चिन्तन

तपोवनमा ओशो समाधि

शुक्रबार, ०७ माघ २०७३, १० : ३२ स्वामी योगानन्द

सन् १९९७ को अप्रिल महिना थियो। गतेचाहिँ ठ्याक्कै याद भएन। म हितैषी साथी सुरेन्द्र बानियाँका साथमा ओशो शिष्य सुदीप पौडेलको इन्जिनियरिङ कन्सल्टेन्सी फर्ममा खाली समय खर्च गर्न पुगेको थिएँ। कुराकानी चल्दाचल्दै ओशो तपोवनमा तीन दिवशीय ध्यान शिविर सञ्चालन हुने कुरा थाहा भयो। मलाई ध्यान शिविर कस्तो हुन्छ केही अनुभव थिएन। त्यसताका म जीवनका विविध समस्याबाट अलि आजित भएको अवस्था थियो। मैले अध्ययन गरेको इलेक्ट्रिकल इन्जिनियरिङका केही विषय ब्याक थिए। कुनै जागिर पनि खाएको थिइन। घर परिवार पनि त्यसकारण चिन्तित थिए। प्रेम जीवनमा पनि अलि समस्या आइरहेको थियो। यी सबै कुराले बाहिर हाँसे पनि भित्रभित्रै मन अति उदास रहने गर्थ्याे।

ओशोले आफू बस्ने पुना आश्रमको च्वाङ्गत्सु हलमा आफ्नै रेखदेखमैै आफ्नै समाधि मन्दिर निर्माण गर्न लगाएका थिए। जसमा लेख्न भनेका थिए– ओशो नेभर बर्न नेभर डाइ वन्ली भिजिटेड दिस प्लानेट अर्थ।

जब मित्रहरुले मलाई ध्यान शिविरमा जाने कुरा सुनाए, तब मसँग गोजीमा धेरै पैसा पनि थिएन। तर पनि शिविरमा जाने मन भयो। मद्रासमा इन्जिनियरिङ पढ्दै गर्दा रुम पार्टनर सुरेन्द्र दाइले सिकाएर कहिलेकाहीँ ओशोको कुण्डलिनी नामको ध्यानचाहिँ गरिएको थियो। सुरेन्द्र दाइले बिहानमा गरिने ओशोको शक्तिशाली विधि डाइनमिक ध्यान खुब गाह्रो हुन्छ भन्दै त्यसको विधि पनि छोटकरीमा सुनाएका थिए। मलाई ध्यान शिविरमा जान मन लागेको अर्को मुख्य कारण थियो– ओशो तपोवनका संयोजक स्वामी आनन्द अरुण। स्वामी आनन्द अरुणसँग ओशोको संन्यास दीक्षा लिई सुरेन्द्र दाइ केही समय तपोवनमा बसेका थिए। स्वामी अरुणले नै नेपालमा ध्यान केन्द्र खोल्ने, शिविरहरु सञ्चालन गर्ने र दीक्षा दिने कार्य गर्थे। सुरेन्द्र दाइ सुनाउने गर्थे कि संन्यास दीक्षा कार्यक्रमपछि स्वामी अरुणलाई ढोग्दा स्वामीजीले कहिलेकाहीँ टाउको अथवा पिठ्युँमा हातले छोइदिन्छन्। त्यस्तो बेला विद्युतीय करेन्ट शरीरमा प्रवाह हुन्छ। पौराणिक ऋषिमुनीहरुसँग खुब शक्ति हुन्थ्यो रे भन्ने त सुनिरहेको कुरा थियो तर आधुनिक समयमा पनि कसैको स्पर्शमा त्यस्तो शक्ति होला भन्ने विश्वास नभए पनि स्वयं अनुभव गरेको साथीले भनिसकेपछि स्वामी अरुणलाई भेट्ने उत्सुकता धेरै नै थियो। उत्सुकता, अनि जीवनका अनेकौं समस्याको गन्जागोलबीच ध्यान शिविर जाने नै भइयो।

