७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेलाई पहिलो बनाउने मोर्चा संगठनको उद्‍घोष

पोखरा-एमालेको केन्द्रीय मोर्चा संगठनको तीनदिने भेलाले तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो दल बनाउने गरी मातहतका कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ।

भेलाले मंगलबार २० बुँदे घोषणापत्र जारी गर्दै निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै जनसंगठनबीच आन्तरिक एकता सुदृढ बनाउने निर्णय गरेको हो । एकताको बलमा मातहत सदस्यलाई निर्वाचनमा परिचालित गर्ने संगठनले जनाएको छ ।

‘पार्टीलाई पहिलो बनाउन हामी सबै लाग्नेछौं,’  घोषणापत्रमा छ, ‘त्यसका लागि सदस्य परिचालन गर्न सबैजना दत्तचित्त हुनेछौं ।’ आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक सीमालाई ख्याल गर्दै तीनवटै तह (स्थानीय, प्रदेश र संसद्) को निर्वाचनको मिति तत्काल घोषणा गर्न संगठनले सरकारसँग माग गरेको छ ।

निर्वाचनका लागि तत्काल अत्यावश्यक कानुनी प्रबन्ध मिलाउन संगठनले सरकारसँग माग गरेको पार्टी केन्द्रीय सचिव योगेश भट्टराईले बताए । एमालेले आगामी फागुन २१ गते सुरु गर्ने मेची–महाकाली राष्ट्रिय अभियान सफल पार्न सक्रियताका साथ संलग्न हुने पनि मोर्चाले प्रतिबद्धता जनाएको छ । यसक्रममा आयोजना हुने विभिन्न जिल्लाका कार्यक्रममा मोर्चा संगठनभित्रका जनसंगठनलाई प्रभावकारी रूपमा परिचालनका गर्ने गरी विभिन्न मोर्चालाई जिम्मेवारी पनि तोकिएको छ ।

निर्वाचनमा पार्टीलाई बलियो बनाउने गरी पहल गर्नका लागि सघाउने उद्देश्यले एमालेले अभियान सुरु गर्न थालेको हो । अभियानको उद्घाटन फागुन २१ गते झापामा हुनेछ भने समापन चैत ५ गते महेन्द्रनगरमा हुनेछ । उक्त अवधिमा तराई र पहाडका विभिन्न सहरमा ३० वटा आमसभा गर्ने एमालेले जनाएको छ ।

जनसंगठनको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिका साथ सम्पन्न गर्ने अभ्यास सुरु गर्ने पनि घोषणापत्रमा उल्लेख छ । ‘गुटबन्दी, हानाथाप र पदका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पार्टीमा सोहीअनुरूपको आचरण र अभ्यास प्रतिबिम्बित गराउन क्रियाशील हुनेछौं,’ घोषणापत्रमा छ ।

घोषणापत्रमा पार्टीका नेता कार्यकर्तालाई अनावश्यक तडकभडकमा नलाग्न पनि अनुरोध गरिएको छ । ‘कार्यक्रम भद्दा र खर्चिला भइरहेका छन् । मञ्चमा ठूलो संख्यामा अतिथिको भीड थुपार्ने र आसन ग्रहणमा मूल्यवान् समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्नुपर्छ,’ सचिव भट्टराईले भने, ‘यस्तो अवस्था लागू गर्दा कतिपय नेतालाई चिन्ता पर्न सक्छ । तर अब हामी सुध्रिनैपर्छ ।’

नेतालाई स्वागत गर्ने नाममा विमानस्थल र बसपार्कमा अनावश्यक भीड जम्मा हुँदै व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने परिपाटी अन्त्य गर्ने घोषणापत्रमा उल्लेख छ । ‘अनावश्यक सामीप्य दर्शाउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न हामी सहमत हुनुपर्छ,’ उनले भने।

संविधान संशोधनका नाममा सरकारले तराई–मधेस–पहाडबीच सामाजिक विद्वेष फैलाउन खोजेको मोर्चाको ठहर छ । मोर्चाले संविधान संशोधन कार्यको विरोध गरेको छ । ‘संविधान संशोधन राष्ट्रघाती प्रस्ताव भएकाले तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं,’ घोषणापत्रमा भनिएको छ, ‘तराई, मधेस, पहाड र हिमाली क्षेत्रमा रहने सबै नेपाली समुदायबीचको एकता र सामाजिक सद्भाव खलबलिनु हुँदैन ।’

भेलामा एमालेका वरिष्ठ नेताहरूले मोर्चाका पदाधिकारीलाई प्रशिक्षण दिएका थिए । विभिन्न कार्यपत्र प्रस्तुत गर्दै नेतृत्वले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने गरी अभ्यास गर्न पनि निर्देशन दिएका थिए । भेलामा पार्टीका २० वटा मोर्चा संगठनका करिब ४ सय सदस्य उपस्थित थिए ।

 

प्रकाशित: १२ माघ २०७३ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App