coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

एउटै टोलमा यसरी फैलियो कोरोना संक्रमण

कोरोना संक्रमित फेला परेपछि नेपालगन्ज–८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा पुगेका सुरक्षाकर्मी । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय बाँके

नेपालगन्ज- विपन्न परिवारका ६० वर्षिय संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोलका स्थायी बासिन्दा हुन् । तर, उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउथ्ये । त्यहाँ उनले बिहान बेलुका नमाज पढ्ने र बालबालिकालाई उर्दु शिक्षा दिने । जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी स्थानीय बालबालिकालाई घरमै पुगेर ट्युसन पढाउँथ्ये ।

नेपालगन्जका पूर्वउपमेयर एवम् जोलहनपुर्वाका स्थानीय समसुद्धिन सिद्धिकीका अनुसार मध्यम र निम्न वर्गिय परिवारको बसोबास रहेको उक्त ठाउँमा मदरसाका ती शिक्षकले चार परिवार बालबालिकालाई ट्युसन पढाउने गरेका थिए । चैतको पहिलो साता आफन्तलाई भेट्न उनी भारतको बहराइच गए । बहराइचबाट उनी गत चैत १० गते फर्किदा नेपाल सरकारले नेपाल–भारत सीमा नाका बन्द गराइसकेको थियो । तरपनि उक्त दिन नाकाबाट ९ सय ८८ जनालाई सिमा प्रवेश गराइयो । त्यसमध्ये ५ सय ४० जनालाई नेपालगन्ज उपमहानगरपालिकाको नगर बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसमाको क्वारेन्टाइनमा ल्याइयो । प्रशासन र उपमहानगरपालिकाले उनीहरुको ब्यवस्थापन गर्दा गर्दै क्वारेन्टाइन छाडे ।

सोही समुहमा थिए, नेपालगन्ज–७ निवासी ६० बर्षिय संक्रमित ब्यक्ति । ‘संक्रमित ती ब्यक्ति सोही दिन घरमा आएका थिए, त्यसपछि नियमित रुपमा जोलहनपुर्वा टोलमा पुगेर बच्चा बच्चीलाई पढाउन थाले,’ पूर्वउपमेयर सिद्धिकी भन्छन् ‘त्यतिबेला स्वास्थ्यमा कुनै लक्षण नभएपछि कसैलाई पनि मतलब भएन, तर लक्षण बिना नै एकबाट अर्काेमा संक्रमण फैलिरहेको रहेछ ।’ मुस्लिम आयोगको पहलमा नेपालगन्जका धार्मिक संस्थामा बस्ने ब्यक्तिको स्वाब परीक्षण गर्दा ति ब्यक्तिमा शुक्रबार संक्रमण पुष्टी भयो ।

उनको घर र मदरसा रहेको जोलहनपुर्वा टोलमा कन्ट्रयाक्ट ट्रेसिङ गरी  ९० जनाको स्वाब संकलन गरियो । त्यसमध्ये ६० वटाको मात्र रिपोर्ट आउँदा आइतबार बेलुकीसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमितहरु ७ वर्षका बालकदेखि ६० वर्षसम्मका छन् ।

कुनै लक्षण बिना नै कोरोना भाइरस पहिलो ब्यक्तिबाट दोस्रो हुदै तेस्रो ब्यक्तिसम्म फैलिएको स्थानीय बासिन्दा समेत रहेका पूर्वउपमेयर सिद्धिकी बताउँछन् । स्थानीय अन्सारियन मस्जिद ब्यवस्थापन समितिका अध्यक्ष रहेका सिद्धिकी भन्छन्, ‘कुनै लक्षण नै नदेखिएर दोस्रो हुदै तेस्रो ब्यक्तिसम्म फैलिनु आश्चर्यको कुरो छ ।’ सिद्धिकीका अनुसार मदरसा शिक्षकले जोलहनपुर्वाका चार वटा घरका बालबालिकालाई दैनिक ट्युसन पढाउँथ्ये ।

