काठमाडौं– सिक्किमका किशोर दुङमाली राई आपूmद्वारा निर्मित तेस्रो फिल्म लिएर काठमाडौं आएका छन्। ‘अनमोल क्षण’ नामक उक्त फिल्म शुक्रबारदेखि नेपालभर चलिरहेको छ। फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन्।
नेपालका निर्माता तथा निर्देशक विनोद सेरेङसँगको सहकार्यमा किशोरले फिल्म निर्माण गर्दै आएका छन् । २०६८ सालमा रिलिज भएको ‘अँगालो यो मायाको’ किशोरको पहिलो फिल्म हो, जसको निर्देशन विनोदले गरेका थिए । उक्त फिल्ममा इन्डियन आइडल गायक प्रशान्त तामाङ र हर्षिका श्रेष्ठको मुख्य भूमिका थियो।
किशोरले त्यसपछि विनोदलाई नै निर्देशक लिएर ‘निशानी’ निर्माण गरे । २०७१ सालमा रिलिज भएको ‘निशानी’मा पनि प्रशान्त तामाङकै मुख्य भूमिका थियो । साथमा प्रेम सुब्बा, विष्णु चेम्जोङ, अनु गुरुङलगायतले अभिनय गरेका थिए ।
दुवै फिल्म व्यापारिक हिसाबले असफल भए पनि निर्माता किशोर थाकेनन् । केही साथीभाइले उनलाई फिल्ममा लगानी नगर्न सल्लाह पनि दिए । तर उनले हिम्मत हारेनन् । फिल्मप्रतिको उच्च लगाव छँदैछ। त्यसैले उनी तेस्रो फिल्मसम्म आइपुगेका छन् ।
सिक्किम, दार्जिलिङ र कोलकातामा छायांकन गरिएको ‘अनमोल क्षण’ले केही महिनाअघि आसाममा सम्पन्न भारतको नर्थ–इस्ट क्षेत्रका सात भाषाका फिल्महरुबीचको प्रतियोगिता ‘प्राग सिने अवार्ड’मा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री गरी तीन विधामा अवार्ड जितेको थियो । उत्कृष्ट अभिनेता जित्ने कलाकार सालोम काबो लेप्चा र उत्कृष्ट अभिनेत्री ठहरिने कलाकार स्नेह दुङमाली राई हुन्। निर्माता किशोरकै छोरी हुन् स्नेह।
‘मैले मनोरञ्जनमात्र होइन समाजलाई असल शिक्षा दिलाउन पनि फिल्म बनाएको हुँ,’ निर्माता किशोरले भने, ‘यसमा लिभ इन टुगेदर सम्बन्धले गर्दा युवायुवतीमा आउने समस्यालाई उजागर गरेको छु ।’
निर्देशक अनमोलले नै लेखेको फिल्ममा पनु लक्समको छायांकन तथा सम्पादन, कमल राईको नृत्य निर्देशन र आनन्द राईको गीतसंगीत रहेको छ । भारतमा रिलिज भइसकेको फिल्मलाई अस्टे«लिया, न्युजिल्यान्ड, हङकङ र बेलायतका नेपालीमाझ लैजाने योजना निर्माताले बनाइसकेका छन्।
प्रकाशित: २१ असार २०७३ १३:३४ मंगलबार