८ वैशाख २०८१ शनिबार
समाज

ट्राफिक जामले अस्तव्यस्त राजधानी

काठमाडौं- गौशाला–चाबहिल सडकको दुरी मुस्किलले एक किलोमिटर छ। कुनै अवरोध नभए त्यति पार गर्न सवारीसाधनलाई ५ देखि १० मिनेट लाग्छ।  तर अहिले यो दुरी पार गर्न ३० मिनेटदेखि दुई घन्टासम्म लाग्ने गरेको छ।

त्रिपुरेश्वर–कालीमाटी सडकको दुरी पनि एक किलोमिटर हारहारीमा छ। कार्यालय समयमा त यो सडक पार गर्न उस्तै परे दुई घन्टा लाग्न सक्छ। अन्य समयमा पनि ४० मिनेटदेखि १ घन्टासम्म लाग्ने गरेको छ।

उपत्यकाका यी दुई सडक मात्रै होइनन्, १०/१५ मिनेटमा पार गर्न सकिने अधिकांश सडकमा यात्रा गर्दा एकडेढ घन्टा नछुट्याए तोकिएको समयमा गन्तव्यमा पुग्न मुस्किल पर्छ अचेल। केही दिनयता त एकदुई किलोमिटर सडक पार गर्न घन्टौं जाममा पर्खनुपर्दा राजधानीका बासिन्दा आजित भएका  छन्।

उपत्यकाका मुख्य सडक र चोकचोकमा पछिल्ला दिनमा अत्यधिक जाम बढ्नुको मुख्य कारण मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य हो। आयोजना कार्यान्वयन निर्देशनालयले सडकको बीचमा जथाभाबी खनेर तत्काल मर्मत नगरेकै कारण ट्राफिक जाम बढेको छ। निर्देशनालयले निर्माण सामग्री तथा पाइप सडकमा असरल्ल राखेको छ।

अव्यवस्थित रूपमा जारी सडक विस्तार कार्यले पनि ट्राफिक जाम बढेको छ। निर्देशनालयका अनुसार मेलम्चीको पानी उपत्यकामा वितरणका लागि ४० स्थानमा पाइप बिछ्याउने काम भइरहेको छ। सबैभन्दा बढी जाम पाइप बिछ्याइरहेको स्थानमा हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ। ‘उपत्यकाका एकदुई ठाउँमा जाम भयो भने त्यसको असर सबैतिर पर्छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी सबिन प्रधानले भने, ‘उपत्यकाका अधिकांश सडकमा गुड्ने सवारीसाधनले घन्टौं लामो जाममा बस्नुपर्ने बाध्यता छ।’

महाशाखाका अनुसार पाइप बिछ्याउने कार्य र सडक विस्तार भइरहेका ठाउँमा पाइप, ढल, निर्माण सामग्रीले सडक अवरोध गरेका छन्।

‘चालकहरू सवारीसाधन बिग्रने डरले सडकमा रहेका खाल्डा छलेर गाडी चलाउँछन्,’ महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले भने, ‘यसरी गुडाउँदा सवारीको गतिसमेत सुस्त हुँदा समस्या भइरहेको छ।’

कार्यालय समयमा ट्राफिक व्यवस्थापनमा झनै समस्या भइरहेको महाशाखाको भनाइ छ। सडकमा पर्याप्त मात्रामा ट्राफिक संकेत तथा लाइन नहँुदा सवारीचाप बढ्ने गरेको छ।

महाशाखाका अनुसार अचेल चाबहिल, गौशला, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, कंलकीमा धेरै जाम हुने गरेका छन्। यी स्थानमा भएको जामको प्रभाव सहरभरि पर्ने गरेको छ। चाबहिल खण्डमा मेलम्चीको पानीको कारणले जाम बढेको छ। त्रिपुरेश्वर–कंलकी–कोटेश्वर खण्डमा सडक विस्तार कार्यले जाम बढेको छ। त्यसैगरी थापाथली क्षेत्रमा रहेको पुल साँघुरो भएकाले जाम हुने गरेको छ। महाशाखाका अनुसार कतिपय स्थानमा भने जथाभाबी सवारीसाधन पार्किङले  जाम बढाउने गरेको छ। 'मेलम्चीको पानी र सडक विस्तार हुँदैछ भनेर भत्किएको सडकको मर्मत नगर्दा पनि समस्या थपिँदैछ,’ महाशाखा प्रवक्ता मल्ल भन्छन्, ‘सडकका रहेका एकदुईवटा साना खाल्डाले पनि जाममा सहयोग गर्छ। चालकले खाल्डा छलेर सवारी जोगाउन खोज्दा जामसाथै दुर्घटनासमेत बढाइदिँदो रहेछ।'

कसरी कमी हुन्छ सडक जाम

महाशाखाका अनुसार जामको दीर्घकालीन उपाय पूर्वाधार विकास हो। यसका लागि सडक विस्तार, आकाशे पुल, ट्राफिक लाइटको व्यवस्था गर्नपर्छ। सडकमा राखेका पाइप हटाउने र खनेको ठाउँमा मर्मत गर्ने हो भने पनि जाममा केही कमी हुने महाशाखाको अनुमान छ।

निर्देशनालयले भने सडक ढाक्ने गरी पाइप राख्न बाध्य हुनुपरेको दाबी गरेको छ। ‘हामीले धोबीघाट र गोकर्णमा पाइप राख्ने स्टोर बनाएका छौं,’ निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने, ‘तर पनि बिछ्याउनका लागि पाइप ल्याउँदा एकदुईवटा सडकमा रहने गरेका छन्।’ उनले आफूहरूले सक्दो सडक कम ओगट्ने गरी पाइप राखेको दाबी गरे।

क्षमताभन्दा ज्यादा सवारीसाधन

महाशाखाका अनुसार सवारीसाधनको अत्यधिक संख्या ट्राफिक व्यवस्थापनको प्रमुख चुनौती हो। डिएसपी प्रधान भन्छन्, ‘सडकको क्षेत्रफलभन्दा सवारीसाधन बढी छन्। यसैले ट्राफिक व्यवस्थापनमा चुनौती बढेको छ।’

तथ्यांकअनुसार उपत्यकाका सडकका अहिले सानाठूला निजी तथा सार्वजनिक गरी ९ लाखभन्दा बढी सवारीसाधन गुड्छन्। बागमती अञ्चलमा ९ लाख ३५ हजार सवारीसाधन दर्ता भएको तथ्यांक छ। दर्ता भएकामध्ये एक डेढ लाख सवारी कारणवश थन्किएर बसे पनि दैनिक करिब ८ लाख सवारी भने सडकमा निस्कने गरेको मल्ल बताउँछन्। सवारीसाधन संख्या दिनप्रतिदिन थपिँदै जाने, पूर्वाधारको अवस्था उस्तै रहने, भएका सडकमा पनि अव्यस्थित ढंगले बनाउने भत्काउने काम चलिरहने र महाशाखामा पनि प्राप्त जनशक्ति नहुने कारणले गर्दा सवारीचाप व्यवस्थापन गर्न समस्या भइरहेको महाशाखाका अधिकारी बताउँछन्।

प्रकाशित: ११ माघ २०७३ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App