१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले दश जिल्लाको अधिवेशन किन गर्न सकेन ?

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय अधिवेशनअघि नै सम्पन्न गरिसक्नुपर्ने १० जिल्लाको अधिवेशन मिति अझै टुङ्गो लगाउन सकेको छैन। केन्द्रीय महाधिवेशन सकिएको दुई महिना हुँदासमेत विविध कारण रोकिएको १० जिल्लाको अधिवेशन अझै हुन सकेको छैन। 

जिल्लाको आन्तरिक विवाद, अधिवेशन गर्ने स्थान, भौगोलिक कठिनाइ, ढिला गरेर सुरु भएको गाउँ, नगर र क्षेत्रीय अधिवेशनलगायत कारण देखाउँदै सिन्धुपाल्चोक, सिराहा, धनुषा, डोल्पा, बझाङ, कञ्चनपुर, महोत्तरी, रसुवा हुम्लालगायत जिल्लाको अधिवेशन हुन बाँकी छ।

सिन्धुपाल्चोकलगायत केही जिल्लामा अधिवेशन कहाँ गर्ने भन्ने ठाउँ विवाद, डोल्पा, बझाङमा भौगोलिक कठिनाइ तथा धनुषा, सिरहा र सप्तरीमा तराई-मधेसमा चलेको आन्दोलनलगायत कारणले समयमै अधिवेशन हुन नसकेको बताउँदै केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, 'अब एक दुई दिनभित्रै समितिको बैठक बसी निर्वाचनको टुङ्गो लगाइने छ।'

जिल्ला अधिवेशनपछि कांग्रेसमा केन्द्रीय महाधिवेशन हुने व्यवस्था छ। दश जिल्लामा अधिवेशन हुन नसके पनि केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन गराएको थियो। कांग्रेस विधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिले पार्टीको निकाय तथा शुभेच्छुक संस्थाहरूबाट आवश्यक सहयोग पाउनुपर्ने उल्लेख भए पनि कतिपय जिल्लामा तोकिने जिल्ला निर्वाचन अधिकृत र जिल्ला नेतृत्वबीच कुरा नमिल्दा अधिवेशन सम्पन्न हुन नसकेको हो।

क्षेत्रीय अधिवेशन भने २४० निर्वाचन क्षेत्रमध्ये २३९ मा सम्पन्न भइसकेको छ। पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीका अनुसार धनुषा क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशन गर्न बाँकी छ। फागुन अन्तिम साता १३औं महाधिवेशनको परिणाम आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकसमेत बसिसकेको छ। उक्त बैठकले सातजना केन्द्रीय सदस्य मनोनीत गरी भ्रातृसंस्थाका अधिवेशनको विषयमा समेत छलफल अघि बढाए पनि १० जिल्लाको अधिवेशनबारे छलफल गरेन।

अधिवेशन नहुँदा ती जिल्लामा पार्टी गतिविधि र सङ्गठनलगायतका कामसमेत प्रभावित हुँदै आएका छन्। अधिवेशन गर्ने सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिको भएको बताउँदै पार्टी मुख्य सचिव ऋषिकेश तिवारीले भने, निर्वाचन समितिले अधिवेशनको मिति तोकेपछि पार्टीका तर्फबाट आवश्यक सहयोग मात्रै उपलब्ध गराइने छ।' रासस

प्रकाशित: २१ वैशाख २०७३ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App