७ वैशाख २०८१ शुक्रबार
खेल

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

काठमाडौं- दोस्रो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबलको फाइनलमा फेरि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल खेल शुक्रबार हुनेछ। गत वर्षको फाइनलमा आर्मीले पुलिसलाई सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।

बुधबार ललितपुरको लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा आर्मीले पश्चिमाञ्चललाई सोझो सेटमा २५–१७, २५–१९, २५–१६ ले हरायो।

पुलिसले भने उत्कृष्ट पुनरागमन गर्दै विभागीय प्रतिद्वन्द्वी एपिएफलाई ३–२ को सेटमा हरायो। सुरुआती २ सेट गुमाइसकेको अवस्थामा पुलिसले तेस्रो सेटबाट खेलमा उत्कृष्ट कमब्याक गरेको थियो। सुरुका २ सेट एपिएफले २७–२५, २५–२१ ले जित्यो। तर तेस्रो सेटदेखि लगातार हाबी भएको पुलिसले २५–२१, २५–१८, १५–७ ले खेल जित्यौ। पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले क्विक स्पाइकर द्वारिका थापा र स्पाइकर राजु शेरचन खेलको नायक भएको बताए। 'खुसी छु। नयाँ खेलाडीले सेमिफाइनलको नतिजा परिवर्तन गरे। तेस्रो सेटमा द्वारिकाले स्पाइकबाट ४ अंक लिएपछि हामी खेलमा हाबी भयौं। त्यसपछि टिमले त्यही लयमा खेल्यौ, श्रेष्ठले भने, 'यसअघि हामीलाई सिनियर खेलाडीको अनुपस्थितिले समस्या भएको थियो, तर आज नयाँ खेलाडीले त्यो अभाव महसुस हुन दिएनन्। पुलिसको बेन्च बलियो हुँदै गएको छ। यो हाम्रा लागि सुखद संकेत हो।'

श्रेष्ठ नेपाली टोलीका पूर्व स्पाइकर हुन्। उनले नवौं, १० औं र ११ औं सागमा नेपाली टोलीबाट खेलेका थिए। खेल करियरपश्चात् सरोजले गत वर्षदेखि पुलिसको पुरुष टोलीको प्रशिक्षकका रुपमा काम गर्दै आएका छन्।

बुधबार सुरुका २ सेट गुमाएपछि श्रेष्ठले स्पाइकर दीपक जोशीको स्थानमा द्वारिकालाई कोर्टमा प्रवेश गराएका थिए। द्वारिकाको स्पाइक विपक्षीले रोक्न नसकेपछि खेलको नतिजा उल्टिएको थियो। तेस्रो सेटमा प्रशिक्षक श्रेष्ठले बायाँहाते स्पाइकर देव शर्मालाई प्रयोग गरे। यो पनि खेलमा पुलिसलाई सुदृढ पार्ने निर्णय साबित भयो। पुलिसका चन्द्र कुँवर र देव शर्मा राष्ट्रिय टोलीका पनि ओपन स्पाइकर हुन्। दुवैले एउटै पोजिसनबाट खेल्ने भएकाले सुरुआतमा चन्द्रले पहिलो रोजाइबाट खेलेको थिए। चौथौ सेटमा भने चन्द्रको स्थानमा पुलिसले स्पाइकर राजु शेरचनलाई कोर्टमा पठायो। राजुले स्पाइकमा सशक्त प्रदर्शन गर्दै पुलिसलाई फाइनल पुर्‍याउन योगदान गरे।

गत वर्ष प्रधानसेनापति कपका दौरान पुलिसका मुख्य स्पाइकर चन्द्र घाइते भएका थिए। चन्द्र घाइते भएपछि पुलिस कमजोर देखिएको थियो। मुख्य स्पाइकर सञ्जय अर्यालले टोली छाडेपछि पुलिसको स्पाइकिङ पोजिसन बलियो देखिएको थिएन। तर प्रशिक्षक श्रेष्ठले नयाँ खेलाडीले अब आत्मविश्वासपूर्वक स्पाइक गर्न थालेको बताए। उनले भने, 'सिनियर खेलाडीले छाडेपछि टिममा केही समस्या त हुन्छ। तर त्यो समस्या न्यून हुँदै गएको छ। पछिल्लो एक वर्षमा हामीले ३ उपाधि जित्यौं, अन्य प्रतियोगिता हारेका छौं। त्यसको कारण प्रदर्शनमा एकरुपता कायम गर्न नसक्नु हो।' श्रेष्ठको प्रशिक्षणमा पुलिसले नयाँ बजार भलिबल प्रतियोगिता र बुटबलमा भएको राष्ट्रिय खुला भलिबल तथा झापामा भएको एनभिए लिग जितेको थियो।

पुलिसजस्तै एपिएफमा पनि सिनियर खेलाडीको कमी छ। यसले गर्दा एपिएफ पनि घरेलु भलिबलमा उपाधि जित्न संघर्षरत छ। पछिल्लो समय आर्मी नेपालको नम्बर एक टोलीका रुपमा देखिएको छ। आर्मीका ७ खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने गरेका छन्।

राष्ट्रिय टोलीको कप्तान समेत रहेका कैलाश भंट २ वर्षअघि एपिएफ छाडेर अमेरिका गएका थिए। त्यसपछि पछिल्ला वर्ष एपिएफका मुख्य खेलाडी सेटर खुसी चौधरी, डायमन्ड बस्नेत, सुनिल श्रेष्ठ, राज चौधरी, इश्वर घमाल, प्रज्ञा नकर्मीले पनि क्लब छाडे। त्यसले एपिएफलाई घरेलु भलिबलमा कमजोर बनाएको थियो। एपिएफ टोलीमा अहिले पनि अनुभवी खेलाडीको कमी छ। टोलीमा स्पाइकर महेन्द्र श्रेष्ठ, मिलन मल्ल र सुरेश चौधरीबाहेक अन्य सबै खेलाडी नयाँ छन् ।

एपिएफका व्यवस्थापक विजय केसीले अनुभवी खेलाडीको कमीका कारण जितेको खेल गुमाउनु परेको बताए। उनले भने, 'सुरुका २ सेट जितेर पनि हामी सेमिफाइनलबाट बाहिरियौं। सेटर तेस्रो सेटदेखि नर्भस भयो। उसले सही निर्णय लिन नसकेपछि हाम्रो स्पाइक कमजोर भयो।'

मुख्य स्पाइकर मिलन मल्ल पूर्ण फिट नहुँदा पनि समस्या परेको केसीले बताए। उनले भने, 'मिलन अहिले पूर्ण रुपमा फिट छैनन्। पेटको पत्थरीका कारण उसले शतप्रतिशत प्रदर्शन गर्न सकेको छैन।'

प्रकाशित: १३ माघ २०७३ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App