७ वैशाख २०८१ शुक्रबार
अन्य

एसिया–अफ्रिकाबीचको अपराध जालो केलाउँदै इन्टरपोल

काठमाडौं– आतंकबाद भन्दा बढी वातावरणीय अपराधले मानवीय खतरा रहेको ठहर सहित अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनले तीनवर्षे रणनीति सहितको कार्ययोजना बनाएको छ। इन्टरपोलको २३ औं एसिया क्षेत्रिय सम्मेलनले सन २०१७ देखि २०२० सम्म एसिया र अफ्रिका बिचको वातावरणीय अपराध सञ्जाल भत्काउन रणनीति बनाएको हो। तीन वर्षे रणनीतिक योजनाका लागि २५८ अर्व अमेरिकी डलर बराबर बजेट समेत छुट्टाइएको छ।

पर्यावरणीय अनुकुलतालाई असर गर्ने सबै प्रकारका क्रियाकलापलाई इन्टरपोलले वातावरणीय अपराधको सूचीमा राखेको छ। बन्यजन्तुको अवैध चोरी शिकारी र आखेटोपहारको अवैध कारोबारले संगठित अपराधको स्वरुप लिएको सम्मेलनको ठहर थियो। बन्यजन्तुका अंगको अवैध कारोबारबाट वर्षेनी विश्वमा खर्बौ अमेरिकी डलर बराबर आर्थिक उर्पाजन हुने भएकाले रोक्न इन्टरपोल सदस्य राष्ट्रबीच संयुक्त कारवाहीको अवधारणा इन्टरपोलले अघि सारेको हो।

इन्टरपोलका महासचिव जोर्गेन स्टकले विश्वमा रहेका बन्यजन्तुका सम्पदा संरक्षण सामुहिक दायित्व भएको बताए। उनले भने ‘ हाललाई एसिया–अफ्रिकाबीच रहेको बन्यजन्तु सम्बन्धी अपराधको जालो भत्काउन रणनीति सफल हुनेछ, यो विश्वका लागि मार्गचित्र हुनेछ।

नेपालले विश्व समुदायलाई दुर्लभ बन्यजन्तुका ओखेटोपहार र त्यसबाट निर्मित बस्तु अन्तर्राष्ट्रिय बजार र आलिसान घरका शोभा बढाउँदासम्म बन्यजन्तुको चोरी शिकारी रोक्न सम्भव नहुने जानकारी गराएको छ। बन्यजन्तु बिरुद्धको अपराध नियन्त्रण र नेपालले गरेका कार्य प्रगतीका बिषयमा सम्मेलनलाई  केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डिआईजी नवराज सिलवालले जानकारी गराएका थिए।

ब्युरोले नेपाल लगातार एकसिङगे गैडाका लागि शुन्य शिकार वर्ष बनाउन सफल रहेको बताउँदै विश्व समुदायले बाघको छाला र हड्डीबाट निर्मित बस्तु घरमा सजाउने, हात्तीका दारा र गैडाको सिङले बजारमा मुल्यवान हुनु र हाब्रेको छाला टाउकोमा लगाउने प्रचलन रहेका देशले त्यस्तो रोक्न आग्रह गरेको हो। डिआईजी सिलवालले सम्मेलनमा बन्यजन्तु सम्बन्धी अपराधमा संलग्न करिब पाँचसय ब्यक्ति कानुनको कठघरमा पुगेको जानकारी दिए।

नेपालले एसियामा क्रियाशिल रहेका १४ हजार भन्दा बढि इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आईएसएस) का सदस्यबाट नेपाललाई कुनैपनि समय खतरा हुनसक्ने जानकारी विश्व समुदायलाई गराएको छ। नेपालमा  आतंकबादी संगठनका उल्लेख्य गतिविधी नभएपनि भविष्यमा हुन सक्ने खतराका बिषयमा विश्व समुदायलाई झक्झकाएको हो।

