१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय गठबन्धन फुटको संघारमा

काठमाडौं- संघीय गठबन्धन फुटको संघारमा पुगेको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको गठबन्धनबाट आदिवासी जनजाति सम्बद्ध नेताले औपचारिक रुपमै बाहिरिने प्रस्ताव राखेका छन्। 

गठबन्धनमा आबद्ध आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका नेता डा. ओम गुरुङले बिहीबारको बैठकमा यस्तो प्रस्ताव राखेका हुन्। गुरुङ गठबन्धनका प्रवक्तासमेत हुन्। संघीय गठबन्धन र नयाँ शक्ति पार्टीको बिहीबारको संयुक्त बैठकमा गुरुङले अबदेखि आदिवासी र जनजातिहरू संघीय ग्ाठबन्धनमा बस्न नसक्ने प्रस्ताव राखेका थिए। उनको प्रस्तावलाई गठबन्धनका संयोजक यादवले भने अस्वीकार गर्दै मिलेर जान आग्रह गरेका थिए।

संघीय गठबन्धनमा मधेसी मोर्चासहित २९ पार्टी आबद्ध छन्। मोर्चामा सातवटा दल छन्। गठबन्धनमा आबद्ध राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम तामाङ तथा अर्का नेता पासाङ शेर्पा भने यसअघि नै नयाँ शक्ति पार्टीमा मिलिसकेका छन्।

बिहीबारको बैठकमा गुरुङको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, 'संघीय गठबन्धनमा आदिवासी जनजातिहरू रहे  तपाईंहरूलाई पनि अप्ठेरो हुन्छ। हामीलाई पनि अप्ठेरो हुन्छ। त्यसैले अबदेखि बाटो अलग अलग गरौं।'  गुरुङले अचानक यस्तो प्रस्ताव राखेपछि यादव अत्तालिएका थिए।

गुरुङले जनजाति र आदिवासी गठबन्धनबाट अलग  हुने प्रस्ताव आफूले राखेको स्वीकारे। 'आदिवासी र जनजाति अबदेखि गठबन्धनबाट अलग रहन्छौं  भन्ने प्रस्ताव मैले नै राखेको हुँ', नागरिकसंँग गुरुङले भने, 'उहाँहरू (मधेसी मोर्चाका नेता) लाई राजनीतिक लेनदेन, सत्ता समीकरण मिलाउन अन्तर्राष्ट्रिय दबाब परेको छ। त्यसैले संविधानन संशोधन विधेयक पास गर्न सरकारलाई सहयोग गर्ने पक्षमा हुनुहन्छ।'

गुरुङले  संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकबाट आफूहरूका मुद्दा सम्बोधन नहुने भएकाले आदिवासी र जनजाति त्यसको पक्षमा  नरहेको बताए। 'हामी संसद्मा टेबुल संशोधन विधेयकको पक्षमा छैनांै तर उहाँहरू (मोर्चाका नेता) परिमार्जन गर्ने भन्दै यही विधेयक पास गर्ने पक्षमा देखिनुभएको छ', गुरुङले भने।

स्रोतका अनुसार बैठकमा गुरुङले गठबन्धनमा नरहने प्रस्ताव राखेपछि यादवले संशोधन विधेयक परिमार्जन गर्न संयुक्त कार्यदल बनाउन प्रस्ताव राखेका थिए। 'बरु विधेयकमा कुन कुन बुँदामा परिमार्जन गर्न सकिन्छ। त्यसका लागि संयुक्त कार्यदल बनाआंै तर गठबन्धनमा विभाजन नल्याऔ', बैठकमा यादवको भनाइ उद्धृत गर्दै  स्रोतले भन्यो।

बैठकमा सहभागी नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि संघीय गठबन्धनमा विभाजन नल्याउन गुरुङलाई आग्रह गरेका थिए। 'गठबन्धनमा विभाजन नल्याऔं बरु सहकार्य गरेर अघि बढौं', भट्टराईले भनेका थिए।

गठबन्धनमा आबद्ध सद्भावना पार्टी महासचिव मनीष सुमनले बिहीबारको बैठकमा गुरुङले आदिवासी र जनजाति ग्ाठबन्धनबाट अलग हुने प्रस्ताव राखेको जानकारी दिए। 'तर हामीले मानेका छैनौं', सुमनले भने, 'संविधान संशोधन विधेयकलाई परिमार्जन गरी अघि बढाउन मिलेर जाऔं भन्ने  प्रस्ताव हामीले राखेका छौं।'

ग्ाठबन्धनमा आबद्ध  थरुहट तराई पार्टीका नेता तथा सांसद भानुराम चौधरीले कसैको स्वार्थमा मधेसी मोर्चाका नेताले संविधान संशोधन विधेयक पास गर्न खोजेमा आफूहरू गठबन्धनबाट अलग हुने बताए। 'वातावरण बनेसम्म उहाँहरू र हामी मिलेर बस्छौं। वातावरण बिग्रियो भने हामी गठबन्धनबाट अलग हुन्छौं'। चौधरीले भने।

२०७२ वैशाख ६ गते राष्ट्रियसभा गृहमा मधेसी मोर्चा, आदिवासी जनजातिले संयुक्त कार्यक्रम गरी २६बुँदे माग राख्दै गठबन्धन घोषण गरेका थिए। स्थापनादेखि नै यादवले गठबन्धनको नेतृत्व गर्दै आएका छन्। आदिवासी जनजाति नेताले  गठबन्धनमा मधेसी मोर्चा हाबी भएको आरोप लगाउँदै आएका छन्।

यादवको पार्टी संघीय समाजवादी फोरम नेपालमा पनि  आदिवासी जनजाति सम्बद्ध नेता छन्। संघीय गठबन्धनबाट आदिवासी जनजाति अलग भए फोरममा पनि फुट आउने भयले यादव चिन्तित बनेको स्रोत बताउँछ।

प्रकाशित: ८ माघ २०७३ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App