हामी तपोवन पुग्दा करिव रात परिसकेको थियो। वि.सं. २०५३ सालमा तपोवन अहिलेको स्वरूपभन्दा धेरै फरक थियो। सुदीपजीले हाम्रा लागि पहिल्यै कोठा बुक गरिसकेका रहेछन्। चैत महिनामा तपोवनमा पानी परिरहेको थियो र अति जाडो थियो। सानैदेखि रुघा धेरै लाग्ने र नाकबाट सिंगान निस्किरहने मलाई तपोवनको चिसोले समातिहाल्यो। त्यही साँझ ध्यान शिविर शुरु भयो। मैलेचाहिँ ध्यान हलमा गए पनि त्यति राम्ररी ध्यान गर्न सकिन। भोलि बिहान ध्यान कक्षमा मीठो भजन बजिरहेको थियो। बिहान चाँडै उठ्ने बानी नभएको र त्यसमा पनि चिसोले समातेकाले म अलि ढिलो ध्यान कक्षमा पसेँ। डाइनमिक ध्यान चलिरहेको रहेछ। पहिला कहिल्यै नगरेको तर अधकल्चो विधि सुनेको भरमा १०० जना शिविरार्थीको भिडमा मैले के गर्ने पत्तै पाइन। कसैलाई सोध्न पनि लाज लाग्यो। जे मन लाग्यो त्यही गरेर करिब ४५ मिनेट बिताएँ। त्यो शिविरभर राम्ररी ध्यान गरिएन। शिविरको अन्तिम दिन केही मित्रले स्वामी आनन्द अरुणको हातबाट ओशो संन्यास दीक्षा लिए। तर म दीक्षा लिनबाट चुकें त्यो शिविरमा। अन्त्यमा शिविरार्थी सबैजनाले स्वामी आनन्द अरुणलाई ढोग्न थाले। इलेक्ट्रिकल इन्जियिरिङको विद्यार्थी मैले थोरै स्वामी अरुणको हातबाट मतिर बग्न सक्ने आध्यात्मिक ऊर्जाको करेन्टको डर र थोरै अहंकारका कारणले ढोग गर्न झुक्न पनि सकिन।

शिविरको अन्त्यमा ओशो समाधिको शिलन्यास कार्यक्रम थियो। त्यसबेला मैले समाधिको महत्व केही पनि बुझेको थिइन।तर शिविरमा उपस्थितबाहेक थप मानिसको भीडभाड भएकाले शिलान्यास कार्यक्रम रमाइलै भयो। स्वामी अरुणले समाधि निर्माणको शिलान्यास गरे। पछि अरुण स्वामीजीको सान्निध्यमा बसेर समाधि भनेको के रहेछ बुझ्ने सौभाग्य पाइयो। समाधिको विभिन्न अर्थ हुन्छ। आध्यात्मिक साधकले जब ध्यानको अन्तिम अवस्था छुन्छ, उसलाई सम्बोधी अथवा समाधि उपलब्ध भएको भनिन्छ। सम्बोधीमा उपलब्ध भइसकेको व्यक्तिले देहत्याग गरेपछि जब उनकोे शरीरलाई संरक्षित गरेर राखिन्छ, त्यसलाई पनि समाधि भनिन्छ। जीवित अवस्थामा जस्तै सम्बुद्ध व्यक्तिको समाधिमा पनि सघन ऊर्जा उपलब्ध भइरहेको हुन्छ र हजारौं वर्षसम्म पनि संवेदनशील साधकहरुले त्यस स्थानमा आध्यात्मिक तरङ्ग अनुभव गर्न सक्छन्। सम्बुद्ध व्यक्तिको शरीरलाई संरक्षित गरेर राखिने समाधि पनि दुई प्रकारका हुन्छन्। एउटा देह समाधि र अर्को पुष्प समाधि। देह समाधिमा पूरा शरीर नै संरक्षीत गरेर राखिएको हुन्छ। सुफी तथा मुसलमान सन्तहरुको शरीरलाई मजार बनाएर देह समाधि बनाउने चलन छ। पुष्प समाधिमा चाहिँ शरीरलाई जलाएपछि बाँकी रहेकोे अस्तु राखी बनाएको संरचना हुन्छ। भगवान बुद्धको देहावसानपछि धेरै ठाउँमा पुष्प समाधि बनाइएका थिए।

सद्गुरु ओशोले आफ्नो देहत्यागपछि सशरीर नै देह समाधिमा राख्न निर्देश दिएका थिए। उनले आफू बस्ने पुना आश्रमको च्वाङ्गत्सु हलमा आफ्नो रेखदेखमैै आफ्नै समाधि मन्दिर निर्माण गर्न लगाएका पनि थिए, जसमा उनले लेख्न भनेका थिए– ओशो नेभर बर्न नेभर डाइ वन्ली भिजिटेड दिस प्लानेट अर्थ।

तत्सम्बन्धमा ओशोको भनाइ थियो कि सम्बुद्ध व्यक्तिको शरीरबाट आध्यात्मिक ऊर्जा विकिरण भइरहेको हुन्छ। सम्बुद्ध पुरुषहरुको जति धेरै व्यक्तिहरुसँग आध्यात्मिक ऊर्जा सम्बन्ध जोडिएको हुन्छ, त्यो ऊर्जा क्षेत्र त्यति नै बिस्तारित भएको हुन्छ। देहत्यागसँगै बिस्तारैबिस्तारै सम्बुद्ध पुरुषको शरीरमै ऊर्जा क्षेत्र फिर्ता आउँदै जान्छ। जबसम्म त्यो ऊर्जा फिर्ता हुने क्रम चलिरहेको हुन्छ तबसम्म शरीर मरे पनि ऊर्जा जीवित हुन्छ। जति धेरैजनासँग प्रेमको सम्बन्ध हुन्छ ऊर्जा फिर्ता हुन त्यति नै धेरै समय लाग्छ अनि त्यति नै धेरै समयसम्म गुरुको ऊर्जा पनि जीवितै रहन्छ। मेरो शरीरलाई पनि तिमीहरुले नजलाउनू किनभने मेरो शरीरबाट पनि हजारौं वर्षसम्म साधकहरुलाई आध्यात्मिक ऊर्जा उपलब्ध भइरहनेछ।

