८ वैशाख २०८१ शनिबार
राजनीति

'हैसियत' नमिल्दा थापा-गच्छदार बाहिरै

काठमाडौं- राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई  सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्।

प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए। उनले दुईतीन चरणमा थापा र  गच्छदारसँग कुराकानी पनि गरेका थिए। स्रोतका अनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी  गरेका थिए। केही दिनअघि थापा देउवालाई भेट्न उनको निवास बुढानिलकन्ठ पुगेका थिए।

स्रोतका अनुसार गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण  भनेअनुसार मयार्दाक्रम र मन्त्रालय नपाउनु हो। गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपर्ने दाबी गरेका थिए। त्यस्तै उनीहरूले मन्त्रालय पनि आफूले भनेको हुनुपर्ने सर्त राखेका थिए।  प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारले भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एकसहित उपप्रधानमन्त्री पाउनुपर्ने दाबी गरेका थिए। त्यसैगरी थापाले परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका थिए।

प्रधानमन्त्री वर्तमान सञ्चारमन्त्रीलाई फिर्ता बोलाई उनको ठाउँमा गच्छदारलाई लैजान तयार छन् तर कांग्रेस सभापति देउवा भने कुनै पनि अवस्थामा वर्तमान परारष्ट्रमन्त्री प्रकाशशरण महतलाई फिर्ता बोलाउने पक्षमा छैनन् ।

मर्यादाक्रममा प्रधानमन्त्री पछि रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पनि मयार्दाक्रमबाट तल झर्न तयार छैनन्। कांग्रेस सभापति देउवा पनि यसमा सहमत छैनन्।

 यसअघि उपप्रधानमन्त्री भइसकेका थापा  र गच्छदार दुवैले मर्यादाक्रममा आफू प्रधानमन्त्री पछिको हुनुपर्ने अडान नत्याग्दा समस्यमा भएको हो।

प्रधानमन्त्री तथा कांग्रेस सभपाति देउवासँगको कुराकानीमा थापा र गच्छदार दुवैले सरकारमा सहभागी हुन इच्छुक रहेको बताएका थिए। राप्रपा सरकारमै रहेकाले थापालाई उपप्रधानमन्त्रीमा जान पार्टीभित्रबाट समस्या छैन। तर गच्छदारको पार्टीमा भने बहुमत केन्द्रीय सदस्य सरकारमा जानु हुँदैन भन्ने पक्षमा छन्। तर पनि गच्छदार मयार्दाक्रमको  कुरा मिलेमा सरकारमा जाने सोचमा छन्। 'अहिले हामी सरकारमा जाने पक्षमा छैनौं', फोरम लोकतान्त्रिक वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले भने, 'जबसम्म संविधान संशोधन हँुदैन, त्यसबेलासम्म हामी सरकारमा जान सक्दैनौं।'

फोरम लोकतान्त्रिकका अर्का नेता रामजनम चौधरीले पनि पार्टीले अहिले सरकारमा जाने सोच नबनाएको बताए। 'हामीले सरकारमा जाने कुनै सोच बनाएका छैनौं', चौधरीले भने, 'हाम्रो मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुनै योजना छैन।'

राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले यतिखेर पार्टी अध्यक्षको ध्यान सरकारमा जाने नभएको बताए। 'हामी संगठन निर्माणमा छौं। सरकारमा जानेतर्फ पार्टीले ध्यान  दिएको छैन', श्रेष्ठले भने।

सरकारमा जाने बारेमा फोरम लोकतान्त्रिकभित्र विवाद छ। सुरुमा  प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्री दिन तयार थिएनन्। गच्छदार पनि उपप्रधानमन्त्री नपाएसम्म सरकारमा जाने पक्षमा थिएनन।  तर यतिबेला प्रधानमन्त्री गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार छन् तर उनको पार्टीको  बहुमत केन्द्रीय सदस्य सरकारमा जानु हँुदैन भन्ने पक्षमा छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी अझै पनि गच्छदार र थापालाई सरकारमा ल्याउन प्रयासरत छन। प्रधानमन्त्री गच्छदार र थापालााई सरकारमा ल्याएर संविधान संशोधन विधेयक पास गराउने रणनीतिमा छन्।

प्रकाशित: ७ माघ २०७३ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App