६ वैशाख २०८१ बिहीबार
राजनीति

'अहिले बास माग्नेले पछि ब्यारेक बनाउँछ'

अाइतबार सदनलाई सम्बोधन गर्दै नेमकिपा सांसद अनुराधा थापा

काठमाडौं—भारतीय जहाजहरुमार्फत् आउने हतियारधारी सुरक्षाकर्मीलाई काठमाडौंमा बास दिन भारतले राखेको प्रस्तावबारे संसदमा विषय प्रवेश पाएको छ। सोमबारको संसद बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले यो विषय 'भारतद्वारा नेपाल खाने सिलसिलाकै रुपमा आएको' बताइन्।

'यो भारतको नेपाल खाने दाउकै सिलसिला हो। अहिले बास माग्नेले पछि काठमाडौंमा ब्यारेक स्थापना गर्नेछ। त्यसपछि एयरमार्सल परिवारलाई घर दिनुपर्ने हुन्छ', उनले संसदमा भनिन्।

'यो भारतको नेपाल खाने दाउकै सिलसिला हो। अहिले बास माग्नेले पछि ब्यारेक स्थापना गर्नेछ। त्यसपछि एयरमार्सल परिवारलाई घर दिनुपर्ने हुन्छ', उनले संसदमा भनिन्।

देशलाई बन्दी बनाउने यस्तो विषयमा सरकारले सम्झौता गर्नु नहुने भन्दै उनले नेपाली जनतालाई थाहा भएको गम्भीर विषयप्रति सरकार किन मौन भन्दै प्रश्न गरिन्।

संसदमा बोल्दै एमाले सांसद प्रकाश ज्वालाले एयरमार्सल राख्ने विषय विवादित रहेको अवस्थामा जेट एयरवेजबाट एयरमार्सल अाइरहेको भन्दै अाश्चर्य व्यक्त गरे। 'यो पहिलैदेखिको विवादित विषय हो। भारतले यसमा पहिलैदेखि कोसिस गरेको हो', उनले भने, 'विदेशीको दवाबमा भर्खरै नागरिक उड्डयन सुरक्षा नियमावली पारित भएको छ। त्यसले एयरमार्सल राख्न छुट दिएको छ। यो राष्ट्रिय सुरक्षाको दृष्टिले खतरनाक छ। यसलाई बदर गर्नुपर्छ।'

केही समयअघि दोहोरो रुटका लागि भारतीय पक्षसँग छलफल गर्न नेपालको संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयको टोली नयाँ दिल्ली गएको थियो। टोलीको नेतृत्व गरेका मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार भारतीय टोलीले त्यतिबला बैठक एजेन्डामै नभएको एयर मार्सललाई बास दिनुपर्ने विषय उठाएको थियो।

'एयर मार्सलको विषयमा छलफल नगर्दा वार्ता नै भाँडिने अवस्था देखियो। त्यसपछि हामीले यो उच्च राजनीतिक तहबाट निर्णय लिनुपर्ने विषय भएको बताउँदै छलफल गर्‍यौं', माघ ६ गते व्यवस्थापिका संसदको विकास समितिलाई उनले जानकारी दिएका थिए। भारतीय पक्षले 'इन फ्लाइट सेक्युरिटी' शब्द प्रयोग गरी नेपाली पक्षसँग बास मागेको थियो। त्यो भन्नुको अर्थ सादा पोशाकका हतियारधारी हुन्।

'यस विषयमा तत्काल संसदलाई जवाफ दिन प्रधानमन्त्रीलाई सभामुख महोदयले निर्देशन दिन आवश्यक छ', आइतबारको संसद बैठकमा उनले भनिन्।

नेपाल-भारतबीच आकाशमार्ग प्रयोगबारे सम्झौताको तायरीका लागि विभिन्न चरणमा बैठकहरु भइरहेका छन्। भारतले 'ओपन स्काइ' अन्तर्गत असीमित यात्रु अवात-जावत गर्न पाउनु पर्ने प्रस्ताव गर्दै आएको छ। अहिले दुई देशबीच दैनिक ३५ हजार यात्रु आवात-जावत गर्न सक्ने सम्झौता छ।

लुम्बिनी तथा पोखरामा निर्माणाधीन अन्तरार्ष्ट्रिय विमानस्थललाई ध्यानमा राखेर नेपालले भने दुई रुट दिनुपर्ने प्रस्ताव गर्दै आएको छ। अहिले भारत भएर आउने अन्तरार्ष्ट्रिय उडानहरु एक मात्र हवाइ रुट बाराको सिमरा भएर भित्रिने गर्छन्।

नेपालले भैरहवा र नेपालगञ्जको रुट माग गर्दै आएको छ। नेपालगञ्जको रुट पाए काठमाडौं-नयाँ दिल्लीको उडान समय समेत ३ मिनेट छोटिनेछ।

प्रकाशित: १० माघ २०७३ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App