coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ट्रम्पको हातमा अमेरिकी लगाम

काठमाडौं- कडा मिजासका व्यापारी डोनाल्ड जोन ट्रम्पले ४५औं राष्ट्रपतिका रुपमा शुक्रबारबाट महाशक्तिराष्ट्र अमेरिकाको नेतृत्व सम्हालेका छन्। ट्रम्पले शुक्रबार राति नेपाली समयअनुसार पौन ११ बजे बाइबल हातमा लिएर प्रधानन्यायाधीशसमक्ष पदको शपथ लिएका थिए। त्यसलगत्तै उनले औपचारिक रुपमा पदभार ग्रहण गरे। चारवर्षे कार्यकाल सुरु हुनुअघि उनले २० मिनेट लामो पहिलो भाषण दिएका थिए।

ट्रम्पले शुक्रबार साँझ ह्वाइट हाउसबाट बाहिरिँदै गरेका राष्ट्रपति बाराक ओवामासँग 'ब्रेकफास्ट' गरेका थिए। त्यसपछि चर्च गएका उनी प्रथम महिला मेलानिया ट्रम्पसँगै ह्वाइट हाउस पुगेर ओबामा दम्पतीसँग भेट गरेका थिए। त्यसपछि परम्पराअनुसार ट्रम्प र ओबामा पेन्सलभानिया एभेन्युस्थित क्यापिटल हिल पुगेका थिए। त्यहाँ सुरुमा न्यायाधीश क्लेयरेन्स थोमसले नयाँ उपराष्ट्रपतिमा माइक पेन्सलाई शपथ खुवाए। लगत्तै प्रधानन्यायाधीश जोन रोबर्टले ट्रम्पलाई अमेरिकाको ४५ औं नेतृत्वकर्ताका रुपमा राष्ट्रपति पदको शपथ खुवाएका थिए।

रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनाव लडेका उनले डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई इलेक्टोरल कलेजमा पछि पारेका थिए। यद्यपि, हिलारीले उनले भन्दा करिब २९ लाख पपुलर भोट ल्याएकी थिइन्।

लाखौं अमेरिकी सहभागी शपथग्रहण समारोहमा बाराक ओबामा दम्पतीका साथै अमेरिकी पूर्वराष्ट्रपतिहरु थिए। समारोहमा विभिन्न देशका नेता तथा कूटनीतिक अधिकारीको सहभागिता थियो। ट्रम्पको २० मिनेट लामो भाषण उनले महिनादिनअघि नै आफैं लेखेको शुक्रबार टि्वटमार्फत जानकारी दिएका थिए। शपथपछि आयोजित लिंकन मेमोरियल कन्सर्टमा नवननियुक्त राष्ट्रपति ट्रम्प दम्पती सहभागी थिए।

अमेरिकी संविधानमै राष्ट्रपतिको शपथग्रहण मिति जनवरी २० तारिख तोकिएको छ। यसअघि यो मिति मार्च ४ रहेकोमा बीसौं संशोधनले नयाँ मिति निर्धारण गरेको थियो। शपथग्रहणका दिन ट्रम्पविरोधीले अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित: ८ माघ २०७३ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App