८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टीको सम्पत्ति खोज्दै कांग्रेस

काठमाडौं-नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित गर्दै वडा तहदेखि जिल्ला समितिसम्मको सम्पत्ति खोज्न थालेको छ।

कांग्रेसले ७५ जिल्लामा केन्द्रीय नेता खटाएर जिल्ला, क्षेत्रीय, नगरपालिका, नगरवडा समिति, गाउँ कार्यसमिति कार्यालय भवन चल, अचलसम्पत्तिलगायतको विवरण लिखित रुपमा पेस गर्न निर्देशन दिएको छ।

वडादेखि गाउँ इकाइ कार्यालयसम्मको टेलिफोन, फ्याक्स, इन्टरनेट, कार्यालय सचिव, कार्यालय सहयोगी भए/नभएको समेत विवरण बुझाउन भनिएको छ ।

जिल्ला खटिएका केन्द्रीय नेताबाट विवरण आएपछि रेकर्ड राख्ने तयारी पार्टी कार्यालयको छ । महामन्त्री शशांक कोइरालाले गएको मंसिर २१ गते पार्टीका केन्द्रीय नेतालाई चिठी पठाउँदै जिल्ला जान निर्देशन दिएका थिए । कोइरालाले जिल्ला जाने केन्द्रीय नेतालाई १७ बुँदे जिम्मेवारीसमेत दिएका थिए ।

यसरी जिल्ला खटिएका केन्द्रीय नेता आफू खटिएको जिल्लामा कम्तीमा १५ दिनदेखि एक महिनासम्म बस्नुपर्ने निर्देशन पनि उनले दिएका थिए । जिल्लामा खटिएका नेताले नगर, वडा, गाउँ इकाइ समिति तथा जिल्ला समितिको बैठक बस्ने गरे÷नगरेकोसम्म विवरण केन्द्रमा बुझाउनुपर्नेछ । यसैगरी वडा तथा गाउँ इकाइ समितिका सांगठनिक संरचना पूर्ण नभएको भए पूर्णता दिलाउन पहल गर्न पनि निर्देशन दिइएको छ । जिल्लामा खटिएका प्रतिनिधिलाई स्थानीय तहको विकास निर्माणका कामको योजनासमेत केन्द्र पठाउन भनिएको छ ।

महामन्त्रीले खटाएका नेतामध्ये आधाजसो  सदरमुकाम र आसपास गाउँमै अलमलिएको पार्टीस्रोतले जनाएको छ । खास गरी मन्त्री भएकाले कार्यव्यस्तता देखाउँदै जिल्लामा गई एक÷दुई दिन मात्र बस्ने गरेका छन् । केही मन्त्री भने आफू खटिएका जिल्लामा पटकपटक जाने गरेका छन् । जिल्ला गई पूरा एक महिना बस्ने केन्द्रीय नेता एक जना पनि नदेखिएको पार्टीस्रोतले जनाएको छ । 

‘जिल्ला खटाइएका केन्द्रीय नेतालाई पुससम्मै जिल्लामा बस्न र त्यसपछि विवरण केन्द्रमा पठाउन निर्देशन दिइएको थियो,’ पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले नागरिकसँग भने, ‘अहिलेसम्म एक जनाले पनि रिपोर्ट बुझाउनुभएको छैन।’ मुख्य सचिव कृष्ण पौडेलले भने माघ १५ पछि जिल्लामा खटिएका नेताको रिपोर्ट केन्द्रले बुझ्ने बताए।

प्रकाशित: १२ माघ २०७३ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App