपालीले यसमा रोजगारी पाएका छन्। बजारको अवस्थाअनुसार उत्पादन क्षमता र रोजगारी बढाउँदै लैजाने योजना रहेको उनको भनाइ छ।

चीनको हङकङ र सेनचनमा प्लान्ट रहेको सिएफडब्लुवाई टेक्नोलोजी कम्पनीले चीनपछि नेपालमै पहिलोपटक उद्योग खोलेको कम्पनीका अध्यक्ष वाङ यान (इमा)ले जानकारी दिइन्। चीनमा लोकप्रिय बनेको सिएफ ट्यांक ब्रान्डलाई नेपालमा पनि प्रवर्द्धन गर्न लागेको उनको भनाइ छ।

‘हामीले बनाउने ट्यांकीमा सबै फुड ग्रेडका स्टेनलेस स्टिल कच्चा सामग्रीको रुपमा प्रयोग गरिरहेका छौं,' इमाले भनिन्, 'यसमा पानी, तेल, दूधसमेत यसमा भण्डारण गर्न मिल्छ।’ कम्पनीमा ९० प्रतिशत आफ्नो कम्पनीको लगानी र बाँकी मण्डलसहितका नेपालीको लगानी भएको उनको भनाइ छ।

कम्पनीले प्रवर्द्धन मूल्यका रुपमा १ हजार लिटरलाई १३ हजार रुपैयाँ मूल्य राखेको छ। यस्तै, १५ सयलाई १८ हजार, २ हजारलाई २३ हजार, ५ हजारलाई ४३ हजार र १० हजार लिटरलाई ५३ हजार रुपैयाँ मूल्य राखेको छ।

‘कम्पनीको चीनमा उत्पादन भइरहेका सोलार वाटर हिटर र वाटर प्युरिफायरलाई समेत चाँडै नेपाली बजारमा ल्याउँदैछौं,’ इमाले थपिन्।

दोस्रो चिनियाँ लगानीका रुपमा काभ्रे, जानगाल–८ मा चिनकाङ सान इँटा उद्योगको स्थापना भएको छ। चिनियाँ नागरिक ली थौङको शतप्रतिशत लगानी यस उद्योगमा रहेको छ।

अत्याधुनिक प्रविधिको प्रयोगले इँटा उत्पादन गर्ने लक्ष्य उद्योगको रहेको छ। वातावरणमैत्री र गुणस्तरीय इँटा उत्पादन हुने उनले जानकारी दिए। ‘वार्षिक १ करोड २० लाख गोटा इँटा उत्पादन गर्ने लक्ष्य रहेको छ,’ थौङले भने। आगामी तीन महिनाभित्र इँटा उत्पादन गर्ने गरी काम भइरहेको उनले बताए।

काभ्रेकै नासिकास्थान साँगाका पुराना उद्यमी शुकदेव जोशीले क्लिनसिटी प्रालिमार्फत चिनियाँ प्रविधिमा आधारित वातावरणमैत्री फेब्रिक ब्याग, मेडिकल क्याप र मास्क उद्योग सञ्चालनमा ल्याएका छन्।

‘हाम्रा उत्पादनमा पोलिप्रोपाइलिन नन ओभन (पिपी ननओभन) कच्चा सामग्रीको प्रयोग गरिरहेका छौं। यो वातावरणमैत्री उत्पादन हो,’ जोशीले भने। सबैखाले उत्पादन दैनिक ३० टनसम्म उत्पादन गर्न सक्ने क्षमता उद्योगको छ।

यसअघि नै चिनियाँ प्रविधिमै पनौती–१० मा भाग्यलक्ष्मी खाद्य उद्योग प्रालिले विभिन्न स्वाद र साइजमा चाइनिज नुडल्सको उत्पादन गर्दै आइरहेको छ।

यसरी चिनियाँ आफैंले र नेपाली उद्यमीसँग समन्वय गर्दै स–साना उद्योग स्थापना गर्न थालेको काम स्वागतयोग्य भए पनि ठूला उद्योग भिœयाउन सरकारले नै पहल गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य दिलसुन्दर श्रेष्ठको भनाइ छ।

‘पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण चाँडो भएमा चिनियाँ उद्यमी यहाँ आउन इच्छुक भएका छन्। विभिन्न समस्याले ढिलाइ हुँदै जाँदा चिनियाँ उद्योगी हच्किन सक्ने भएकाले सरकारले बेलैमा ध्यान दिनु जरुरी छ,' श्रेष्ठले भने।

अमेरिकामा ट्रम्प सरकारले जारी गरेको नयाँ नीतिले अब चिनियाँ नेपालजस्ता मुलुकमा लगानी गर्न इच्छुक हुन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए। ‘पाँचखाल सेजमा निर्यातमूलक तथा स्थानीय उत्पादन वृद्धि र स्थानीय रोजगारीका उद्योग स्थापना गर्न सकिन्छ। यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ,’ उनले थपे।

चिनियाँलाई पाँचखाल ल्याउन लागि विशेष भूमिका खेलेका श्रेष्ठका अनुसार उनीहरुको विशेष चासो नेपालमा फर्निचर उद्योग स्थापना गरेर युरोपमा निकासी गर्ने रहेको पाइएको छ। ‘सेजको गुरुयोजनाले समेत पाँचखालमा बाँसजन्य, काष्ठ उद्यमका साथै फर्निचरलगायत सामग्रीका उद्योग उपयुक्त हुने देखाएको छ,’ उनले भने।

निजी क्षेत्रमात्रै नभई काभ्रेका स्थानीय निकायसमेत चिनियाँ लगानी र प्रविधि जिल्लामा ल्याउनका लागि सहकार्यको पुनरावलोकन गर्न थालेका छन्। बनेपा नगरपालिकाले चीनको सिगात्से नगरसँगको १८ वर्ष पुरानो भगिनी सम्बन्धको हालै त्यहाँ पुगेर नवीकरण गरेको छ।

‘विगतको सम्झौताअनुसार द्विपक्षीय हितका कुरा हुने भए नै। त्यसबाहेक उनीहरुले काभ्रे जिल्लामा के–कस्तो लगानी र प्रविधिले उद्योग व्यवसाय गर्न सकिन्छ भन्नेबारे विशेष छलफल र चासो राखेका थिए। यसबाट समेत चिनियाँ हामीकहाँ लगानीका लागि इच्छुक भएका पायौं’, नगरपालिकाका वरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपालले भने।

प्रकाशित: १३ माघ २०७३ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App