७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा अब ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेसन’

काठमाडौं-काठमाडौंमा बढ्दो ट्राफिक जाम व्यवस्थित गर्न सरकारले उपत्यकाका ३५ वटा चोकमा उच्च प्रविधिको ट्राफिक बत्ती जडान गर्ने भएको छ। मुख्यचोकमा रहेका ट्राफिक लाइट बिग्रिएपछि अन्तर्राष्ट्रियस्तरको ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ जडानको तयारी थालिएको हो।

काठमाडौं सहरी यातायात आयोजना, आयोजना कार्यान्वयन इकाइले यसका लागि ठेकेदार कम्पनीको छनोट प्रक्रिया भइरहेको जनाएको छ । ‘ठेक्का प्रक्रियाको प्राविधिक र आर्थिक मूल्यांकन भइरहेको छ,’ इकाइ योजना प्रमुख खड्गलाल श्रेष्ठले भने, ‘केही दिनभित्रै ठेक्का प्रक्रिया टुंग्याएर काम थाल्नेछौँ ।’

एसियाली विकास बैंकको ऋण तथा अनुदानमा त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, सुन्धारा, न्युरोड, रत्नपार्क, जमलचोक, भोटाहिटी, केशलमहल, लाजिम्पाट, माइतीघर, पुतलीसडक, टेकु, कालीमाटी, दरबारमार्ग लगायत मुख्य–मुख्य चोकमा नयाँ लाइट जडान गरिनेछ ।

काठमाडौं दिगो सहरी यातायात आयोजना, आयोजना व्यवस्थापन तथा समन्वय निर्देशक दीपक श्रेष्ठले लाइट जडानका लागि लागत अझै टुंगो नलागेको  बताएका छन् । ठेक्का सम्झौता भएको एक वर्षभित्रै लाइट राख्ने लक्ष्य रहेको उनको भनाइ छ । जसको तयारीको रुपमा अहिले काठमाडौंको घन्टाघर, जमल लगायत स्थानमा आइल्यान्ड बनाउने कार्य भइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा जडान गरिएका अधिंकाश ट्राफिक संकेत बत्ती काम नलाग्ने अवस्थामा रहेको जनाएको छ । ‘हामीले केही महिनाअघि पनि मर्मत गर्न सकिन्छ कि भनेर विभागका प्राविधिक समूहसँग छलफल गरेका थियौँ, बन्ने अवस्था छैन, नयाँ जडान प्रक्रियामा छ,’ महाशाखाका डिएसपी सविन प्रधानले भने ।

उनका अनुसार कोटेश्वर–सूर्यविनायक सडकखण्डमा रहेका संकेत बत्तीमध्ये केही सञ्चालनमा छन् । यस्तै काठमाडौंभित्र पैदलयात्रीका लागि बनेका संकेत बत्ती र सवारीसाधनका लागि बनेका बत्ती सञ्चालनमा छन्। ‘संकेत बत्तीको पालना गराउन पनि प्रहरी नै सडकमा बस्नुपर्ने अवस्था छ,’ प्रधानले भने ।

के हो इन्टेलिजेन्ट ट्राफिक लाइट ?

इन्टेलिजेन्ट ट्राफिक लाइट पूर्णतः प्रविधिमा र जनशक्तिमा आधारित हुन्छ । सवारीसाधन तथा पैदलयात्रीको निगरानी गर्न प्रत्येक चोकमा सिसी क्यामेरा र सवारी डिटेक्टर जडान गरिनेछ । जसले सवारी कन्ट्रोल रुममा छिनछिनको ट्राफिक अवस्था अवगत गराउँछ । सवारीको चाप तथा ट्राफिक व्यवस्थापनको जिम्मेवारी यातायात इन्जिनियर तथा ट्राफिक प्रहरीले सम्हालेका हुन्छन् । आवश्यक अनुसार कन्ट्रोल रुमले रातो, पहँेलो र हरियो संकेत दिएर ट्राफिक व्यवस्थापन गर्नेछ ।

‘नयाँ लाइट जडान गरेपछि ट्राफिकले सडकमा हात हल्लाइरहनुपर्दैन,’ इन्जिनियर बेलबहादुर विकले भने, ‘अहिलेजस्तो घामपानी नभनी ट्राफिक आइल्यान्डमा बस्नुपर्दैन ।’ पैदलयात्रीलाई सहजै बाटो काट्न जेब्राक्रस चिह्नसँगै ‘पुस बटन’ राखिनेछ । जसलाई थिचेर पैदलयात्री बाटो काट्न सक्नेछन् भने रातमा अटोमेटिक सिस्टममा राखिनेछ ।

‘सवारीचाप भएका बेला सिसी क्यामेरा र सवारी डिटेक्टरमार्फत कन्ट्रोल रुपमा सन्देश जानेछ,’ उनले भने, ‘ट्राफिक जामको अवस्था हेरेर यातायात इन्जिनियर र ट्राफिक प्रहरीले कन्ट्रोल गर्नेछन् ।’

चोक–चोकबीच पनि लिंक गरिनेछ । एउटा चोकमा जाममा परेका सवारीसाधनलाई सकभर अर्काे चोकमा जाममा नपार्ने व्यवस्था गरिनेछ ।

 

प्रकाशित: १२ माघ २०७३ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App