६ वैशाख २०८१ बिहीबार
राजनीति

वैशाखमा चुनाव गर्न तीन दल सहमत

काठमाडौं- प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र वैशाखमा स्थानीय तहको चुनाव गर्न सहमत भएका छन्। तर चुनाव कसरी गर्ने भन्नेमा  सहमति जुट्न सकेन। तीन दलले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरी आगामी वैशाखभित्र स्थानीय तहको चुनाव गर्ने र मंसिरभित्र प्रदेशसभा र संघीय संसद्को चुनाव गर्ने सहमति गरेका हुन्। मधेसी मोर्चासँग छलफल गरी सरकारले चुनाव मिति टुंगो लगाउनेछ। 

वैशाखभित्र स्थानीय तहको चुनाव गर्न चुनावसम्बन्धी विधेयक संसद्बाट छिट्टै पास गर्न पनि दल सहमत भएका छन्। 'यही माघ १५ भित्र निर्वाचनसम्बन्धी सबै कानुन बनाउने सहमति भएको छ', बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकसँग भने, 'वैशाखमा स्थानीय तहको चुनाव गर्न तीन दल सहमत भएका छन्।'

यही माघ १५ भित्रै चुनाव मिति घोषणा हुने सम्भावना रहेको पनि उनले बताए। 'सम्भवतः माघ १५ भित्रै चुनाव मिति पनि घोषणा हुन्छ', पौडेलले भने। 

एमाले नेता सुवास नेम्बाङले वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रमुख तीन दलले सहमति गरेको बताए। 'वैशाखमा स्थानीय तहको चुनाव गर्न तीन दलले सैद्धान्तिक सहमति जनाएका छन्', नेम्बाङले भने, 'वैशाखमा चुनाव गर्न दुईचार दिनभित्रै निर्वाचनसम्बन्धी कानुन बनाउने सहमति पनि भएको छ।'

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पनि वैशाखमा स्थानीय चुनाव गर्न तीन दलले करिबकरिब सहमति जनाए पनि सरकार एकपटक मधेसी मोर्चासँग वार्ता गरी चुनाव मिति टुंगो लगाउने   पक्षमा रहेको बताए। 

स्थानीय तह चुनाव गर्न तीन दलले सैद्धान्तिक सहमति गरे पनि बैठकमा संविधान संशोधन विधेयकबारे भने सहमति जुट्न सकेन। संशोधन विधेयक  र चुनाव सँगसँगै अघि बढाउन नेपाली कांग्रेस र माओवादी केन्द्रले राखेको प्रस्तावलाई एमालेका नेताले अस्वीकार गरे। एमाले नेता नेम्बाङले बैठकमा संविधान संशोधन विधेयकबारे कुनै कुरा नभएको बताए। तर कांग्रेस नेता पौडेलले संशोधन विधेयक र चुनाव तयारी सँगसँगै अघि बढाउने सहमति भएको बताए। 'संशोधन विधेयक आफ्नो ठाउँमा अघि बढ्छ, चुनाव तयारी पनि सुरु गरौं भन्ने सहमति भएको छ', पौडेलले भने।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले पनि संविधान संशोधन विधेयकमा कुनै सहमति नजुटेको बताए। 'संशोधन विधेयकलाई थाती राखेर चुनावमा जाऔं भन्ने कुरा पनि आयो, संशोधन विधेयक र चुनाव  सँगसँगै अघि बढाऔं भन्ने कुरा उठ्यो', खनालले भने, 'संशोधन विधेयकमा सहमति जुट्न सकेन।'

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता पौडेल र विमलेन्द्र निधि तथा एमाले अध्यक्ष केपी ओली, नेता सुवास नेम्बाङ र भीम रावलको उपस्थिति थियो। यसैगरी माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ उपस्थित थिए। बैठकमा बोलाइए पनि राप्रपा अध्यक्ष कमल थापा मकवानपुर गएकाले सहभागी नभएको सो दलका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।

प्रकाशित: ९ माघ २०७३ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App