coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आतंकवादी गतिविधि छैन, खतराचाहिँ छ : नेपाल

काठमाडौं- नेपालले एसियामा क्रियाशील इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसएस) का सदस्यबाट कुनै पनि समय खतरा हुन सक्ने जानकारी विश्व समुदायलाई गराएको छ। काठमाडौंमा जारी अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनमा नेपाल प्रहरीको विशेष ब्युरोले एसियामा छरिएका आईएसआईएसका १४ हजारभन्दा बढी सदस्यबाट नेपालस्थित कूटनीतिक नियोगमा खतरा हुन सक्ने जानकारी गराएको हो। कूटनीतिक नियोगका कार्यालय र अधिकारीको सुरक्षामा नेपाल गम्भीर रहे पनि आतंकवादी संगठनको प्रविधियुक्त आक्रमणबाट लड्न साधनस्रोतको अभाव रहने भन्दै त्यसका लागि सहकार्य गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।

ब्युरोका तर्फबाट डिआईजी बमबहादुर भण्डारीले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय आतंकवादविरुद्धका सूचना र कारबाही तीव्र पारेको बताए। आतंकवादी संगठनका सदस्यले नेपाललाई सुरक्षित स्थलका रूपमा प्रयोग गर्न खोजे पनि उनीहरूका योजना विफल बनाएको ब्युरोले स्पष्ट पारेको थियो।

सम्मेलनमा आतंकवाद नियन्त्रणविरुद्ध सुदृढीकरणअन्तर्गत नेपालले आफ्नो धारणा, अनुभव र कार्ययोजना अघि सारेको हो। यस्तै नेपालले अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध लड्न आफू सक्षम रहेको बताएको छ। यसका लागि प्राविधिक सहयोग र उचित तालिम आवश्यक रहेको नेपाली पक्षको माग छ।

सम्मेलनमा वन्यजन्तुविरुद्धको अपराध नियन्त्रण र नेपालले गरेका कार्य प्रगतिका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डिआइजी नवराज सिलवालले जानकारी गराएका थिए।

नेपाल लगातार एकसिङे गंैडाका लागि शून्य सिकार वर्ष बनाउन सफल रहेको भन्दै सिलवालले बाघको छाला र हड्डी, हात्तीका दारा र गंैडाको सिङ, हाब्रेको छालाका लागि ती जीवजन्तुको चोरीसिकार नियन्त्रण गर्न आग्रह गरेको छ। डिआइजी सिलवालले वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न करिब पाँच सय व्यक्ति कानुनको कठघरामा पुगेको जानकारी दिएका थिए।

सम्मेलनमा एसिया क्षेत्रमा आतंकवाद नियन्त्रणविरुद्ध सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको भूमिका, साइबर अपराधको विद्यमान अवस्था तथा चुनौती र त्यस्ता अपराध नियन्त्रणमा दक्ष जनशक्ति उत्पादनलगायतका विषयमा छलफल भएको प्रहरी प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए।

सम्मेलनमा संगठित अपराधको सञ्जालको पहिचान तथा नियन्त्रणका उपाय र आर्थिक अपराधबारे पनि छलफल भएको थियो।

प्रकाशित: ७ माघ २०७३ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App