coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सहारा उपाधि नजिक

पोखरा- आयोजक सहारा क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सहाराले फाइनल यात्रा तय गर्नुका साथै गतवर्ष सेमिफाइनलमा हारको साटो फेरेको छ।

आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औं संस्करणको विजेता हो। गतवर्ष सेमिफाइनलमा आर्मीसँग पराजित भएर सहारा बाहिरिएको थियो। सहाराको यो तेस्रो फाइनल यात्रा हो। बुधबार निर्धारित समयमा आर्मी–सहारा खेल गोलरहित सकियो। त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा आर्मीका जीतेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामाले गोल गरे। दीपक गुरुङको प्रहार आकासियो भने गोलरक्षक विकेश कुथुको प्रहार सहाराका गोलरक्षक सुजीत गुरुङले बचाउ गरे।

सहाराका सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र उत्तम गुरुङले गोल गरे भने लक्ष्मण जिसीको प्रहार आर्मीका गोलरक्षक कुथुले बचाउ गरेका थिए। अतिरिक्त समयको अन्तिम मिनेटमा सहाराका बबिले आर्मीका भरत खवासलाई फाउल हानेपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए।

बुधबारको खेलमा सहाराका गोलरक्षक सुजीत गुरुङ नै म्यान अफ दि म्याच भए। फाइनल पुगेको सहाराले बिहीबार हुने दोस्रो सेमिफाइनलको लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी र सिएमजी संकटाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ। फाइनल शनिबार हुनेछ।

प्रतियोगितामा आर्मी ३ पटकसम्म फाइनलमा पुगेको छ। फाइनलमा पुगे पनि आर्मीले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन। सहारासँगको खेलमा आर्मीले सुरुदेखि नै गोल गर्न पाएका अवसर चुकाउँदा उपाधि यात्रामा पूर्णबिराम लाग्न पुग्यो।

आर्मीका दीपक गुरुङले खेलको २९ औं मिनेटमा हानेको लामो सशक्त प्रहार सहाराका गोलरक्षक सुजीतले कठिनतापूर्वक बचाउ गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा दीपकुमार लामाको सशक्त प्रहार पनि विपक्षी गोलरक्षकले जोगाए। लगत्तै सन्तोष तामाङको फ्रिकिक पनि गोलरक्षकले नै गोल हुनबाट रोके। खेलको ६७ औं मिनेटमा दीपकै पासमा टेकबहादुर बुढाथोकीको प्रहार सहाराका गोलरक्षक सुजीतको खुट्टामा लागेर फर्केको थियो।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सहाराको रक्षात्मक खेल्ने रणनीतिका कारण गोल गर्न नसकेको बताए। 'बलमा हाम्रो नियन्त्रण हुँदाहुँदै पनि विपक्षी टिमले पूरै रक्षात्मक खेल्यो। त्यसले गर्दा पाएका अवसरलाई गोलमा बदल्न सकिएन,' न्यौपानेले भने, 'विपक्षी टिमले डिफेन्सिभ खेल्दा स्ट्राइकरले प्रहार गर्नै सकेनन्। सहाराले समय खर्चेर टाइब्रेकरमा जाने योजनामात्र बनायो। त्यसले गोल हुन सकेन।'

दोस्रो हाफमा आर्मीले सहारालाई बढी दबाबमा राखेको थियो। तर गोल गर्न नसकेपछि अतिरिक्त समयमा आर्मी केही दबाबमा खेलेको थियो। सहाराले रक्षात्मक खेलेर खेलाडी डिफेन्समा थुपारेको आर्मीका प्रशिक्षक न्यौपानेले बताए। 'सहाराको डिफेन्स चिरेर साइडबाट खेल्दा गोल गर्न सकिएन,' उनले भने।

आर्मीको दाँजोमा सहाराले खासै अवसर पाएको थिएन। खेलको १६ औं मिनेटमा उत्तम गुरुङको कर्नरमा आशिष गुुरुङले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासिएको थियो। इन्जुरी समयमा उत्तमकै कर्नर प्रहार आर्मीका गोलरक्षक विकेशले उत्कृष्ट बचाउ गरेका थिए।

उपाधिनजिक पुगेको सहाराका प्रशिक्षक किरण श्रेष्ठले रिस्क नलिइ खेलेकाले सफल भएको बताए। 'हामीले रक्षात्मक खेललाई नै प्राथमिकता दिएका हौं। टाइब्रेकरमा जाने योजनाले नै अतिरिक्त समयमा पूरै डिफेन्सिभ खेलेका हौं,' उनले भने, 'टिममा अनुभवी खेलाडीको कमीले पनि रिस्क नलिएर टाइब्रेकर पर्खियौं।' उनले अर्को सेमिफाइनल हेरेपछि मात्र फाइनलका लागि रणनीति बनाउने उनले बताए। प्रतियोगितामा बिहीबार हुने दोस्रो सेमिफाइनलमा लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी र सिएमजी संकटाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १३ माघ २०७३ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App