७ वैशाख २०८१ शुक्रबार
प्रवास

लाप्राकमा स्वयंसेवा गर्न अमेरिकाबासी नेपालीलाई आह्वान

अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पन्त

न्यूयोर्क— गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अभियानमा स्वयंसेवा गर्न अमेरिकाबासी नेपालीलाई आह्वान गरेका छन्। 

एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले आयोजना गरेको स्वागत तथा अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पन्तले एनआरएनएले सुरु गरेको एक हजार घर बनाउने अभियानमा स्वयंसेवा गर्न आह्वान गरेका हुन्। ‘जजसले सक्नुभएको छ उहाँहरुले आर्थिक, भौतिक सहयोग नै गर्नुभएको छ’, उनले भने, ‘बाँकी साथीहरुलाई राष्ट्र निर्माणको यो घडिमा लाप्राकमा उपस्थित भएरै सेवा गर्न आग्रह गर्दछु।’

महाभूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघले ६१२ घर सहित नमुना बस्ती निर्माण कार्य गरिरहेको छ।

पुर्ननिर्माण अभियान उठेको रकम घर निर्माणमा पर्याप्त नभएकोले आर्थिक एवं स्वयम सेवा दुवै गर्न सकिने उनले जानकारी दिए। सोही अवसरमा सहयोगको बचन दिएर रकम दिई नसकेका अमेरिकाबासी नेपालीलाई तत्काल रकम हस्तान्तरण गर्न उनले अनुरोध गरे।

महाभूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघले ६१२ घर सहित नमुना बस्ती निर्माण कार्य गरिरहेको छ। गुम्सी पाखा डाँडामा ६२६ रोपनी क्षेत्रफलमा एनएआरएले निर्माण गरिरहेको बस्तीमा विद्यालय, सामुदायिक स्वास्थ्य केन्द्र निर्माणको योजना पनि छ।

अमेरिकाका गैरआवासीय नेपाली आम्दानी र ज्ञान बुद्धिको हिसाबले अब्बल रहेको भन्दै उनले नेपालीबीचको एकताका लागि जोड दिए।

‘प्रवासमा नेपालीहरुबीच एकताको आवश्यकता टड्कारो रुपमा देखिएको छ। जुनसुकै वर्ग, क्षेत्र र विचार राख्ने भए पनि सम्वृद्ध नेपाल निर्माणको अभियानमा एकजुट हुन सक्नुपर्छ’, उनले भने, ‘मुलुक सम्वृद्ध नभई हामी विश्व सामु हाम्रो शिर ठाडो रहन सक्दैन।’

संस्थाले छोटो समयमाथुप्रै सफलताप्राप्त गरी सकेकोले ती सफलतालाई संरक्षण गर्दै आगामीदिन समृद्ध नेपालकालागि योगदानगर्ने बेलाभएको दावी गरे ।

टेक्सासमा आयोजित साधारणसभाबाट क्यानडा जाने क्रममा पन्तको स्वागतमा न्यूयोर्क च्याप्टरले कार्यक्रम राखेको हो। उनी एनआरएन क्यानडाको आयोजनामा लेट्स इन्भेष्ट इन नेपाल नामक एक दिने सम्मेलनमा भाग लिन टोरन्टो जाँदैछन्।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै पन्तले प्रवासमा रहेर विश्वका विभिन्न मुलुकमा भइरहेका प्रगति र लगानीलाई मुलुकसँग जोड्नु पर्ने, आर्थिक मात्र नभई सीप, ज्ञान पनि लगानी गर्न सकिने उनले औंल्याए। 

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले प्रवासमा रहेका नेपालीहरुले गरेको उपलब्धिलाई एनआरएनएले संयोजन गरेमा सहयोग गर्न आफूहरु तयार रहेको बताए। अरु देशभन्दा अमेरिकाको नेपाली डायस्पोरा ठूलो रहेको भन्दै उनले एनआरएनएमा अमेरिकाले उचित स्थान पाउनुपर्ने माग गरे।

‘एनआरएनमा सबैभन्दा बढी सदस्य भएको देश अमेरिका हो। त्यसैले एनआरएन कार्यसमितिमा अमेरिकाको उचित प्रतिनिधित्व हुनुपर्दछ’, उनले भने।

राजनीतिक आस्था र विचार जता भए पनि मुुलुकको सम्वृद्धिका लागि सबै विचारसमूह एकै स्थानमा रहनुपर्ने उनको भनाइ थियो।

प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापाले सम्वृद्ध नेपाल निर्माण अभियानमा आफ्नो संगठन जस्तोसुकै सहयोग गर्न तयार रहेको वचन दिए। कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले गैरआवासीय नेपाली संघले छोटो समयमा प्राप्त गरेको उपलब्धिलाई बचाउँदै सम्वृद्ध नेपालनिर्माणमा भैरहेको अभियान सफल बनाउन जोड दिए।

प्रकाशित: ९ माघ २०७३ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App