coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अझै निर्माण सुरु भएन सगरमाथा जाने पुल

सोलुखुम्बु- उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ ।

दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो । २०७३ असार २० गते सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाको अहिलेसम्म कुनै काम हुनसकेको छैन ।

सो पुल सम्पन्न गरिसक्ने अन्तिम मिति समेत गुज्रिएको सात महिना बितिसकेको छ । योजनाका लागि पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि अहिलेसम्म उपभोक्ता समितिका पदाधिकारी जिविसको सम्पर्कमा आएका छैनन् । पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना निर्माण गरिएको थियो ।

उपभोक्ता समितिसँग रु ५० लाख ४२ हजारमा सो योजना सम्झौता भएको थियो । ६८ मिटर लामो सो पुल निर्माण नहुँदा खुम्बु भ्रमणमा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । गएको वर्षात्मा सोही स्थानबाट खोलामा खसेर एकजना विदेशी पर्यटक बेपत्ता भएका थिए ।

सँगै सम्झौता गरिएको चौरीखर्कको पुल निर्माण भएर प्रयोगमा आइसक्दा पनि उक्त पुल निर्माणको सुरसार नहुँदा स्थानीय वासिन्दा र पदमार्गमा हिँड्ने पदयात्री खिन्न भएको पथप्रदर्शक तिलक बस्नेतले गुनासो गरे।
यता जिल्ला प्राविधिक कार्यालय सोलुुखम्बुका प्रमुख इन्जिनियर पुष्करप्रसाद पोख्रेलले भौगोलिक कठिनाइकै कारण अनुगमनमा जान नसकिएको बताए। रासस

प्रकाशित: १२ माघ २०७३ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App