coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वैशाखमा चुनाव 'हावादारी'

काठमाडौं- मधेसी मोर्चाका नेताहरूले प्रमुख तीन दलबीच वैशाखमा स्थानीय तहको चुनाव गर्न भएको  सहमतिलाई 'हावादारी' को संज्ञा दिएका छन्। संविधान संशोधन विधेयक परिमार्जनसहित पास नभएसम्म कुनै पनि तहको निर्वाचन हुन नसक्ने दाबी मोर्चाको छ।

प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच शनिबार भएको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्न सहमति जनाएका थिए।

तीन दलबीच भएको सहमतिबारे मोर्चा नेताहरूले प्रधानमन्त्रीसँग भेटेर जानकारी लिने भएका छन्। प्रधानमन्त्रीसँग  छलफल गरेपछि मोर्चा र संघीय गठबन्धनको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने मोर्चाका नेताले बताए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले चुनाव गराउन नसक्ने बताए। 'सरकारले यथास्थितिमा चुनाव घोषणा त गर्न सक्छ तर चुनाव गराउन सक्दैन', यादवले नागरिकसँग भने।

स्थानीय तहको चुनावमा जान मोर्चाले दुईवटा सर्त राखेको छ। संसद्मा पुगेको संविधान संशोधन विधेयक परिमार्जनसहित पास हनु पर्ने र स्थानीय निकाय पुनःसरचना आयोगको प्रतिबेदनमा सच्याउनुपर्ने सर्त मोर्चाको छ।

संशोधन विधेयकका कुनकुन बुँदामा परिमार्जन गर्ने भन्नेबारे मोर्चाका नेताले आन्तरिक गृहकार्य थालेका छन्। परिमार्जन मस्यौदा तयार गर्न मोर्चाले कार्यदल नै बनाएको छ।

सरकारले आफ्ना दुई सर्त पूरा नगरी चुनावमा गए संघीय गठबन्धन र मोर्चा आन्दोनलमा जाने  चेतावनी दिएका छन्। 'हाम्रा माग पूरा नगरी सरकार चुनावमा गए हामी आन्दोलनमा जान्छौं। केही दिनभित्रै संघीय गठबन्धन र मधेसी मोर्चाको बैठक बस्छ', यादवले भने, 'सरकारले उपेक्षा गरे चाँडै आन्दोलन घोषणा पनि हुन्छ।'

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले एकदुई दिनभित्र सरकार पक्षसँग वार्ता गरी तीन दलबीच शनिबार भएको सहमतिबारे बुझ्ने बताए। 'एकदुई दिनभित्र हामीले सरकारसँग कुराकानी गरी उसको धारणा बुझ्छौं', झाले भने, 'यथास्थितिमा वैशाखमा चुनाव हुन सक्दैन।'

तीन दलको श्ानिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग छलफल गरी निर्वाचन मिति टुंगो लगाउने बताएका थिए। तर नेपाली कांग्रेस र एमाले नेताले वैशाखमै चुनाव गर्ने भनेपछि त्यसमा सहमति भएको थियो।

एमालेले संविधान संशोधन विधेयक फिर्ता लिई निर्वाचन प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिँदै आएको छ। कांग्रेेसले निर्वाचन प्रक्रिया र संशोधनलाई सँगसँगै अघि बढाउन सरकारलाई सुभाव दिएको छ।

'परिमार्जनसहित संशोधन विधेयक पास नहुदासम्म कुनै पनि चुनाव हुन सक्दैन। अहिलेको अवस्थामा चुनावको कुरा खाली भ्रम सिर्जना गर्नमात्र हो', फोरम नेपालका कोषाध्यक्ष विजय यादवले भने।

प्रकाशित: १० माघ २०७३ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App