६ वैशाख २०८१ बिहीबार
खेल

काठमाडौंमा पनि पिंकाथन हुने

काठमाडौं– पाँच वर्षअघि भारतको मुम्बईबाट सुरु भएको पिंकाथन यस वर्षबाट काठमाडौंमा पनि हुने भएको छ। लिजरपोर्टको आयोजना तथा नेपाल एथलेटिक्स संघको सहयोगमा हुने प्रतियोगिता फागुन १३ गते दशरथ रंगशालामा हुनेछ।

छातिको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्य लिएर हुन लागेको यो प्रतियोगिता अन्तर्गत ४ विधामा प्रतिस्पर्धा हुनेछ । महिलाहरूको मात्र सहभागिता रहने पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ।

३ र ५ किलोमिटर प्रतिस्पर्धात्मक विधा होइनन् । १० र २१ किलोमिटरमा भने व्यावसायिक खेलाडीको सहभागिता रहनेछ । २१ किलोमिटरको हाफ म्याराथन विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । हाफ म्याराथनका शीर्ष २ जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउने लिजरपोर्टका संयोजक नमराज जोशीले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले दुई खेलाडीको सम्पूर्ण खर्च बेहोर्ने बताए।

‘आजभन्दा ४७ वर्ष अघि बैतडीमा म गोठमा जन्मिएको थिए । करिब पाँच दशक वितिसक्दा पनि अझै त्यहाँ गोठमा बच्चा जन्माइन्छ । त्यसैले पनि मलाई यस्तो कार्यक्रम नेपालमा गर्नुपर्छ भन्ने लागेको हो । यस्तो कार्यक्रम गर्नु निकै चुनौतीपूर्ण थियो । तर अब काठमाडौं पहिलो अन्तर्राष्ट्रिय गन्तव्य बन्नेछ,’ जोशीले भने, ‘यो एउटा दौड प्रतियोगिता मात्र होइन । यो प्रतियोगिताले समाजमा धेरै महŒवपूर्ण सन्देश प्रवाह गर्छ । महिला सशक्तिकरण र छातिको क्यान्सरबारे जनचेतना जगाउन प्रतियोगिताले महŒवपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’

१० किलोमिटरका विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको हाफ म्यारथन दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर, बानेश्वर, तीनकुने घुमेर कोटेश्वर हुदै हनुमन्ते पुलबाट फर्केर कोटश्वर तीनकुने नघुमी बानेश्वर, माइतीघर, थापाथली हुदै रंगशालामै आएर सकिनेछ । १० किलोमिटर भने रंगशालाबाट शुरु भएर २१ किलोमिटरकै रूट तर कोटेश्वर चोकबाट फर्कर रंगशालामै आएर सकिनेछ ।  नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा दौड सुरु हुनुअघि स्वास्थ जाँचका साथै विभिन्न व्यायम क्रियाकलाप पनि गरिने आयोजकले बताए ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले यस्तो सामाजिक सन्देश प्रवाह गर्ने कार्यक्रम गर्न संघ सधैं इच्छुक रहेको बताए ।

‘हामी सधैं फरक कार्यक्रम गर्न चाहन्थ्यौं,’ अध्यक्ष शाहले भने, ‘यो प्रतियोगिता पनि खेलका साथै जनचेतनामूलक कार्यक्रम भएकाले हामी यसमा संलग्न भएका हौं । यसलाई हामी वार्षिक क्यालेन्डरमा पनि समावेश गर्नेछौं ।’

प्रकाशित: १२ माघ २०७३ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App