‘पहिलो संक्रमित ब्यक्तिबाट बालबालिकामा सरेको र त्यसपछि बालबालिकाले आफ्ना बुवा आमालाई सारेको हुन सक्छ,’ उनले थपे । अहिलेसम्म संक्रमण पुष्टी भएका ब्यक्तिले अन्य ब्यक्तिलाई पनि सम्पर्क गरेको हुन सक्ने सिद्धिकीको आशंका छ । मध्यम र निम्न परिवारको मिश्रित बसोबास रहेको जोलहनपुर्वा टोलमा करिव साढे ४ सय जनसंख्या रहेको स्थानीय बासिन्दाको अनुमान छ ।  

जोलहनपुर्वा टोलमा फैलिएको संक्रमणलाई स्वास्थ्यकर्मीले ‘भित्र–भित्रै सल्किएको भुसको आगो’ को संज्ञा दिएका छन् । पहिलो पटक एक जनामा देखिएको संक्रमण र त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा एकै दिन १५ जनामा फेला पर्नुले नराम्रो संकेत गरेको स्वास्थ्यकर्मी बताउँछन् । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. राजन पाण्डे नेपालगन्जमा देखिएको कोरोना संक्रमणको स्थिती पत्ता लगाउन जनस्वास्थ्यको सिद्धान्तबाट प्रमाणित गर्नुपर्ने बताउँछन् । ‘यो अहिले अनुसन्धानकै चरणमा छ, कुनैपनि लक्षण नदेखिएर एकैपटक धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिनु राम्रो संकेत होइन,’ उनले भने ‘यो सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पत्ता लागेको हो, यो कतै ब्यक्तिबाट समुदायमा फैलिएको हो कि भन्ने शंका लागिरहेको छ ।’

एउटै टोलबाट एकैपटक धेरै ब्यक्तिमा कोरोना संक्रमण कसरी फैलियो ? भन्नेबारे स्वास्थ्य सम्बद्ध अधिकारी अन्यौलमा छन् । यद्यपी ६० वर्षिय पुरुषबाटै संक्रमण फैलिएको हुन सक्ने धेरैको अनुमान छ । ‘एउटै टोलका यति धेरै मानिसमा कसबाट र कसरी संक्रमण फैलियो, यसको मुख्य कारण पत्ता लगाउनै सकिएको छैन, हामी पनि अन्यौलमा छौं,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह भन्छन् ‘अहिलेसम्मको आशंका अनुसार ६० वर्षकै ब्यक्तिले अरु ब्यक्तिसँग सम्पर्क बढाउँदा फैलिएको हुन सक्छ ।’ यहाँ फैलिएको कोरोना भाइरसको महामारीले भयावह रुप लिन सक्ने भन्दै समयमै संघ, प्रदेश र स्थानीय सरकारको ध्यान केन्द्रित गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

टोलभरी संक्रमण फैलिएको आशंकामा वडा नम्बर ७ र ८ सहित नेपालगन्जका विभिन्न वडा तथा टोललाई स्थानीय प्रशासनले शिल गरेको  जनाएको छ । डोरीको घेरा हालेर सुरक्षाकर्मी परिचालन गरी त्यो क्षेत्रमा आवत–जावत गर्न रोक लगाइएको छ । जिल्ला प्रहरी प्रमुख(एसपी) बीरबहादुर ओलीले नेपालगन्जका चारैतिरका नाकामा अत्यावश्यक काम बाहेक कसैलाई पनि आवत जावत गर्न नदिइएको बताए ।

अहिलेसम्म पत्ता लागेका सबै संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको जानकारी दिए । नेपालगन्जमा पहिलो पटक फेला परेका ६० वर्षिय संक्रमित भारतबाट आएको खुलेपनि क्याम्पसको क्वारेन्टाइन छाडेको भन्ने एकिन नभएको बताए । ‘अहिले नै सबै कुराको पुष्टी भएको छैन, मान्छे आइसोलेसनमा बसेको छ, हामी सबै संक्रमितको प्रोफाइल तयार पार्दैछौं,’ उनले भने ।  


 

 

प्रकाशित: २२ वैशाख २०७७ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App