७ वैशाख २०८१ शुक्रबार
समाज

एक सातामा २५ हजारलाई सेवा

झापा- कम्तीमा २५ हजार सर्वसाधारणको निःशुल्क उपचार गर्ने उद्घोषसहित नेपाली कांग्रेसको आयोजनामा झापामा 'प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव' शनिबार शुरु भएको छ। मेचीनगरको इँटाभट्टास्थित खुला मैदानमा निर्मित अस्थायी शिविरबाट एक सातासम्म तीन सय स्वास्थ्यकर्मीले सर्वसाधारणलाई उपचार सेवा दिनेछन्।

महोत्सव आयोजनाका नेतृत्वकर्ता युवा नेता विश्वप्रकाश शर्माले महोत्सवलाई 'राजनीतिले अजेन्डा बदल्नैपर्ने आवश्यकता' का रुपमा अर्थ्याउँदै आएका छन्। शनिबार महोत्सव शुरु हुँदा त्यसको छनक मिल्थ्यो। आयोजक पार्टी भए पनि कार्यक्रम स्थलभरि कतै पनि पार्टी झन्डा थिएन। नेताका लम्बेतान भाषणको शृंखला पनि थिएन। विभिन्न भेषभूषामा सजिएका बालबालिकाले राष्ट्रिय धुनमा स्वर भरेर उद्घाटन हुनासाथ स्वास्थ्य परीक्षण सुरु भएको थियो। पहिलो दिन ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाइएको थियो। उद्घाटनकै दिन १ हजार ६ सय ९७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

'दलहरूले जनतासँग जोडिने कार्यक्रममा हात हाल्नुपर्छ भन्ने मान्यताले यो कार्यक्रम आयोजना भएको हो', नेता शर्माले भने, 'अब राजनीतिले आफ्नो अजेन्डा बदल्नुपर्छ। हामीले सर्वसाधारणको स्वास्थ्योपचारमा देखाएको चासो त्यसको प्रारम्भ हो।' अरु बेला दलका स्थानीय नेता घरघर पसेर सर्वसाधारणलाई बोलाउँदैछन् भने बुझे हुन्थ्यो, उनीहरू पार्टीको सभाका लागि भाषण सुनाउन वा जुलुसमा आइदिन भनिरहेका हुन्थे। पछिल्लो साता पूर्वोत्तर झापाका घरघरमा कांग्रेस कार्यकर्ता डुले। तर, उनीहरूले यसपटक नितान्त फरक निम्तो दिए। 'पार्टीले तपाईंहरूका लागि सात दिनसम्म स्वास्थ्य महोत्सव गर्दैछ, परीक्षण र उपचारका लागि आउनुस्' भन्दै उनीहरूले निम्तो दिँदा छक्क परेका धेरै सर्वसाधारण पहिलो दिन कार्यक्रमस्थलमा उपचार पाउँदा दंग थिए। 'अरु बेला पार्टीहरूले खाली भाषण सुन्न बोलाउँथे,' चिकित्सकले रगत जाँचका लागि लेखिदिएको पुर्जी (प्रेसक्रिप्सन) हातमा बोकेकी बाहुनडाँगी ३ की ६७ वर्षीया यममाया थापाले भनिन्, 'यसपालि चाहिँ दबाई गर्न बोलाएर राम्रो गरे।'

विभिन्न रोगसँग सम्बद्ध ५० भन्दा बढी विशेषज्ञ चिकित्सक, त्यतिकै संख्याका मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले परीक्षण र उपचार सेवा दिइरहेको महोत्सवमा प्याथोलोजी, रेडियोलोजी सेवासमेत उपलब्ध छ। औषधिसहित सबै सेवा निःशुल्क गरिएको छ। काठमाडौं, धरान, विराटनगर तथा झापाकै विभिन्न अस्पतालका स्वास्थ्यकर्मी खटिएका छन्। जनतासँग प्रत्यक्ष जोडिएका सवालमा मौन रहने आरोप खेप्ने दलहरूको छवि बदल्ने गरी कांग्रेसले स्वास्थ्य महोत्सव गरेको भन्दै अन्य दलले पनि प्रशंसा गरेका छन्।

आयोजक समिति संयोजक इन्द्रबहादुर बुढाथोकीका अनुसार महोत्सवमा अंक २५ को संयोग जुरेको छ। कम्तीमा २५ हजार बिरामीको उपचार गर्ने लक्ष्य लिएको महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। देशका विभिन्न २५ अस्पताल र तिनका टोली सहभागी छन्। महोत्सवलाई न त कुनै सरकारी कार्यालयको सहयोग छ न स्वास्थ्य मन्त्रालयको नै। घरघरमा गएर २५ रुपैयाँ उठाएर खर्चको जोहो गरिएको छ। स्वास्थ्यकर्मी निःशुल्क खटिएका छन्।

महोत्सवमा ६० वर्ष माथिका नागरिकका लागि जेरियाटि्रसियन ‐बुढ्यौलीपनका कारण हुने रोग) विशेषज्ञ, अर्थाेपेडिक, हाडजोर्नी, आयुर्वेदिक, जनरल फिजिसियन र आँखाको उपचार सेवा दिइनेछ। बालरोग विशेषज्ञ, नाक, कान, घाँटी, मुटु, मधुमेह, मिर्गौला, श्वासप्रश्वास, स्त्रीरोग विशेषज्ञ, पाठेघरको मुखको क्यान्सर, नशा रोगलगायतका विशेषज्ञ चिकित्सकको सेवा पनि महोत्सवमा उपलब्ध हुनेछ। विभिन्न औषधि उत्पादक कम्पनीले निःशुल्क औषधिसमेत प्रदान गर्नेछन्। प्लस टु पढ्दै गरेका कम्तीमा १ हजार विद्यार्थीको रक्त समूह पहिचान गर्ने लक्ष्यका साथ महोत्सव स्थलमा प्याथोलोजी सेवाको व्यवस्था छ।

महोत्सवमा स्वास्थ्य परीक्षणमात्रै भइरहेको छैन, स्वास्थ्यसम्बन्धी बहस पनि भइरहेका छन्। पहिलो दिन 'रोग :  अनुभव र अनुभूति' का बारेमा बहस भयो। यसमा पूर्वसभासद् शान्ता चौधरी, उमेशजंग रायमाझी, अरुण बुढाथोकी, भक्ति सिटौला र डाक्टर रमेश कँडेलले अनुभव सुनाए। यसैगरी लागूऔषधमुक्त नेपाली समाज विषयमा अभियन्ता वसन्तराज कुँवर, विज्ञ कृष्ण फुयाँल र डा. तुषार यादवले प्रस्तुति दिनेछन् भने स्वस्थ समाजका लागि स्वस्थ साहित्य विषयमा खगेन्द्र संग्रौला र अभि सुवेदीले आफ्नो विचार पेस गर्नेछन्। संस्कारगत अस्वस्थता चिरफार एवं निदानको खोजी विषयक छलफलमा चिन्तक प्रदीप गिरीले विचार दिनेछन्।

प्रकाशित: ९ माघ २०७३ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App