coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खर्चमा अंकुश लगाउँदै चीन

बेइजिङ- चीनियाँ फुटबल क्लबले विदेशी खेलाडी भित्र्याउन खर्चिने ठूलो धनराशीमा अंकुश लगाइने भएको छ। यसका लागि क्लबले भित्र्याउने विदेशी खेलाडी संख्या घटाउने चीनले यसै साता घोषणा गरेको छ। पछिल्लो समय इङलिस क्लब चेल्सीबाट ठूलो रकममा डिएगो कोस्टा चिनियाँ क्लबमा आबद्ध हुने समाचारले फुटबल जगत तरंगित भएको थियो। कोस्टाको समाचार सार्वजनिक भएलगत्तै चीनले भने विदेशी खेलाडीको संख्या कटौती गर्ने अर्को सनसनीपूर्ण घोषणा गर्‍यो।

नयाँ घोषणाअनुसार चीनियाँ सुपर लिगको एउटा खेलमा कुनै पनि क्लबले ३ भन्दा बढी विदेशी खेलाडी खेलाउन पाउने छैनन्। यो नियम यसै वर्षदेखि लागू हुने चीनियाँ फुटबल संघ (सिएफए)को वेभसाइटमा उल्लेख छ। चीनमा वर्षेनी मार्चमा राष्ट्रिय लिग (सुपर लिग) सुरु हुन्छ।

यसअघि सुपर लिगमा चीनियाँ क्लबले एकपटकमा ४ जना विदेशी खेलाडी मैदानमा उतार्न पाउँथे। तर तीमध्ये एक जना एसियाली फुटबल महासंघ (एएफसी) को सदस्य देशको हुनुपर्ने प्रावधान थियो। सिएफएका अनुसार नयाँ निर्णयले चिनियाँ फुटबलको समग्र विकास, स्थानीय खेलाडी उत्पादन र राष्ट्रिय टोलीको खेलस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ।

सिएफएले खेलाडीको सरुवा र पारिश्रमिकमा क्लबहरूले खर्चिरहेको औचित्यहिन ठूलो धनराशीमा लगाम कस्न सक्रिय हुने पनि जनाएको छ।

जनवरी १ मा हिउँदे सरुवा बजार खुलेपछि ठीक बीचमा सिएफएको निर्णय आएको छ। निर्णयले प्रक्रिया सुरु भएर टुंगिन लागेका खेलाडी सरुवा र अनुबन्ध प्रभावित हुनेछन्।

फुटबलप्रेमी राष्ट्रपति सी चिनफिङको चीनलाई फुटबलको शक्ति राष्ट्र बनाउने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने परिकल्पनाबाट निकै उत्साहित सुपर लिग क्लबका व्यावसायिक मालिकहरूले दिल खोलेर आफ्ना टोलीमा विदेशी खेलाडी भिœयाउन खर्च गरिरहेका छन्। यसका साथै उनीहरू फुटबलको आधारभूत विकासमा समेत ठूलो लगानी गरिरहेका छन्।

चिनियाँ क्लब संघाई एसआइपिजीले गत महिना चेल्सीका ब्राजिली मिडफिल्डर ओस्कारलाई भिœयाउन ६ करोड ३० लाख अमेरिकी डलर (६ करोड युरो) तिरेको थियो। यो यस वर्ष एसियाली क्लबले कुनै खेलाडीका लागि तिरेको ठूलो सरुवा रकममध्ये पाँचौं हो।

त्यहींकै अर्को क्लब संघाई सेन्हुवाले ठीक त्यसैबेला म्याचेस्टर युनाइटेडका पूर्वखेलाडी तथा म्यानचेस्टर सिटीका स्ट्राइकर अर्जेन्टिनाका कार्लोस टेभेजलाई सर्वाधिक पारिश्रमिकमा अनुबन्ध गरेको समाचार सार्वजनिक भएको थियो।

ओस्कार र टेभेज चीन जाने विदेशी सुपरस्टारहरु मध्ये पछिल्ला खेलाडी हुन्। चिनियाँ क्लबमा अनुबन्धित हुने विदेशी खेलाडीमध्ये अधिकांश दक्षिण अमेरिकी छन्, पछिल्ला वर्ष नचिताएको पारिश्रमिकको लोभमा उनीहरू धमाधम चीनमा ओइरो लाग्दैछन्।

तर चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले कोस्टाका लागि चिनियाँ क्लबले रुची देखाएको समाचारलाई आधारहीन भन्दै भने, 'मलाई कोस्टाको सरुवाबारे केही थाहा छैन। क्लबले यसबारे मलाई कुनै जानकारी दिएको छैन। उनको सरुवा एउटा अनुमान मात्रै हुनसक्छ।' प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले कोस्टाबिनै लिगको साबिक विजेता लेस्टरलाई ३–० ले पराजित गरेपछि आइतबार यस्तो प्रतिक्रिया दिएका थिए। चिनियाँ क्लबले देखाएको अभिरुचि र फिटनेस प्रशिक्षक जुलियो टुजसँग वादविवादका कारण लेस्टरविरुद्धको खेलमा कोस्टालाई नखेलाइएको गाँईंगुँईं चलेको थियो।

चिनियाँ फुटबल प्रशंसक र सरकार दुवै स्थानीय प्रतिभावान खेलाडी विदेशबाट आउनेको छायामा पर्नसक्ने आशंका गर्छन्। साथै उनीहरू विदेशी खेलाडी भिœयाउन खर्च गरिने ठूलो धनराशी स्थानीय खेलाडीको प्रतिभा निखार्न र तिखार्न प्रयोग गरियोस् भन्ने चाहन्छन्।

फिफा विश्व वरियताक्रमको ८२ औं स्थानमा रहेको चीनको अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धि क्षमता निकै तल छ। चीन अहिलेसम्म एकपल्ट मात्र विश्वकपमा छनोट भएको छ, जहाँ उसले एउटै खेल पनि जित्न नसकेको मात्र होइन विपक्षी टोलीविरुद्ध एक गोल समेत गर्न सकेन।

प्रकाशित: ८ माघ २०७३ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App