१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चर्चा ब्राजिलको

इभियान– विश्व विजेता जर्मनी बिहीबार युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक फ्रान्सको सामना  गर्ने तयारीमा रहँदा त्यहाँ ब्राजिलको चर्चा सुरु भएको छ।

दुई वर्षअघि विश्वकप सेमिफाइनलमा जर्मनीले घरेलु टोलीलाई ब्राजिललाई स्तब्ध पारेको थियो।

इटाली जस्तो बलियो टोलीमाथि कीर्तिमानी जित दर्ता गरेको जर्मनी त्यस्तै अर्को परीक्षाका लागि तयार देखिन्छ । यद्यपि टोलीका रक्षक म्याट हुमेल्स प्रतिबन्धमा छन् स्ट्राइकर मारियो गोमेज र सामी खेडिरा चोटका कारण नखेल्ने सम्भावना छ । पूर्ण रूपमा फिट नरहेका कप्तान बास्टियन स्वास्टाइगरको पनि खेल्नेमा शंका छ । त्यसका बाबजुद पनि जर्मनी टोली फ्रान्सको चुनौतीलाई तयार रहेको दाबी गरिरहेको छ।

प्रशिक्षक जोचिम लोउले दुई वर्षअघिकै परिस्थिति र अहिले समान रहेको बताएका छन् । त्यति बेला जर्मनीले ब्राजिललाई ७–१ ले हराएको थियो । फ्रान्सले सोमबार सेमिफाइनलमा तुलानात्मक कमजोर टोली आइसल्यान्डलाई ५–२ ले हराएर अघि बढेको छ । त्यो जितले टोलीको आशा थपिएको लोउको बुझाइ छ।

‘रंगशालामा आउने धेरै दर्शक फ्रान्स टोलीको पछाडि हुनेछन् । देशवासी पूरै उत्साहित छन्, त्यसले टोलीमा शक्ति भरेको छ,’ सहज रूपमा लिने प्रयास गर्दै लोउले भने, ‘त्यो राम्रो पनि हो । ब्राजिलमा पनि परिस्थिति ठ्याक्कै त्यस्तै थियो । २० करोडको समर्थक त्यो टोलीलाई थियो, त्यस बाबजुद पनि हामी सफल भयौं ।’

ब्राजिललाई ७–१ ले हराएजस्तै फ्रान्सलाई पनि त्यही अन्तरमा हराउन सकिन्छ भन्नेमा जर्मनी छैन । तर लोउ चुनौती स्विकार्न तयार रहेको बताउँछन् ।

‘जितले फ्रान्सेली टोलीको मनोबल उच्च छ,’ लोउले थपे, ‘हामी जुन परिस्थितिबाट गु्रजिएका छौं । त्यसका बाबजुद पनि हामी के गर्न सक्छौं भन्ने उनीहरूलाई थाहा छ । हामी खेलको व्यग्र प्रतीक्षामा छौं।’

गोमेजको ठाउँ लिने मारियो गोइट्जेले फरवार्डलाइनमा थोमस मुलरलाई साथ दिनेछन् । लोउले ४–४–२ को पद्धतिमा फ्रान्सविरुद्ध उत्रने संकेत गरेका छन् । इटालीसँगको क्वार्टरफाइनलमा भने टोली ३–५–२ को पद्धतिमा उत्रेको थियो । मध्यपंक्तिमा भने नयाँ खेलाडीले मौका पाउनेछन् । लिभरपुलका इदर इमरे कान वा बोरुसिया डर्टमन्डका टोनी क्रुस जोडी बनेर खेल्नेछन् । डिफेन्सिभ मिडफिल्ड र स्वास्टाइगरको अनुपस्थितिमा लोउले उनीहरूलाई विकल्पका रूपमा हेरेका छन् ।

‘हामी केही परिर्वतन गर्दैछौं र समस्याको समाधान खोज्नेछौं,’ उनले खेलाडीप्रति विश्वास दर्शाउँदै भने, ‘टोलीका हरेक खेलाडीप्रति विश्वास गर्छु । तर म त्यस्तो खेलाडीलाई उतार्दिनँ जो शतप्रतिशत फिट छैनन्।’

लोउले फ्रान्सेली फरवार्डलाइनको खुलेर प्रशंसा गरेका छन् । आइसल्यान्डविरुद्ध ओलिभर जिरौड, दिमित्री पायेट, एन्टोनी ग्रिजम्यान तीनैजनाले गोल गरेका थिए । तर, यही च्याम्पियनसिपका क्रममा ठूलो प्रतियोगितामा कहिलै जित्न नसकेको इटालीलाई जर्मनीले यसपटक निराश पारेको छ । अर्कोतर्फ फ्रान्स भने जर्मनीसँग बदला लिन प्रतीक्षारत छ ।

हुमेल्सको हेड गोलमा जर्मनीले २०१४ को विश्वकप क्वार्टरफाइनलमा फ्रान्सलाई हराएको थियो । त्यस्तै १९८२ को विश्वकपको विवादास्पद सेमिफाइनलको टाइब्रेकरमा जर्मनीसँग फ्रान्स पराजित भएको थियो । थप समयमा ४ गोल भएको त्यो सेमिफाइनल ३–३ को बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा जर्मनी ५–४ ले विजयी भएको थियो।

 

 

प्रकाशित: २२ असार २०७३ ०३:४१ बुधबार

चर्चा ब्राजिलको