coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिडियाखाना विस्तारमा ढिलाइ

ललितपुर- जावलाखेलस्थित सदर चिडियाखानालाई भक्तपुरमा विस्तार गर्ने प्रक्रिया ढिलाइ भएको छ। चिडियाखानामा रहेका पशुपक्षीलाई खेल्ने र चर्ने पर्याप्त ठाउँ नभएको भन्दै गत जेठ ३० गते सरकारले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना विस्तार गर्ने निर्णय गरेको थियो।

अहिले चिडियाखानाभित्र रहेका बाँदर, बँदेल, मृगलगायत विभिन्न प्रजातिका चराका लागि पर्याप्त खेल्ने स्थान नभएको चिडियाखाना आयोजना व्यवस्थापक सरिता ज्ञवालीले बताइन्। 'पर्याप्त खुला ठाउँ नभएका कारण जनावर खुलस्त भएर खेल्न पाएका छैनन्,' उनले भनिन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अहिलेसम्म चिडियाखाना कसरी बनाउने भनेर स्टिमेट, लगानी र कुन प्राणीलाई कुन स्थानमा राख्ने भन्नेबारे टुंगो लगाउन सकेको छैन।

'कानुनी प्रक्रिया र चिडियाघर निर्माणका लागि आवश्यक जग्गा खोज्ने प्रक्रियाले ढिला भएको हो,' वन्यजन्तु संरक्षण विभाग महानिर्देशक मनबहादुर खड्काले भने, 'उक्त समस्या समाधान भइसकेकालेे छिटै काम थाल्छौँ।'

खड्काले चिडियाखानाका जनावरलाई पर्याप्त खेल्ने र डुल्ने ठाउँको अभाव भएकाले नयाँ चिडियाघर बनाएर केही जनावर भक्तपुरमा सार्ने निर्णयबमोजिम काम पनि अघि बढिसकेको बताए।

तारबार लगाउन तीन करोड रकम विनियोजन गरिएको विभागका महानिर्देशक खड्काले जानकारी दिए। उनले भने, 'अहिले जनावरको उपचारका लागि वन्यजस्तु केन्द्र बनाउने कार्य अघि बढिसकेको छ, त्यसका लागि ३० लाख रकम पनि छुट्याइसकिएको छ।

गत जेठमा संसद्को वातावरण संरक्षण समितिले आयोजना गरेको चिडियाखानाको व्यवस्थापकीय अवस्था र भावी सम्बन्ध विषयक कार्यक्रमबाट तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद खरेलले चिडियाखाना एक वर्षमै बन्ने धारणा राखेका थिए। कार्यक्रममा बोल्दै उनले विस्तारपछि चिडियाखानालाई 'प्राणी–उद्यान' नामकरण गरिने धारणासमेत राखेका थिए। आठ महिना बित्न लाग्दा पनि निर्माणका लागि सामान्य स्टिमेट समेत तयार गरिएको छैन।

६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखामा अहिले एक सय चार प्रजातिका सात सयभन्दा बढी ५४ वन्यजन्तु छन्। यी जन्तुलाई अहिलेको ठाउँ अपुग भएकाले थप वन्यजन्तु समेत राख्न पुग्ने गरी चिडियाखाना विस्तार गर्ने निर्णय सरकारले गरेको थियो।

राणा प्रधानमन्त्री जुद्धशमसेरले १९८९ सालमा आफ्नो मनोरञ्जनका लागि सञ्चालनमा ल्याएको चिडियाखाना २०११ देखि सबैका लागि खुला गरिएको हो। ०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको चिडियाखानालाई सकेसम्म मौलिक स्वरुप दिने गरी उद्यान बनाउने निर्णय सरकारले गरेको हो।

भक्तपुरको सूर्यविनायकमा बन्ने चिडियाखाना प्राणी उद्यान पर्यटन केन्द्रित हुने जनाइएको छ। देश प्रादेशिक संरचनामा गएपछि प्रत्येक प्रदेशमा प्राणी उद्यान बनाइने योजनामाथि पनि अध्ययन भइरहेको विभागले जनाएको छ।

केही दिनअघि सदर चिडियाखानाले गरेको एक कार्यक्रममा बोल्दै वनमन्त्री शंकर भण्डारीले सानो ठाउँमा धेरै प्रजातिका वन्यजन्तुलाई थुनेर राख्दा पशुअधिकार हनन भएकाले सूर्यविनायकको चिडियाखाना निर्माणका लागि वर्तमान सरकारले प्राथमिकता दिएको जानकारी गराएका थिए। ८५ वर्षअगाडि जुन सोचसाथ चिडियाखानाको विकास गरिएको थियो, अहिले पनि त्यसरी नै जनावरलाई साँघुरो स्थानमा राखिएको छ।

प्रकाशित: ११ माघ २०७३ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App