८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रियस्तरको भलिबल फागुनमा

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले फागुनमा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता गर्ने भएको छ। फागुन १०–१३ सम्म काठमाडौंमा हुने प्रतियोगितामा ३ विभागीय र ५ क्षेत्रीय गरी ८ टोलीको सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतियोगिता संयोजक कुमार गुरूङले लिग कम नकआउट प्रतियोगितामा नेपाल भलिबल संघको सहयोग रहने बताए। उनले प्रतियोगिता राजधानीमै हुने भए पनि खेलस्थल टुंगो लागि नसकेको बताए। ‘राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले त्यसै अनुरुपको स्थान खोजिरहेका छौं,’ संयोजक गुरूङले भने, ‘यस विषयमा हामी छलफलमा छौं र छिट्टै स्थानको टुंगो लाग्नेछ। हामी यस प्रतियोगितालाई निरन्तरता दिनेछौं।  आगामी संस्करण पोखरामा हुनेछ र त्यसमा महिला विधा पनि समावेश हुन्छ।’

प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रूपैयाँ पाउनेछ भने उपविजेताको भागमा नगद २ लाख रुपैयाँ पर्नेछ। सेमिफाइनलमा पराजित हुने दुवै टोलीले सान्त्वनास्वरुप जनही ५० हजार रुपैयाँ पाउने जानकारी गराइयो। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २५ हजार तथा अनुशासित टोलीले नगद १० हजार रुपैयाँ जित्नेछन्। प्रत्येक विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ नगद पाउनेछन्।

नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरूङले सबै खेलाडीलाई भोजन र बसोबास सुविधासहित दैनिक २ सय रुपैयाँ भत्ता प्रदान गरिने बताए। अध्यक्ष मनोरञ्जनरमण शर्माले नेपाल भलिबल संघले अहिले पूर्वाधार विकासमा काम गरिरहेको बताए। उनले अहिले तत्काल केही नदेखिए पनि यसको परिणाम आएपछि संघको काम देखिने दाबी गरे।

प्रकाशित: १० माघ २०७३ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App