ध्रव दंगाल
सिन्धुपाल्चोक–भोटेकोसीमा भीषण बाढी आएपछि आसपासका क्षेत्रका बासिन्दाबीच भागाभाग भएको छ।। मंगलबार राति खासातिरबाट भोटेकोसी नदीमा भीषण बाढी आएपछि बाह्रबिसे तल्लो तटीय क्षेत्रमा भागाभाग मच्चिएको हो। भोटेकोसी नदी सहतभन्दा झण्डै अरनीको राजमार्ग छुने गरी बढेपछि पाँच किलोमिटर तल खाडी चौरसम्म भागामाग मच्चिएको छ। स्थानीय बासिन्दा ज्यान जोगाउन भागेर पाँच किलोमिटर टाढासम्म पुगेका छन्।
‘खोलाको सहत बढेर आउँदा घरै बगाउला जस्ते भयो,’ भाग्दै मानेस्वाँरातिर लागेकी सृजना तिमल्सिनाले भनिन्,‘हामी सबै भागभाग गरेर पहाड चढिरहेका छौं।’ इकालका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले नदी सहत बढेसँगै बाह्रविसे तटीय क्षेत्रमा माइकिङ गरेर सर्तक रहन आग्रह गरेको बताए।
‘सबैजना खतरामा छौं आफ्नो प्रवन्ध मिलाउन भनेका छौं,’ प्रहरी निरीक्षक पाण्डले भने। उनका अनुसार भोटेकोसी देखुन्जेलसम्म त्यहाँ धमीलो पानी र माटो बगेको छ। सीमा प्रहरी चौकी कोदारीलाई सम्पर्क गर्दा तातोपानी आसपासका खोला थुनिएर फटेर बगेको जानकारी आएको बताए।
‘नदीले तान्दा बाह्रबिसकेको ग्यारेजबाट तीन चारवटा सवारी साधन बगाएको छ,’ उनले भने,‘बाह्रबिसे भन्दा केही तल प्लाइ उद्योग बगाएको छ।’ बाह्रबिसेदेखि खाडीचौरसम्मको बजार खाली छ। ज्यान जोगाउन स्थानीय भागेका छन्। तर प्रहरी निरीक्षक पाण्डे भन्छन्,’ लामोसाँघुपछि खोला फराकिलो भएकाले त्यति धेरै डराउनुपनर्दैन । तर बाह्रबिसेमा रहेका उनले यो बजार खाली भइसकेको जानकारी दिए। भोटे कोसी नदीमा ११ वर्षयता कै ठूलो बाढी आएको हो।
प्रकाशित: २१ असार २०७३ ०५:४० मंगलबार