काठमाडौं-नारायणहिटी दरबार वरिपरिको पर्खाल गत वर्षको भूकम्पले भत्कायो। केही ठाउँमा जगैदेखि भत्केको छ भने केही ठाँउमा चर्केको छ। जगैदेखि भत्केको ठाउँमा इँटामात्र राखेर पर्खालजस्तो बनाइ काँडेतार लगाएर छेकबार गरिएको छ।
कुनै बेला पनि ढल्ने अस्थायी र चर्केको पर्खालले नारायणहिटी दरबारको बाहिरी स्वरुप कुरुप बनाउनुका साथै बाटो हिँड्न जोखिमपूर्ण बनाएको छ । त्यही बिगे्रको र चर्केको पर्खालसँगको फुटपाथ भने हेर्नलायक छ। टायल बिछ्याएर फरक क्षमता भएका र दृष्टिविहीन समेत हिँड्न सहज हुने गरी फुटपाथ बनाइएको छ। दरबारको चारैतिर बनाउन लागिएको फुटपाथ अहिले लैनचौरदेखि उत्तरढोका हुँदै गैरीधारासम्म निर्माण सम्पन्न भइसकेको छ । फुटपाथसँगै काठमाडौं दिगो सहरी यातायात परियोजनाले रेलिङ समेत हालिरहेको छ।
आयोजनाले फुटपाथ निर्माण गरिरहेको हो । फुटपाथ निर्माण कार्य राम्रो भएता पनि फुटपाथभन्दा पहिले पर्खाल पुनर्निर्माण गर्नु आवश्यक देखिन्छ । त्यसो त बनिरहेको फुटपाथमा पनि पर्खाल बनाउँदा असर पर्ने अनुमान विज्ञको छ । ‘हाम्रो स्टेटमेन्टमै फुटपाथ बनाउने मात्रै छ,’ आयोजना प्रमुख दीपक श्रेष्ठले भने, ‘पर्खाल थोरै भए त हामी नै पनि बनाउन सक्थ्यौं तर धेरै भएकाले बनाउन सकिएन,’ श्रेष्ठका अनुसार पर्खाल पुनर्निर्माण गर्दा फुटपाथ जोगाएर काम गर्नुपर्छ । पर्खाल निर्माणपछि फुटपाथ निर्माण गर्दा हुन्थ्यो तर श्रेष्ठ भन्छन्, ‘पर्खाल पुनर्निर्माणमा ढिलाइ हुने देखियो उता फुटपाथको टेन्डर भने भइसकेकाले काम थालेका हौं ।’ एसियाली विकास बैंकको अनुदानमा सञ्चालित परियोजनाले अनुदान सक्न हतार हतार फुटपाथ बनाएको हुनसक्ने जानकार अनुमान गर्छन् । परियोजनाले दरबार क्षेत्रसहित सुन्धारा, बसपार्क, भद्रकालीलगायत क्षेत्रमा पनि फुटपाथ बनाइरहेको छ ।
पर्खाल किन पुनर्निर्माण भएन
भूकम्पले भत्केको पर्खाल अहिले अस्थायी बनाएर कामचलाउ गरिएको छ । केही ठाउँमा जगैदेखि भत्केको पर्खाल केही ठाउँमा भने चर्केर धराप बनेको छ । ‘पुनर्निर्माणका लागि बजेट माग गर्दै पर्यटन मन्त्रालयमा फाइल पठाएको महिनौं भइसक्यो,’ नारायणहिटी दरबार संग्रहालय प्रमुख रोहितकुमार ढुंगानाले भने, ‘बजेट नआएर हो, आउनसाथ पर्खाल पुनर्निर्माण थालिन्छ ।’ ढुंगानाले जनाएअनुसार बजेट पारित हुनेबित्तिकै ताकेता गरेर आगामी आवभित्र पर्खाल पुनर्निर्माण गरिनेछ । अब निर्माण गरिने पर्खाल भूकम्पप्रतिरोधी हुने पनि उनले जानकारी दिए ।
पर्यटन मन्त्रालयका अनुसार केशरमहल, उत्तरढोकालगायत केही ठाउँका साँघुरा सडक विस्तार गर्नुपर्ने भएकाले सम्बन्धित निकायसँग समझदारी भइरहेकाले पर्खाल पुनर्निर्माणमा ढिलाइ भएको हो । ‘भौतिक तथा योजना मन्त्रालयले सडक विस्तार गर्नुपर्ने योजना अगाडि बढाएको छ,’ पर्यटन मन्त्रालयका सचिव पे्रमकुमार राईले भने, ‘अहिले पुनर्निर्माण गर्दा केही समयपछि भत्काउनुपर्ने हुन्छ, तसर्थ नगरेको हो ।’ उनका अनुसार सडक विस्तारको लागि छलफल भइरहेकाले चाँडै काम अगाडि बढ्ने छ । उसो त सडक विस्तारको क्रममा अहिले बनिरहेको फुटपाथ समेत भत्काउनुपर्ने देखिन्छ । ‘सडक विस्तार गरेपछि फुटपाथ त स्वतः भत्किहाल्छ ।’ सचिव राईले भने । यता आयोजनाले भने सडक विस्तार गरिने ठाउँ छलेर आफूले फुटपाथ निर्माण गरेको दाबी गरेको छ।
प्रकाशित: २२ असार २०७३ ०३:०४ बुधबार