८ वैशाख २०८१ शनिबार
राजनीति

संशेाधन प्रस्ताव स्थगित गरी निर्वाचनकाे मिति घाेषणा गर्नुपर्छ : रायमाझी

काठमाडौं–सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबल गरिएको संविधान संशोधन विधेयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझीले भने, ‘सदनमा टेबल गरिएको संविधान संशोधन विधेयक फिर्ता लिने हो वा पेण्डिङ्मा राख्ने हो, त्यो सरकारको कुरा हो, तर संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्छ, र संविधान कार्यान्वयनमा जुट्नुपर्छ।’

रायमाझीले संविधान कार्यान्वयन नभए मुलुक पश्चगमन र प्रतिगामी दिशातर्फ जाने खतरा समेत औंल्याए। उनले भने, ‘म संविधान संशोधनको विपक्षमा छैन, तर संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ, राष्ट्रिय सहमति भयो भनेमात्रै उत्तम हुन्छ, नत्र यसले देशलाई फाइदा गर्दैन्।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले ५ नम्बर प्रदेश विभाजन गर्नेगरी आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएको जिकिर दोहोर्याउँदै भने, ‘अब संशोधनको कुरामा नअल्झिकन चुनावमा जानु नै उत्तम हुन्छ, जेठभित्रै स्थानीय तहको निर्वाचन गरेर जानुपर्छ, अब मधेशी मोर्चालेपनि सरकारले संशोधन गर्ने कोशिस गर्यो, तर संभव भएन भन्ने कुरा मनन गरेर आफ्ना एजेण्डासहित चुनावमा जानुपर्छ।’

उनले संशोधन विधेयक फेल भएपछि निन्याउरो मुख लगाएर जानुभन्दा आफ्नो एजेण्डासहित चुनावमा जाँदा नै उत्तम हुने तर्क गरे। नेता रायमाझीले चुनावको वातावरण बनाउनुपर्ने र निर्वाचनसम्बन्धी विधेयकहरु तिव्र गतिमा पारित गर्दै अघि बढ्नुपर्ने छ।

प्रकाशित: ८ माघ २०७३ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App