नेपाल प्रहरीको बिशेष ब्युरोले एसियामा छरिएका आईएसआईएसका सदस्यबाट नेपालस्थित कुटनीतिक नियोगमा खतरा हुनसक्ने जानकारी गराएको हो। नेपाल प्रहरीको प्रस्तुतीमा कुटनीतिक नियोगका कार्यालय र अधिकारीको सुरक्षामा नेपाल निकै गंभिर रहेपनि आतंकबादी संगठनको प्रविधियुक्त आक्रमणबाट लडन साधनस्रोतको अभाव रहने भन्दै सचेत, सजगता र सहकार्य अनिबार्य रहेको जनाएको हो।

ब्युरोका तर्फबाट प्रस्तुती दिदै डिआईजी बमबहादुर भण्डारीले खुला सिमाना रहेपनि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय आतंकबाद बिरुद्धका सूचना र कारवाहीलाई तिब्रता दिएको जानकारी गराएका थिए । नेपाललाई आश्रय र सुरक्षित स्थलका रुपमा हालसम्म आतंकबादी संगठनका सदस्यले गर्न खोजेको भएपनि नेपालले पाएका सूचनाका आधारमा तत्काल कारवाही गरेको र ठूला योजना विफल बनाएको ब्युरोले जानकारी गराएको थियो।

सम्मेलनमा बिहीबारका लागि तय भएको आतंकवाद नियन्त्रण विरुद्ध सुदृढीकरण अन्तर्गत नेपालले आफ्नो धारणा, अनुभव र कार्ययोजना अघि सारेको हो । नेपालले काठमाडौंमा भेला भएका विश्वभरका प्रहरी तथा कानून कार्यन्वयन इकाईका अधिकारी सामु नेपाल अन्तर्राष्ट्रिय आतंकबाद बिरुद्ध लडन सक्ष्म रहेको धारणा राखेको हो । नेपाललाई पूर्व सूचना, प्राविधिक सहयोग र उचित तालिमको मात्र आवश्यकता रहेको बताउँदै सहयोग गर्न आग्रह समेत गरेको हो।

इन्टरपोलको पाँच बुँदे रणनीति

सम्मेलनले पाँचवटा रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ। इन्टरपोलले तीनवर्षे रणनीतिक योजना अन्तर्गत एसियाली क्षेत्रमा संवेदनशील समुदायको सहयोगलाई एकीकृत कार्य सञ्चालन गर्ने, आतङ्ककारी तथा आतंकबादी संगठन बिरुद्ध प्रहरी सहकार्य मजबुत र बिस्तार गर्ने,  एसियाली क्षेत्रमा विश्व साइबर अपराध विरुद्धको रणनीतिक कार्ययोजनाको प्राथमिकता तथा योजना र अन्तर–महादेशिय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने योजना रहेका छन्।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आतंकवाद, संगठित अपराध, साइबर क्राइम, आर्थिक अपराध, सामाजिक अपराध, सिमा सुरक्षा, बालश्रम शोषण लगायतका अपराध नियन्त्रण तथा न्यूनिकरणका लागि इन्टरपोलका सदस्य राष्ट्रहरुबीच आधुनिक प्रबिधि तथा सूचना आदानप्रदानको गतिलाई तीब्रता दिन जरुरी भएको बताए।

प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माले अन्तर्राष्ट्रिय अपराधको जानकारी पछि नेपाली सन्दर्भमा कार्ययोजना बनाउन सघाएको बताए । उनले अन्तरदेशिय सम्बन्ध विस्तार, अपराध अनुसन्धानमा सहजता, नेपालको कला संस्कृतिको विश्वसामु परिचय र नयाँ प्रविधिजन्य प्रशिक्षणमार्फत दक्षता अभिबृद्धि सम्मेलनबाट हुने बताए।

नेपालले आयोजना गरेको तीनदिने सम्मेलन शुक्रबार समापन भएको हो । इन्टरपोलका अध्यक्ष सहित ३३ राष्ट्रका प्रहरी प्रमुखहरु सहित एक सय ६६ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रत्येक २ वर्षमा हुने इन्टरपोलको आगामी २४ औं क्षेत्रीय सम्मेलन सन् २०१९ मा इरानमा गर्ने निर्णय सम्मेलनले गरेको छ।

प्रकाशित: ७ माघ २०७३ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App