६ वैशाख २०८१ बिहीबार
समाज

‘हरैया जंगलमा दुर्इ युवाकाे हत्या गर्न अन्तर्राष्ट्रिय आपराधिक समूह संलग्न’

बारा– बाराको करैयाको जंगलमा तीन हप्ताअघि हत्या गरिएका दुई भारतीय युवाहरु अन्तर्राष्ट्रिय अपराधिक समुहका सदस्यको सम्पर्कमा रहेको खुलेको छ। भारतीय नागरिकको हत्या अभियोगमा बाराबाट पक्राउ परेका चार जना अन्तर्राष्ट्रिय अपराधिक समूहको सम्पर्कमा रहेको तथा रकमको लेनदेनका क्रममा दुई जनाको हत्या भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन्। 

बारा प्रहरीले ब्रृजकिशोर गिरी, मोजाहिर अंसारी, आषिश पटेल, उमेश पटेललाई भारतीय युवाहरुको हत्या अभियोगमा पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

भारत बिहारको पूर्वी चम्पारण जिल्ला लक्ष्मीपुर पोखरियाका दीपक राम र अरुणकुमार रामलाई भारतमै अपराधिक काममा लगाएको र अपराधिक समुहका सदस्यहरुले नै पुस १३ गते करैयाको जंगलमा ल्याएर दुईको हत्या गरिएको प्रहरीले बताएको छ।

जंगलमा मृतकहरुको शव फेला परेपछि तिनीहरुको साथबाट बरामत भएको कागजपत्रको अधारमा प्रहरीले अनुसन्धान गर्दा दुवै जना भारतीय रहेको र तिनीहरुको अन्तराष्ट्रिय अपराधिक समुहसँगसमेत संलग्नता रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले बताए।

‘भारतीय दुई युवाको शव बाराको जंगलमा फेला परेपछि प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले घटना संवेदनशील रहेको भन्दै यसलाई मिहिन रुपमा अनुसन्धान गर्न लगाएका थिए,’ उपरीक्षक रेग्मीले भने, ‘यस अनुसन्धानबाट यस क्षेत्रमा पनि दुबईमा रहेका अन्तरष्ट्रिय अपराधिक समुहले संजाल फैलाएको थाहा हुन आएको छ।’

भारतीयहरुको हत्या अभियोगमा फरार रहेका महगढीमाई नगरपालिकाका सिमरा तेगछीयाका वृजकिशोर गिरीलाई पर्सा बिजवनीयाबाट प्रहरीले पक्राउ गर्ने क्रममा गोली चलाउँदा पक्राउ परेका मध्येका एक वृजकिशोर गिरीको खुट्टामा गोली लागि घाइते भएका छन्।

गिरीसँग कलैया नगरपालिका रंगपुरका मोजाहिर अंसारी, कलैया नगरापालिका भवानीपुर टोलका आषिश पटेल, उमेश पटेललगायतकाहरु दुबईमा रहेको अन्तरार्ष्ट्रिय अपराधिक समूहसँग रकम मगाएर भारतमा अपराधिक घटनाहरु गराउन चार महिनादेखि योजना बनाइरहेको अनुसन्धानबाट खुल्न आएका रेग्मीले बताए।

हत्या गरिएका भारतीय युवाहरुलाई रक्सौल–घोडासहन रेल्वेको ट्रयाकमा बिस्फोट गराउनको लागि  पक्राउ परेकाहरुले काममा लगाएको घटनाको अनुसन्धान गरी रहेका प्रहरीका अधिकारीहरुले बताएका छन्।

‘तीन लाख भारतीय रुपैयाँ पाउने लोभमा ती युवाहरुले चार महिना सीमावर्ती भारतको रक्सौल–घोडासहन रेल्वेको ट्रयाकमा बिस्फोट गराउन बिस्फोटक पदार्थ राखेका थिए,’ रेग्मीले भने, ‘बिस्फोटक पदार्थ राखिए पनि भारतीय सुरक्षाकर्मीको कारण रेल्वे ट्रयाक बिस्फोट हुनबाट बचेको थियो।’

भारतीय युवाहरुले गिरीका समुहसँग काम गरे बापत तीन लाख भारतीय रुपैयाँ माग्न थालेपछि पक्राउ परेकाहरु मध्ये गिरी, अंसारीलगायतका अन्य फरार रहेका सदस्यहरुले पैसा दिने लोभमा बाराको करैया जंगलमा लगेर रुखमा बाँधी धारिलो हतियार प्रयोग गरी दुवै जनाको हत्या गरेका रेग्मीले बताए।

प्रकाशित: ६ माघ २०७३ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App