८ वैशाख २०८१ शनिबार
खेल

धरानमाथि मनाङको सहज जित

पोखरा- धरान फुटबल क्लबमाथि सहज जित निकाल्दै लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङले आइतबार धरानलाई ४–१ ले सहजै पाखा लगायो। मनाङको जितमा सुजल श्रेष्ठ र अनिल गुरुङले समान २/२ गोल गरेका छन्। धरानका दीपक राईले सान्त्वनास्वरुप एक गोल फर्काए। सुरुआतदेखि नै मनाङले धरानलाई दबाबमा राखेको थियो। ३३ औं मिनेटमासुजलले गोल गरेर मनाङलाई अग्रता दिलाएका थिए। अनिलले दिएको लामो पासमा सुजलले पेनाल्टी बक्स भित्रबाट हेड गर्दै गोल गरेका थिए।

यसको ८ मिनेटपछि अनिलले अग्रता दोब्बर पारे। हफिज ओलावालेको क्रसमा अनिलले पेनाल्टी बक्सभित्र धरानका हेम गुरुङलाई छलाउँदै गोल गरेका थिए। पहिलो हाफमा २–० ले पछाडि परेको धरानले ६० औं मिनेटमा तेस्रो गोल खायो। रोहित चन्दको क्रसमा अनिलले हेड गरी मनाङका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। त्यसको ३ मिनेट नबित्दै अनिलकै क्रसमा धरानका गोलरक्षक पूर्ण चेम्जोङ बिट भइसकेपछि खाली पोस्टमा सुजलले गोल गरेका थिए। २ गोल गरेका सुजल नै आइतबारको खेलमा म्यान अफ दि म्याच भए।

सुरुदेखि नै मनाङसँग फितलो प्रदर्शन गरेको धरानका लागि दीपक राईले ७३ औं मिनेटमा एक गोल फर्काए। त्यसपछि धरानले कुनै गोल फर्काउन सकेन। १३ औं मिनेटमा धरानका निशान लिम्बुले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर बाहिरिँदा गोलको अवसर चुकाएको थियो।

१९ औं मिनेटमा मनाङका विक्रम लामाले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार धरानका गोलरक्षक पूर्णले पञ्च गर्दा पोस्टमा ठोक्किएर बाहिरियो। २०५८ को क्याराभान गोल्डकपसहित आहा–रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी ९ पल्ट फाइनल खेलेको छ। तीमध्ये ४ पटक उपाधि जितेको छ। मनाङ अघिल्लो संस्करणको पनि विजेता हो। मनाङले अब संकटा र बंगलादेशको फारसगञ्ज स्पोर्ट्स क्लबबीचको विजेतासँग खेल्नेछ।

पराजित भएको धरान फुटबल क्लबका प्रशिक्षक सुवास केसीले खेलाडी घाइते भएकाले  प्रदर्शन उत्कृष्ट हुन नसकेको बताए। मनाङको सेट टिम भएको र आफूले विभिन्न क्लबका खेलाडी ल्याएर खेलाएकाले पनि सेट हुन नसकेको बताए। 'खेलाडी अनमार्क बस्दा गोल खानु पर्‍यो,' उनले भने। पोखरामा आएपछि मात्र सबै खेलाडीले संयुक्त अभ्यास गरेको र आउने खेलाडी टुंगो लाग्न ढिलो हुँदा टिम सेट हुन समय लागेको उनले बताए।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले निर्धारित समयभित्र गोल गरेकाले जित सुनिश्चित बनेको बताए। 'पहिलो हाफमै हामी जितनजिक थियौं। मध्यान्तरपछि खेलाडीले त्यति  मन लगाएनन्' उनले भने, 'दोस्रो हाफमा मेहनत गरेको भए अन्तर अझै बढ्न सक्थ्यो।' सोमबार नेपाल आर्मीको त्रिभुवन क्लब र झापा–११ बीच खेल हुनेछ।

प्रकाशित: १० माघ २०७३ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App