८ वैशाख २०८१ शनिबार
अन्य

मिटर उल्ट्याएर जनतालाई अन्धकार

काठमाडौं- ‘कसैले १० हजार दिन्छ, कसैले धेरै पनि दिन्छ, कहाँ–कहाँ ग¥यो सम्झना छैन,’ यो भनाइ प्रहरी हिरासतमा रहेका नेपाल विद्युत् प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठको हो।

‘सिल खोलेर मिटर उल्टो घुमाउने अनि काम भइसकेपछि सिल लगाएर फर्कने हो, नियमित ग्राहक नै छन्’, निजी कारमा विद्युत् मिटरको सिल र अन्य उपकरणसहित काठमाडौं उपत्यकामा घुमिरहने सुमनलाई उद्धृत गर्दै महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकारीले नागरिकसँग भने।

सुमनलाई सम्झना छैन, उनले पछिल्लो केही वर्षमा उपत्यकाका कति उद्योग, कारखाना, होटल र घरका मिटर उल्टो घुमाएर आफ्नो दुनो सोझ्याए । उनको आकसिएको आर्थिक हैसियतले अनुमान गर्न सकिन्छ– उपत्यकाका धेरै प्रतिष्ठित र अधिक मुनाफा हुने उद्योगका मिटर लामो समयदेखि उल्टो घुम्दैछन्। परिणाम सर्वसाधारणले १८ घन्टा अन्धकारमा बिताउनुप¥यो ।

सुमनजस्तै प्रहरी हिरासतमा रहेका प्राधिकरणका कर्मचारी महादेव प्रधान मकवानपुर क्षेत्रका प्रतिष्ठित हुन्। उनको आर्थिक हैसियत र हेलमेल ठूला दलका उच्च नेतासम्म रहेको उनी पक्राउपछि प्रहरीलाई आएका जिज्ञासा र अनुरोधसहितका टेलिफोन र भनसुनले प्रस्ट पार्छन् । मकवानपुरका औद्योगिक घरानासँग पारिवारिक सम्बन्ध बनाएका प्रधानले प्रारम्भिक बयानमा उल्टो घुमाएका मिटरको संख्या सम्झनै सकेनन्।

अनुसन्धानका लागि हिरासतमा रहेका प्राधिकरणका बहालवाला र पूर्वकर्मचारीले व्यक्तिगत लाभलाई महŒव दिँदा करिब नौ वर्ष अँध्यारोमा बस्नुप¥यो । साना र मझौला उद्योग पलायन भए । धेरैको रोजगारी गुम्यो । देशको आर्थिक वृद्धिदर र आर्थिक विकास ठप्प रह्यो ।

‘पक्राउ परेका कर्मचारी र उपभोक्ता देशभर भइरहेको विद्युत् चोरी र राजस्व ठगीका साना नमुना हुन्, उपभोक्तासमेत अनुसन्धानको दायरामा छन्,’ महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले भने ।

उनका अनुसार प्राधिकरणका कर्मचारी र उपभोक्ताको मिलोमतोमा विद्युत् चोरी र राजस्व ठगी भइरहेको हो । उनले भने, ‘१० लाख बिल आउने उपभोक्ताले वर्षौंदेखि केही हजारमात्र राज्यलाई बुझाउँदै आएका छन्। विद्युत् लुकाएपछि इमानदार उपभोक्ता अँध्यारोमा बस्नुपरेको रहेछ।’

महाशाखाले सरकारको उज्यालो नेपाल अभियानमा सघाउ पुर्‍याउँदै थालेको विशेष अभियानअन्तर्गत आइतबार सार्वजनिक गरेका १२ प्राधिकरणका कर्मचारीले देशका प्रतिष्ठित र अत्यधिक मुनाफा कमाउने उद्योग र कारखानासँग मिलेर विद्युत्का मिटर बिगार्दा सर्वसाधारण अन्धकारमा बस्नुपरेको यथार्थ बाहिर आएको हो ।

प्रहरीले तीन साता लामो अनुसन्धानमा देशका प्रमुख औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, ठूला होटलदेखि कारखाना र अत्यधिक बिजुली खपत हुने स्थानमा विगत १२ वर्षदेखि मिटर उल्टो घुमाएर ठगी भइरहेको भेटिएको हो ।

महानगरीय अपराध महाशाखाको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका प्राधिकरणका कर्मचारीले व्यवसायी र उपभोक्तासँग मिलेर  न्यूनतम शुल्क बुझाएर बढी बिजुली खपत गर्ने गरेको पाइएको हो । प्राधिकरणबाट उपभोक्ताको मिटर रिडिङ गर्न जाने कर्मचारीले सही विवरण र शुल्कभन्दा व्यक्तिगत मुनाफालाई सर्वोपरी ठान्दा समस्या भएको हो ।

महाशाखाले विद्युत् चुहावट र राजस्व ठगीमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा प्राधिकरण बालाजुका सुपरभाइजर कामनपा– २८ बस्ने सुमन श्रेष्ठ, प्राधिकरणका पूर्वमेन्टिनेन्स रामेछापका टहलबहादुर कार्की, प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भक्तपुर नगरकोटका भगवान पाण्डे छन्। त्यस्तै मिटररिडर सर्लाहीका महादेव प्रधान, सिन्धुपाल्चोकका अच्युत खड्का, अछामका दिलबहादुर साउद, नुवाकोटका ओम ढुंगाना, रामेछापका श्याम बस्नेत, काठमाडौंका प्रदीप शर्मा, दाङ, फूलबारीका सूर्यबहादुर थापा, काठमाडौंका ठाकुर महर्जन र मनिज श्रेष्ठ छन्।

 

प्रकाशित: १२ माघ २०७३ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App