coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राप्तीमा पानीको सतह बढ्यो, प्रभावित क्षेत्रमा उच्च सर्तकता

नेपालगन्ज-पहाडी क्षेत्रमा परेको अविरल बर्षाले राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेको छ। राप्तीको बाढीबाट हुने सम्भावित जनधनको क्षति कम गर्न प्रहरी, प्रशासनले आसपासका गाउँमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ। त्यसक्षेत्रका स्थानीय बासिन्दालाई प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। कुसुमस्थित बाढी मापन केन्द्रको बिहान ११ बजेको रेकर्ड अनुसार नदीको सतह ५ मिटर २ सेन्टीमिटर सम्म पुगेको छ।

त्यहाँबाट बाढी प्रभावित होलिया, फत्तेपुर, मटेहिया, गंगापुर, बेतहनी, बनकट्टी, कम्दी लगायत गाविस सम्म आइपुग्न करिव ५ घण्टा समय लाग्ने भएकाले त्यस अगावै स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको स्थानीय प्रशासनले जनाएको छ।

कुसुमस्थित बाढी मापक भद्रबहादुर थापाले पानीको सतह खतराको चिन्हमा पुग्ने वित्तिकै जिल्लास्थित प्रहरी, प्रशासन र सम्वन्धित ठाउँमा खबर गरेको बताए। ‘बिहान ११ बजेतिर आएको बाढीले प्रभावित क्षेत्रमा क्षति पुर्याउन सक्छ, सावधानी अपनाएमा क्षति नहोला,’ उनले भने।

पछिल्लो समयमा कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ४ मिटर ७० सेन्टीमिटर पुग्ने वित्तिकै प्रभावित क्षेत्रका गाउँमा पानी पस्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए। ‘कुसुममा ४ मिटर ७० सेन्टीमिटर पानीको सतह देखिएपछि हामीले सम्वन्धित गाविसका सचिव, विपत व्यवस्थापन टोली र प्रहरीलाई निर्देशन दियौं, ठाउँ–ठाउँमा साईरन बजाएर स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान भनिरहेका छौं,’ पन्थले भने।

प्रभावित क्षेत्रमा बाढी आउन करिव ५ घण्टा समय लाग्ने भएकाले त्यस अगाडी घर खाली गराउने काम भइरहेको उनले बताए। ‘केहीदिन अघि ४ मिटर ७० सेन्टीमिटरको बाढी आउँदा होलिया र फत्तेपुरका घरमा पानी पसेको पाइयो, त्यसैले अब ४ मिटर ७० सेन्टीमिटर पानीको सतह उक्लिने वित्तिकै स्थानीयलाई अलर्ट गराउनुपर्ने अवस्था छ,’ पन्थले सुनाए। यसअघि वर्षमा नदीको सतह ५ मिटर ४० सेन्टीमिटरलाई आधार मानिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लैजान राप्ती नदी आसपासका सबै प्रहरी इकाइलाई निर्देशन दिइसकेको बताए। ‘बाढी आएको सुचना प्राप्त हुनासाथ सबै ईकाईलाई निर्देशन दिएका छौं,’ उनले भने । राप्ती अञ्चलको प्युठान र रोल्पामा बर्षा हुदाँ नदीमा पानीको सतह बढ्छ । भारतले अन्र्तराष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले राप्ती नदीको प्राकृतिक निकास थुन्दा वर्षेनी बाँकेमा डुबान, कटान र पटान समस्या बल्झिने गरेको छ।

 

 

प्रकाशित: २१ असार २०७३ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App