भक्तपुर-राजधानी काठमाडौंसँग जोडिएको भक्तपुरको बालकोट क्षेत्र देशका विशिष्ट र उच्चपदस्थ व्यक्तित्वहरू (भिआइपी)को बसोबासको केन्द्र बनेको छ। काठमाडौंबाट करिव ९ किलोमिटर र भक्तपुर सदरमुकामबाट करिव ७ किलोमिटरको दुरीमा रहेको साविकको बालकोट गाविस (हाल अनन्तलिंगेश्वर नगरपालिका)मा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि दर्जनौं उच्चपदस्थ व्यक्तित्वको बसोबास छ । मन्त्री, सांसद, सुरक्षा अधिकारी, कलाकार, पत्रकार, उच्चपदस्थ कर्मचारी, पूर्वमन्त्री, पूर्वसांसद, प्रशासक, सेना र प्रहरीका उच्च अधिकारीको बसोबास पनि उत्तिकै छ बालकोटमा।
बालकोटमा प्रधानमन्त्री ओली, संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सांसद एवं पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह र पूर्वमन्त्री एवं सांसद उर्मिला अर्यालको बसोबास छ । पूर्व अर्थसचिव एवं नयाँ शक्ति नेपालका नेता रामेश्वर खनाल, वनमन्त्री अग्नी सापकोटा, नेकपा माओवादी केन्द्रका महासचिव एवं पूर्वमन्त्री कृष्णबहादुर महरा पनि बालकोटमा नै बस्छन् ।
पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्य र धर्मेन्द्र झा पनि बालकोटमा नै बस्छन् । थाहाखबर अनलाइनका सम्पादक तीर्थ कोइराला, देशान्तर साप्ताहिकका प्रधान सम्पादक कबिर राणा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार एवं पत्रकार गोपाल खनाल, पत्रकार पुष्कर बुढाथोकी, नेपाल टेलिभिजनका पत्रकार पुष्पहरि क्याम्पाराईलगायत पत्रकारको बसोबास स्थल पनि बालकोट नै हो ।
महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख सई निरेन श्रेष्ठका अनुसार यसबाहेक पनि बालकोटमा दर्जनौं उच्चपदस्थ सुरक्षा अधिकारीको पनि बसोबास छ । पूर्व एसपी, एसएसपी, डिआइजी, आइजीसमेत बालकोटमा बस्छन् । प्रहरीका पूर्व एआइजी कृष्ण बस्नेत, शेरबहादुर शाह, एसपी विष्णुहरि गौतम र सहायक रथी विजय मोक्तानलगायत दर्जन बढी सेनाका अधिकारीको बसोबास पनि बालकोट नै हो ।
सचिव उत्तम भट्टराई र शान्तबहादुर श्रेष्ठको बसोबास पनि बालकोटमा छ । नायब महान्यायाधीवक्ता प्रेमराज कार्की, न्यायाधीश भोजराज न्यौपाने, पूर्णदास श्रेष्ठ, भोला शिवाकोटी, अखिलेश्वरलाल कर्ण, देवीप्रसाद बराकोटी र गोपाल बस्नेतलगायत एक दर्जनभन्दा बढी सहसचिव र उपसचिवको बसोबास पनि बालकोटमा नै छ ।
बाग्मती होम्स प्रालिले निर्माण गरेको बालकोटस्थित रोज भिलेज लक्जरी होम्स हाउजिङ कोलोनीमा चर्चित हास्य कलाकार हरिवंश आचार्यको बसाइ छ । भक्तपुर इँटा तथा टायल कारखानाका प्रबन्धक दुर्गाप्रसाद मल्ल पनि बालकोट नै बस्छन् ।
काठमाडौंनजिक रहेको, सडक, खानेपानी, विद्युत र सञ्चार, शिक्षा तथा सुरक्षा व्यवस्था राम्रो भएका कारण त्यहाँ बसोबास गर्ने उच्चपदस्थ अधिकारीको संख्या बढेको बताइएको छ । अनन्तलिंगेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साल काठमाडौं, कोटेश्वरसँग जोडिएको बालकोट अहिले प्राइम लोकेसन बनेको बताउँछन् ।
साविकको बालकोट, दधिकोट, गुन्डु र सिरुटार चारवटा गाविस मिलाएर पछिल्लो पटक अनन्तलिंगेश्वर नगरपालिका घोषणा भएको थियो । पूर्ववत बालकोट गाविस पूर्वमा दधिकोट, पश्चिममा गोदावरी खोला तथा टिकाथली र मध्यपुर थिमि नगरपालिका, उत्तरमा हनुमन्ते खोला तथा मध्यपुर थिमी, नगरपालिका र दक्षिणमा ढुंगे्रखोला, चरखण्डी खोला तथा सिरुटार, दधिकोट र टिकाथली पर्छन् ।
प्रकाशित: २२ असार २०७३ ०३:०१ बुधबार