coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशोधन परिमार्जनमा साझा धारणा

काठमाडौं- नयाँ शक्ति पार्टी र संघीय गठबन्धनले संविधान संशोधन विधेयक परिमार्जनमा साझा धारणा बनाउने भएका छन्। नयाँ शक्ति र संघीय गठबन्धनको बिहीबार राजधानीमा बसेको संयुक्त बैठकमा यस्तो सहमति भएको हो। बैठकमा परिमार्जनसहित विधेयक पास गर्न दबाब सिर्जना गर्ने सहमति पनि भएको छ।

थप बैठक र छलफलबाट परिमार्जनका विषय टुंग्याइने छ। यसका लागि संयुक्त कार्यदल बनाइनेछ। शुक्रबार बिहानसम्म कार्यदल बन्नेछ।

बिहीबारको बैठकले संशोधन विधेयकलाई फलदायी बनाउन परिमार्जन गर्नुपर्ने ठहर गरेको छ। बैठकले बिनापरिमार्जन विधेयक पास गरिए त्यसले मुलुकलाई निकास नदिने निष्कर्ष पनि निकालेको छ।

स्रोतका अनुसार, बैठकको प्रारम्भमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तत्कालका लागि संशोधन विधेयक परिमार्जनमा  साझा धारणा बनाउन गठबन्धनका नेतासँग प्रस्ताव राखेका थिए। प्रस्तावमा गठबन्धनका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, सरत्सिहं भण्डारीलगायतले सहमति जनाएका थिए ।

'संशोधन विधेयकमा परिमार्जन गर्न साझा धारणा बनाउने सहमति गरेका छौं', बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, 'तत्कालका लागि संशोधन विधेयकमा साझा धारणा बनाउने र दीर्घकालीन रुपमा कार्यगत एकता गर्ने सहमति भएको छ।'

नयाँ शक्ति र गठबन्धनको संयुक्त कार्यदलले परिमार्जनका बुँदासहित प्रतिवेदन तयार पारेपछि दुवै पक्षका शीर्ष नेताले टुंगो लगाउने सहमति भएको छ। साझा धारणा बनाएपछि सोही आधारमा सरकारसँग छलफल गर्ने मोर्चाका नेताले बताए। 'संशोधन विधेयकमा परिमार्जन गर्नेबारे रणनीतिक छलफल भएको छ', सद्भवावना पार्टीका महासचिव मनीष सुमनले भने, 'थप छलफल र बैठकबाट निर्णयमा पुगिने छ।'

बैठकमा नयाँ शक्तिका संयोजक भट्टराई, सहसंयोजक राजेन्द्र श्रेष्ठ, संघीय गठबन्धनका यादव, ठाकुर, भण्डारी, सुमन, झालगायत  उपस्थित थिए।

प्रकाशित: ७ माघ २०७३ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App