८ वैशाख २०८१ शनिबार
राजनीति

स्ववियु चुनाव फागुन १४ गते

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गतेका लागि तोकेको छ। यस्तै  निर्वाचनका लागि उम्मेदवारको उमेर हदबन्दी २८ वर्ष कायम गर्ने विषयमा विद्यार्थी संगठनहरू सहमत भएका छन्।

उमेर हदबन्दीका विषयमा कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ असहमत रहँदै आए पनि चुनाव मिति तोकिएसँगै सहमत भएको छ। नेविसंघका सभापति नैनसिंह महरले उमेर हदबन्दीका कारण चुनाव नरोकिने बताए।

उनले विगत ८ वर्षदेखि स्ववियु चुनाव नहुँदा विद्यार्थी राजनीतिको अस्तित्व हराउँदै गएकाले तोकेकै मितिमा चुनाव गराउन नेविसंघ सहयोग गर्न तयार रहेको बताए। 'संविधान कार्यान्वयनको पहिलो पाटो स्ववियु चुनाव हो', सभापति महरले नागरिकसँग भने।

देशका  ८८ प्रतिशत कलेजमा आफ्नो संगठनको वर्चस्व रहेको दाबी नेविसंघले गरेको छ। नेविसंघले सभापति महरको संयोजकत्वमा ७ हजार १ सदस्यीय मूल तयारी समीति गठन गरी चुनावमा उत्रने तयारी गरेको छ।

सभापति महरका अनुसार देशभरिका कलेजमा नेविसंघका १० लाख सदस्य छन्। संगठनको चुनावी घोषणापत्र बनाउने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष महरले बताए।

संघको चुनाव तयारी समितिले चुनाव प्रचारका लागि देशभरिका कलेजमा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। 'नेविसंघले डिजिटल सदस्यता प्रमाणपत्र दिने कार्य अघि बढाएको छ,' महरले भने, 'निर्वाचन आचारसंहिता बनाइएको छ।' नेविसंघले रोजगारमूलक, मानवतावादी र वैज्ञानिक शिक्षाका पक्षमा चुनावी रणनीति बताएको छ।

एमाले भ्रातृसंगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले तोकेकै मितिमा मिश्रित प्रणालीबाट चुनाव गराउन संगठन जुटिसकेको बताइन्। उनका अनुसार अनेरास्ववियुले चुनाव प्रचारका लागि सामाजिक सञ्जाललाई प्रमुख रूपमा प्रयोग गर्न लागेको बताइन्। त्रिविले स्ववियु निर्वाचनमा भित्तेलेखन, पोस्टर, पम्पलेटलगायतमा प्रतिबन्ध लगाएको छ।

'सबै विद्यार्थी संगठनबीच कुरा मिल्यो। देशभरिका ७५ प्रतिशत कलेजमा अनेरास्ववियुको वर्चस्व छ,' अध्यक्ष लामाले भनिन्, 'निष्पक्ष र धाँधलीरहित चुनाव गराउन विद्युतीय मेसिन प्रयोग गर्नेछौं। यसले पैसाको बलमा नक्कली विद्यार्थी किनेर चुनाव जित्ने परम्परा अन्त्य हुने उनले बताइन्। देशभरका क्याम्पसमा अनेरास्ववियुका १० लाख सदस्य रहेको उनको दाबी छ।

माओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियु निर्वाचनका लागि सातै प्रदेशमा कार्यशाला सम्पन्न गरेको जानकारी दिए । संगठनले अध्यक्ष न्यौपानेको संयोजकत्वमा ५ हजार ४ सय ४३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। चुनावी प्रतिस्पर्धामा उत्रन सबै कलेज प्रतिनिधिलाई निर्देशन दिइसकेको जानकारी न्यौपानेले दिए।

संगठनका कारण चुनाव नरोकिने भन्दै उनले छिट्टै चुनावी कार्यतालिका सार्वजनिक गर्न विश्वविद्यालयसँग माग गरे। '५१ प्रतिशत कलेजमा क्रान्तिकारी विद्यार्थी संगठनको वर्चस्व छ,' न्यौपानेले भने। उनले क्रान्तिकारीले फागुन १ गते उम्मेदवारको नामावली सार्वजनिक गर्ने जानकारी दिए। अध्यक्ष न्यौपानेले भने, 'विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विश्वविद्यालय क्याम्पसभित्रै रोजगारीको सुनिश्चिततासहितको मुख्य रणनीतिसाथ हामी चुनावमा उत्रनेछौं।'     

त्रिभुवन विश्वविद्यालय पनि चुनावको कार्यतालिका तयारीमा जुटेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरले माघ १४ गते कार्यतालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको बताए।

'चुनावको एक महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने नियम छ,' निर्देशक थापामगरले भने, 'त्यहीअनुसार हामी तयारीमा छौं।' उनले माघ अन्तिमसम्म सबै कलेजमा चुनाव गराउन कार्यतालिकाअनुसार पत्राचार गरिने बताए। स्ववियु चुनाव निष्पक्ष र धाँधलीरहित सम्पन्न गराउन त्रिविले हरेक प्रयास गर्ने उनले बताए।

प्रकाशित: १३ माघ २०७३ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App