तर सन् १९९० जनवरी १९ मा ओशोले देहत्याग गरेपश्चात उहाँको निर्देशविपरित जम्मा १० मिनेट जति बुद्धा सभाहलमा राखी हतारहतार बर्निङघाटमा लगी जलाइयो। तत्कालीन समयमा ओशोको शरीर जलेर बचेकोे अस्तुलाई समाधिमा चाहिँ राखियो, सशरीर नभए पनि पुष्प समाधिका रूपमा। तर अहिले त्यही अस्तु पनि पुनाको समाधि मन्दिरबाट हटाएर कहाँ पुर्‍याइयो निश्चित छैन किनभने हाल आएर पुनामा समाधि कहिल्यै पनि नरहेको प्रचार पुना आश्रम व्यवस्थापनले गरिरहेको छ। त्यस झुटको ओशो शिष्यहरुले विरोध गरिरहेका छन् र ओशोको समाधि सबैका लागि खुला हुनुपर्ने मागसहित भारतीय अदालतमा समेत मुद्दा विचाराधीन छ तर भारतको सुस्त न्यायप्रणाली जस्तै त्यो मुद्दा पनि कछुवा गतिमा  हिँडिरहेको छ, कहिल्यै नभेटिने न्यायको खोजीमा।

अब तपोवनतिरै फकर्ौंं। तपोवनमा सन् १९९७ मा समाधिको शिलान्यासपश्चात स्वामी आनन्द अरुणले ठूलो समस्या बेहोर्नुपर्‍यो। पुना आश्रमले स्वामी अरुणसँग ओशोको अस्तु नरहेको र पुनामा मात्र सच्चा समाधि भएको कुराको प्रचार पनि गर्‍यो। १९९० जनवरी १९ मा ओशोले शरीर छोड्दा स्वामीजी नेपालमै थिए। त्यही दिनको सन्ध्यामा ओशोको शरीरलाई ओशोका भाइ विजय तथा स्वामी नरेन्द्रले दागबत्ती दिई जलाउँदा स्वामी अरुण नेपालबाट त्यहाँ पुग्न भ्याएनन्। तर स्वामी अरुण अर्को दिन भने पुना पुगे। ओशोको शरीरलाई दागबत्ती दिनेमध्येका एक स्वामी नरेन्द्र बोधीसत्वले आफूले बचाएर राखेको ओशोको अस्तुमध्ये केही भाग स्वामी अरुणलाई दिए। साथै बर्निङ घाटमा बस्ने एकजना संन्यासीले पनि स्वामी अरुणलाई ओशोको अस्तु दिएका थिए जुन रहस्य हामीले सन् २०१२ जनवरीमा पुनामा सञ्चालित ध्यान शिविरको समयमा तिनै संन्यासीको मुखबाट पनि सुन्यौँ। यसरी जम्मा गरेको अस्तुमध्ये केही भाग तपोवनमा स्थापना गरी स्वामी अरुणले ओशोको पुष्प समाधि निर्माण गरे।

तपोवनको समाधि शिालन्यासका बखत स्वामी अरुणले भनेका शब्द मलाई अहिले याद आयो। उनले भनेका थिए— स्वामी नरेन्द्र बोधीसत्व तथा अन्य साथीबाट प्राप्त ओशोको अस्तु अत्यन्त सुरक्षित राखेको छु। मसँग अझै अस्तु बाँकी छ र भविष्यमा अन्य स्थानमा पनि ओशोको समाधि बनाउने छु। तपोवनमा मलाई ध्यानमा बस्दा प्रसिद्ध बौद्ध साधक नागार्जुनले यहीँ ंबुद्धत्व प्राप्त गरेका र अनेकौँ बौद्ध साधकको समाधिसमेत यही स्थानमै रहेको भिजन भएपछि यहीँ ंनै ओशोको समाधि बनाउन उपयुक्त लाग्यो। ओशोकै इच्छाले यो समाधि स्थापना गर्न लागिएको हो।

शिलान्यास भएको केही महिनामै समाधि निर्माण पूरा पनि भयो। अहिले ओशो तपोवनको समाधि सद्गुरुको ऊर्जा तथा साधकहरुको साधनाले जीवन्त ऊर्जा क्षेत्रका रूपमा अवस्थित छ। जसरी सूर्य उदाएपश्चात उसको प्रकाश सबैका लागि बराबर उपलब्ध हुन्छ, त्यसैगरी सद्गुरु ओशोको ऊर्जा ओशो शिष्यहरुका लागिमात्रै होइन कि अपितु सत्यका हरकोही साधकका लागि तपोवनको समाधिमा उपलब्ध छ।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad