coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तारादेवीको सम्झना

काठमाडौं- 'स्वर किन्नरी' उपनामले चर्चित गायिका तारादेवीको ११औँ स्मृति दिवस मनाइएको छ। तारादेवी स्मृति प्रतिष्ठानले आइतबार जमलस्थित संस्कृति संस्थानमा उनले गाएका गीत गाउँदै उनको सम्झना ताजा गरायो। कार्यक्रममा पुरानासँगै नयाँ पुस्ताका गायक–गायिकाले उनका गीत गाएका थिए।

तारादेवीको योगदान नयाँ पुस्तामाझ विस्मृत हुँदै गएको देखेपछि लेखक प्रकाश सायमीले उनको नाममा प्रतिष्ठान स्थापना गरेका हुन्। अघिल्लो वर्ष स्थापना भएको प्रतिष्ठानले दोस्रोपटक स्मृति कार्यक्रम गरेको हो।

कार्यक्रम मीरा राणा र संगीता थापाले तारादेवीद्वारा गाइएका गीत 'शुभकामना' गाउँदै सुरु गरेका थिए। पछि उमेश खड्का, अनामिका सिंह आदिले उनी स्वरबद्ध गीत गाएर सांस्कृतिक संस्थानको हल केहीबेर तारादेवीमय बनाए।

गीतकार किरण खरेल र तारादेवीबीच गीतकार र गायिकाको मात्र सम्बन्ध थिएन, नयाँ बानेश्वरको एउटा गल्लीमा दुवै छिमेकी पनि थिए। पार्किन्सन रोगका कारण ०६२ मा दिवंगत हुनुअघि खरेल र तारादेवी नेपाली संगीतका विषयमा खुबै गफिन्थे। स्मृति कार्यक्रममा उपस्थित गीतकार खरेलले गायनमा तारादेवी बराबर इमानदार गायिका आफूले नदेखेको बताए।

'संगीतमा त्यति इमानदार गायिका मैले देखेको छैन। उहाँका लागि जहिले पनि पहिलो प्राथमिकता थियो र बाँकी कुरा त्यसपछि,' खरेलले भने, 'उहाँका थुप्रै समकालीन गायकगायिकाले उतिबेला जो पायो, त्यसको संगीतमा नगाउने भनेर फर्काएको देख्थें तर उहाँले कसैलाई रित्तै फर्काउनु भएन। मैले गाइदिँदा उसको भलो हुन्छ भने होस् न भन्ने गर्नुहुन्थ्यो।'

काठमाडौं इन्द्रचोकमा २००२ सालमा जन्मिएकी तारादेवीले बाल गायिकाको रुपमा रेडियो नेपालमा गाउन सुरु गरेको प्रकाश सायमी बताउँछन्। २०१२ सालमा रेडियो नेपालमा उनको पहिलो गीत रेकर्ड भएको थियो।

भैरवबहादुर थापाको संगीतमा 'तिमी र हामी भेटौंला' र 'अब हजुर नजानुस् लाहुर' कोलकाताको हिन्दूस्तान रेकर्डमा रेकर्ड भएका थिए। त्यसयता तारादेवीले करिब चार हजार गीत रेकर्ड गरेको सायमीले जानकारी गराए।  उनका 'शुभकामना', 'उकाली ओरालीहरुमा', 'काली पारे', 'फूलको थुंगा', 'हिमालकी छोरी हुँ म' अत्यधिक चर्चित गीत मानिन्छन्।

संगीतकार नातीकाजीको पहिलो रोजाइकी गायिका थिइन् तारादेवी। सायमीका अनुसार राम्रो ट्युन भयो कि नातीकाजी तारादेवीलाई सम्झन्थे। 'दुवैको जुगलबन्दीमा नेपाली संगीतले कालजयी गीत पाएको छ। तर, अरु संगीतकार पनि विशेष गीतका लागि तारादेवीलाई नै सम्झन्थे,' सायमीले भने।

'मनको बाँध' शीर्षकको फिल्म गीत रेकर्ड गर्ने सिलसिलामा नातीकाजी र तारादेवीबीच मनमुटाव भएको थियो। यसपछि करिब तीन वर्ष नातीकाजी र तारादेवीबीच बोलचाल भएको थिएन। त्यो समयमा भने केही गीतमा तारादेवी स्वयंले आफ्ना केही गीतको संगीत गरेकी थिइन्। यस्तै, एउटा गीतले रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो।

नातीकाजी मात्र होइन, एक समय तारादेवी र नारायण गोपालबीच पनि बोलचाल नभएको किस्ता नेपाली संगीतमा चल्ने गरेको छ। तर, यही समयमा दुवैको आवाजमा नेपाली संगीतका लागि कालजयी गीत निस्किएको सायमी बताउँछन्।

'०३३ साल तिरको कुरा हो। अरुणा लामा बिरामी हुनुहुन्थ्यो र उहाँको उपचारका लागि आर्थिक सहयोग जुटाउन अरुणा लामा साँझको आयोजना हुन लागेको थियो। केही गायकगायिकाले बिना पैसा नगाउने भनेको सुनेपछि नारायण गोपालले सबैका अगाडि पैसाका लोभी भनेर गाली गर्नुभएछ। नारायणदाइले उहाँलाई नै भनेका त थिएनन् तर तारादिदीले आफैँलाई भनेको भन्ठानेर चित्त दुखाउनुभयो। लामो समयसम्म बोलचाल भएन,' सायमीले भने, 'तर, यही समयमा दुवैले माइकमा एकअर्काको अनुहार नहेरी ए कान्छा ठट्टैमा मालती मंगले, सिन्दुर, मुनामदन आदिमा स्वर दिनुभयो र तीनै गीत कालजयी बने।'

सायमीले आइतबार नै नेपाली संगीतमा थुप्रै तारादेवी जन्माउने उद्देश्यले 'नेपाली संगीतमा पुनर्खोज तारादेवीको' शीर्षकमा प्रतिभा खोज्ने कार्यक्रम गरिने घोषणा गरे। 'गाइरहेका गायिकालाई गु्रमिङ गरेर प्लेटफर्म दिने हाम्रो योजना हो,' सायमीले स्पष्ट पारे।  सोही कार्यक्रममा तारादेवीको गीतका रेकर्ड बेच्ने गरेका व्यवसायी द्वारिकानारायण मानन्धरले गीतकार चेतन कार्कीलाई १५ हजार एक सय रुपैयाँ प्रदान गरेका थिए। चेतन कार्कीले पनि आफूलाई चिनाउन तारादेवीको योगदान रहेको बताउँदै उनको गायकीको प्रशंसा गरेका थिए।

प्रकाशित: १० माघ २०७३ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App