८ वैशाख २०८१ शनिबार
समाज

‘निर्वाचनमा सबै दलको सहभागिता जरुरी छैन’

पत्रकार भेटघाटमा बोल्दै माओबादी नेता वर्षमान पुन। तस्बिरः अर्जुन ओली

नेपालगन्ज– सत्तारुढ दल नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले चुनावको विषयमा सरकारलाई शंका गर्ने ठाउँ अब नरहेको बताएका छन् । ‘सरकारले चुनावको मनस्थिती बनाइसक्यो, प्रधानमन्त्रीले पनि माघ १४ वा १५ गते सम्म स्थानीय तह चुनावको मिति घोषणा गर्ने भनिसक्नु भएको छ, त्यसकारण अब कुनै शंका गर्ने ठाउँ छैन,’ प्रेस सेन्टर बाँकेले सोमबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले भने ।

पूर्वमन्त्री पुनले निर्वाचन सम्बन्धी विद्ययक प्रक्रियामै रहेको जिकिर गर्दै छोटो प्रक्रियाबाट चाडै पास हुने ठोकुवा गरे । उनले थपे, ‘चुनावको मिति घोषणा गरिसकेपछि पनि ऐन ल्याउँदा खासै फरक पर्दैन ।’ आगामी बैशाख अन्तिम साताभित्र स्थानीय तहको निर्वाचन गराउने सरकारको सोच रहेको बताए । ‘पुरानो संरचना सकियो, अब हुने स्थानीय तहको चुनाव नयाँ संरचना अनुसार नै हुन्छ,’ पुर्वमन्त्री पुनले भने ।

सत्तारुढ गठवन्धनबीच भएको सहमती अनुसार स्थानीय तहको निर्वाचन पुष्पकमल दाहाल नेतृत्वको सरकारले गराउने र प्रादेशिक र केन्द्रीय तहको निर्वाचन नेपाली कांग्रेस नेतृत्वमा हुने उनको भनाई छ । २०७४ माघभित्रमा तीन वटै तहको निर्वाचन हुने ठोकुवा गरे । ‘स्थानीय तहको चुनावपछि राष्ट्रिय सहमतीको स्वरुप दिएर त्यसमा एमाले सहितका दललाई पनि सहभागी गराउने सम्भावना हुन्छ,’ उनले भने । तीन तहको निर्वाचन गराउन दलहरु बीच ‘पावर शेयरिङ’ हुने बताए ।

संविधान कार्यान्वयन गर्ने दायित्व सबै दलको भएको बताउँदै पुर्वमन्त्री पुनले निर्वाचन भएपछि मात्र संविधान कार्यान्वयन र अहिले सम्मका परिवर्तन संस्थागत हुने जिकिर गरे । केही दलले गरेको असन्तुष्टीलाई संशोधन प्रक्रियामार्फत सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको बताए । स्थानीय तहको निर्वाचनलाई कसैले रोकेर नरोकिने बताउँदै नेता पुनले भने, ‘सबै दललाई आफ्नो एजेण्डा लिएर चुनावमा जान म आग्रह गर्छु ।’

माओबादी केन्द्रले आफ्नो पार्टीलाई चुनावमा केन्द्रित गरिसकेको जानकारी दिए । ‘निर्वाचनमा केन्द्रित भएर हाम्रो पार्टीको प्रदेश नम्वर ५ को कार्यकर्ता प्रशिक्षण सम्पन्न भइसकेको छ,’ उनले भने । केही दलले निर्वाचन हुन नदिने चेतावनी दिइरहेका बेला पुनले निर्वाचनमा शत प्रतिशत दलको सहभागिता हुन जरुरी नहुने धारणा राखे ।

 

प्रकाशित: १० माघ २०७३ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App