७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल समूह एफमा

काठमाडौं- एएफसी एसिया कप छनोट फुटबलमा नेपाल समूह 'एफ'मा परेको छ। सन् २०१९ मा संयुक्त अरब इमरेट्स (युएई)मा हुने प्रतियोगिताका लागि सोमबार दुबईमा खेल तालिका सार्वजनिक भएको थियो। नेपालले समूह 'एफ'मा यमन, ताजिकिस्तान र फिलिपिन्ससँग होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ। समूह विजेता र उपविजेता टोलीले फाइनल चरण खेल्ने अवसर पाउनेछन्। नेपालले छनोट चरणको पहिलो खेल मार्च २८ मा फिलिपिन्समा गएर खेल्नेछ। एएफसीले अन्य खेलको मिति भने पछि सार्वजनिक गर्ने अखिल नेपाल फुटबल संघले बताएको छ।

एएफसी एसिया कपको छनोट नेपालले भाग्यवश खेल्न पाएको प्रतियोगिता हो।

प्रतियोगिताको तेस्रो चरणका लागि छानिएको ग्वामले सहभागिता फिर्ता लिएपछि रिक्त स्थान पूर्ति गर्न एएफसीले नेपाललाई छानेको थियो। ग्वामले आर्थिक कारणले प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएको थियो। एएफसीले एएफसी सोलिडारिटी कप विजेता भएका कारण नेपाललाई एसियन कपको तेस्रो चरण छनोट खेल्ने अवसर प्रदान गरेको हो। एएफसीले २४ टोलीलाई तेस्रो चरणमा ६ समूहमा विभाजन गरी होम एन्ड अवे पद्दतिमा राउन्ड रोबिन छनोट लिग गर्दैछ। जहाँबाट प्रत्येक समूहका शीर्ष दुई टोली २०१९ मा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने २४ टोलीको एएफसी एसियन कपका लागि छानिन्छन्।

युएईमा हुने प्रतियोगिताका लागि यसअघि १२ टोली छनोट भैसकेका छन्। युनाइटेड अरब इमरेट्स आयोजकका रुपमा प्रतियोगिताका लागि स्वतः छनोट भैसकेको छ। छनोट भैसकेका अन्य टोलीमा कतार, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, साउदी अरब, अस्टे्रलिया, उज्वेकिस्तान, सिरिया, इराक, इरान र चीनले प्रतियोगितामा स्थान बनाइसकेका छन्।

प्रकाशित: ११ माघ २०७३ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App