८ वैशाख २०८१ शनिबार
समाज

राप्तीको बाढीले कटान र डुबान गर्न थाल्यो

नेपालगन्ज-राप्ती नदीमा आएको बाढीले जिल्लाको फत्तेपुरमा क्षति पुर्याउन सुरु गरेको छ। फत्तेपुर–१ खल्ला झगडिया गाउँमा बाढी पस्न सुरु भएको स्थानीय बासिन्दा दुर्गाप्रसाद पाण्डेले जानकारी दिए। स्थानीय निम्न माध्यामिक बिद्यालय परिसर सम्म बाढी आइसकेको र गाउँतिर बाढी आउने क्रम बढेको उनले बताए। उनले नागरिकसँग टेलिफोनमा भने, ‘बाढीले स्कुलको दक्षिण साइडमा ५० मिटर जति बाटो काटिसक्यो, हामीहरु गाउँ छाडेर अग्लो ठाउँमा बसेका छौं ।’ नदीले धमाधम कटान गरिरहेको उनले बताए। नदी आसपासका अन्य गाउँमा पनि क्षति गरेको खबर प्राप्त भएको छ।

पहाडी क्षेत्रमा परेको अविरल बर्षाले राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेको छ। राप्तीको बाढीबाट हुने सम्भावित जनधनको क्षति कम गर्न बिहान प्रहरी, प्रशासनले आसपासका गाउँमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको थियो । त्यसक्षेत्रका स्थानीय बासिन्दालाई प्रहरीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तर गरिएको छ । कुसुमस्थित बाढी मापन केन्द्रको बिहान ११ बजेको रेकर्ड अनुसार नदीको सतह ५ मिटर २ सेन्टीमिटर सम्म पुगेको थियो।

सोही बाढी करिव ५ घण्टापछि प्रभावित क्षेत्र होलिया, फत्तेपुर, मटेहिया, गंगापुर, बेतहनी, बनकट्टी, कम्दी लगायत गाविस सम्म आइपुगेको हो  । पछिल्लो समयमा कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ४ मिटर ७० सेन्टीमिटर पुग्ने वित्तिकै प्रभावित क्षेत्रका गाउँमा पानी पस्ने निश्चित भएको छ । ‘कुसुममा ४ मिटर ७० सेन्टीमिटर पानीको सतह देखिएपछि हामीले सम्वन्धित गाविसका सचिव, विपत व्यवस्थापन टोली र प्रहरीलाई निर्देशन दियौं, ठाउँ–ठाउँमा साईरन बजाएर स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान भनिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने ।

पहाडी जिल्ला प्युठान र रोल्पामा बर्षा हुदाँ राप्ती नदीमा पानीको सतह बढ्छ । भारतले अन्र्तराष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले राप्ती नदीको प्राकृतिक निकास थुन्दा वर्षेनी बाँकेमा डुबान, कटान र पटान समस्या बल्झिदै आएको छ ।

 

 

प्रकाशित: २१ असार २०७३ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App