coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आतंकवादभन्दा वातावरणीय अपराध खतरा

काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले आतंकवादी गतिविधिभन्दा वातावरणीय अपराध बढी खतरा रहेको ठहरसहित रोकथामका लागि  तीनवर्षे कार्ययोजना बनाएको छ। इन्टरपोलको शुक्रबार काठमाडौंमा सम्पन्न २३औं एसिया क्षेत्रीय सम्मेलनले सन् २०२० सम्म एसिया र अफ्रिकाबीचको वातावरणीय अपराध सञ्जाल भत्काउने रणनीतिसहित कार्ययोजना तय गरेको हो। सम्मेलनले तीनवर्षे रणनीतिक योजना कार्यान्वयनका लागि दुई सय ५८ अर्ब अमेरिकी डलर (करिब दुई सय ७८ खर्ब ६४ अर्ब रुपैयाँ) को बजेट छुट्याएको छ।

पर्यावरणीय अनुकूलतालाई असर गर्ने सबै प्रकारका क्रियाकलापलाई इन्टरपोलले वातावरणीय अपराधको सूचीमा राखेको छ। वन्यजन्तु चोरीसिकार र आखेटोपहारको कारोबारले संगठित अपराधको स्वरुप लिएको सम्मेलनको ठहर छ। यसलाई रोक्न इन्टरपोल सदस्य राष्ट्र संयुक्त रुपमा अघि बढ्नुपर्ने निष्कर्ष सम्मेलनको छ।

इन्टरपोलका महासचिव जोर्गेन स्टकले वन्यजन्तु सम्पदा संरक्षण सामूहिक दायित्व भएको बताए। उनले भने, 'हाललाई एसिया–अफ्रिकाबीच रहेको वन्यजन्तुसम्बन्धी अपराधको जालो भत्काउन हामीले बनाएको रणनीति सफल हुनेछ, यो विश्वका लागि मार्गचित्र पनि हुनेछ।'

नेपालले विश्व समुदायलाई दुर्लभ वन्यजन्तुका आखेटोपहार र त्यसबाट निर्मित वस्तु अन्तर्राष्ट्रिय बजारमा खरिदबिक्री हुँदासम्म चोरीसिकार रोक्न सम्भव नहुने जानकारी गराएको छ। वन्यजन्तुविरुद्धको अपराध नियन्त्रण र नेपालले गरेको प्रगतिका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डिआइजी नवराज सिलवालले सम्मेलनमा जानकारी गराएका थिए।

ब्युरोले नेपाल लगातार एकसिंगे गैडाका लागि शून्य सिकार वर्ष मनाउन सफल रहेको जानकारी गराउँदै धनाढ्यले बाघको छाला र हड्डीबाट निर्मित वस्तु घरमा सजाउने, हात्तीका दारा र गैंडाको खाग बजारमा मूल्यवान हुनु र हाब्रेको छाला टाउकोमा लगाउने प्रचलन रोक्न आग्रह गरेको छ।

सम्मेलनमा नेपालले एसियामा सक्रिय १४ हजारभन्दा बढी इस्लामिक स्टेट अफ इराक एन्ड सिरियाका सदस्यबाट नेपाललाई कुनै पनि समय खतरा हुनसक्ने जानकारी विश्व समुदायलाई गराएको छ। नेपालमा  आतंकवादी संगठनका गतिविधि नभए पनि भविष्यमा हुन सक्ने खतराबारे जानकारी गराएको हो।

नेपाल प्रहरीको विशेष ब्युरोले एसियामा छरिएका आइएसआइएसका सदस्यबाट कूटनीतिक नियोगमा खतरा हुनसक्ने जानकारी पनि गराएको छ। 

ब्युरोका तर्फबाट प्रस्तुति दिँदै डिआइजी बमबहादुर भण्डारीले खुला सिमाना रहे पनि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय आतंकवादविरुद्धका सूचना र कारबाहीलाई तीव्रता दिएको जानकारी गराए। ब्युरोले नेपाल अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध लड्न सक्षम रहेको तर त्यसका लागि प्राविधिक सहयोग र उचित तालिमको अभाव खड्किएको जनाकारी पनि विशव समुदायलाई गराएको छ।

पाँचबुँदे रणनीति

इन्टरपोल सम्मेलनले अपराध नियन्त्रणका लागि पाँचवटा रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ। तीनवर्षे रणनीतिक योजनाअन्तर्गत एसियाली क्षेत्रमा संवेदनशील समुदायको सहयोगमा एकीकृत कार्य सञ्चालन गर्ने, आतंककारी तथा आतंकवादी संगठनविरुद्ध प्रहरी सहकार्य बलियो बनाउँदै विस्तार गर्ने,  एसियाली क्षेत्रमा विश्व साइबर अपराधविरुद्ध रणनीतिक कार्ययोजनालाई  प्राथमिकता दिने तथा योजना र अन्तरमहादेशीय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने बुँदा समेटिएका छन्।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आतंकवाद, संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, सामाजिक अपराध, सीमा सुरक्षा, बालश्रम शोषणलगायत अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि इन्टरपोलका सदस्य राष्ट्रबीच आधुनिक प्रविधि तथा सूचना आदानप्रदानको गतिलाई तीव्रता दिन जरुरी भएको बताए।

नेपालले आयोजना गरेको तीनदिने सम्मेलन शुक्रबार समापन भएको हो। सम्मेलनमा इन्टरपोल अध्यक्ष, ३३ राष्ट्रका प्रहरी प्रमुखसहित एक सय ६६ प्रतिनिधि सहभागी भए। प्रत्येक २ वर्षमा हुने इन्टरपोलको आगामी  क्षेत्रीय सम्मेलन सन् २०१९ मा इरानमा गर्ने निर्णय भएको छ।

प्रकाशित: ८ माघ २०७३ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App