coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

२५ लाख बढीको सिमी, फापर किन्दै खाद्य संस्थान

सुमन मल्ल

मुगु- नेपाल खाद्य संस्थान मुगु शाखाले २५ लाख बढी मुल्यको जिल्ला भित्रबाट उत्पादित अर्गानिक खाद्य बस्तु सिमी र फापर खरिद गर्ने भएको छ।

स्थानीय उत्पादनलाई बढवा गर्न र जिल्लालाई कृषि उत्पादनमा आत्म निर्भर बनाउने प्रयास स्वरुप नेपाल खाद्य संस्थान मुगु शाखाले स्थानीय कृषकले उत्पादन गरेको सिमी र फापर खरिद गर्न लागेको नेपाल खाद्य संस्थान मुगु शाखाले जनाएको छ। अघिल्लो वर्ष १ सय २० रुपैयाँ प्रति केजीका दरले ८० क्वीन्टल सिमी खरिद गरेको संस्थानले चालु आर्थिक वर्षमा १ सय ३५ रुपैयाँ प्रति केजीका दरले १ सय ३० क्वीण्टल सिमी खरिद गर्ने भएको छ। त्यस्तै संस्थानले अघिल्लो आर्थिक वर्षमा ६० रुपैयाँ प्रति केजीका दरले ६० क्वीण्टल फापर खरिद गरेको थियो भने अहिले १ सय क्वीण्टल फापर खरिद गर्ने जनाएको छ। तिते फापर प्रति केजी ८० रुपैयाँ र मिठे फापर प्रति केजी १ सय रुपैयाँका दरले खरिद गर्ने संस्थानका मुगु शाखा प्रमुख गंगप्रसाद साहले जानकारी दिए। 

गएको आर्थिक वर्षमा संस्थानले स्थानीय कृषकबाट ९ लाख ६० हजार मुल्य बराबरको सिमी र ३ लाख १५ हजार बराबरको फापर खरिद गरि काठमाण्डौ निर्यात गरेको थियो। गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा मुगाली सिमी र फाफरको माग बढेकाले यो वर्ष १७ लाख ५५ हजार बराबरको सिमी र ८ लाख बराबरको फापर खरिद गरेर काठमाण्डौ निर्यात गर्ने संस्थानले जनाएको छ। राजधानीको माग अनुसार स्थानीय कृषकले उत्पादन गरेको सिमी र फापर खरिद गर्ने संस्थानको भनाई छ। तर बजारको माग अनुसार कृषकले स्थानीय उत्पादनमा वृद्धि गर्न सकेका छैनन । आयातित खाद्य वस्तुले स्थानीय बजार ओगटेको र स्थानीय कृषक त्यसमा आकर्षित भएका कारण स्थानीय उतपादनमा ह्रास आई रहेको संस्थानको भनाई छ ।

 जिल्लाका गम भेगका रोवा ,रुगा र पिना, करानका माँग्री, पुलु, किम्री , खत्याड भेगका खमाले, सेरी, गम्था, सोरु भेगका कालै, धैनकोट , जिमा, नार्थपु गाविसबाट सिमी र फापर खरिद गरिने नेपाल खाद्य संस्थान मुगु शाखाले जनाएको छ। काठमाण्डौमा मुगुमा उतपादित सिमी र फापरको माग अत्याधिक रहे पनि जिल्लाले पर्याप्त उत्पादन गर्न नसकेको संस्थानका शाखा प्रमुख साहले बताए।

 

प्रकाशित: ७ माघ २०७३ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App